निर्माण व्यवसायीहरूले आफूहरूको बाँकी बक्यौता रकम तत्काल भुक्तानी नगरे सरकारविरूद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष सकुन्तलाल हिराचन लगायतका व्यवसायीहरूले निर्माण व्यवसायीहरूको सबै बक्यौता रकम तिहारअघि पनि भुक्तानी नगरे सरकारविरूद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका हुन्।
महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको सातौं स्मृति दिवसको अवसरमा पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सिंहले तिहारअगावै आफूहरूको सबै बक्यौता रकमहरूको भुक्तानीसहित ती साढे ६ अर्बका आयोजनाहरूलाई अघि बढाउने काम गर्न सरकारलाई दबाब दिए।
उनले निर्माण व्यवसायीहरू संकटमा परेको कारण मुलुकको अर्थतन्त्र संकटमा परेको उल्लेख गर्दै ती समस्या समाधान गरेर सरकारले मुलुकको अर्थतन्त्रलाई सहज ढंगले चलायमान बनाउने काम गर्नुपर्ने बताए।
उनले भने, एउटा जटिल परिस्थितिमा निर्माण उद्योग छ। र, निर्माण उद्योगमा भएको जटिल परिस्थितिको कारणले गर्दा तमाम निर्माण व्यवसायीहरू संकटमा छौं, सकसमा छौं । यसको समाधानका लागि राज्यले अभिभावकीय भूमिका निर्वाह गरेर निकाल्नु पर्छ। र, निर्माण व्यवसायीहरूलाई संकटमा पार्दा मुलुकको अर्थ, चाँडोभन्दा चाँडो यो कुराको निकास सरकारले दिनुपर्छ भन्ने कुरामा अर्थमन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ। र, हामी आशा गर्छौं–तिहारअगावै हाम्रो बक्यौता रकमहरूको भुक्तानीसहित ती साढे ६ अर्बका आयोजनाहरूलाई संकुचनमा गरेर सरकारले आफ्नो क्षमतामा ल्याउने छ। त्यसका लागि महासंघले आफ्नो तर्फबाट सरकारलाई खबरदारी गरिरहेको छ।’
महासंघका पूर्वअध्यक्ष सकुन्तलाल हिराचनले पनि तिहार अगाडि आफूहरूको सबै बक्यौता रकम भुक्तानी नभए सरकारविरूद्ध कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए।
उनले निर्माण व्यवसायीहरूको समस्या समाधान गरेर अघि बढे त्यसले सरकारलाई चार गुणा बढी फाइदा दिने दाबी समेत गरे।
पूर्वअध्यक्ष हिराचनले भने, ‘अब यो तिहारभन्दा अगाडि यदि हाम्रो भुक्तानी भएन भने हामीले कडाभन्दा कडा कदम नचाली सरकारले भुक्तानी दिन्छ जस्तो लाग्दैन। सरकारले हामीलाई भुक्तानी गरेको खण्डमा त्योभन्दा ३ गुणा, ४ गुणा बढी फाइदा सरकारलाई नै हुन्छ। त्यो कुरा सरकारले बुझेको छैन। निर्माण क्षेत्र चलायमान हुनु भनेको सारा संसार चलायमान हुनु हो भन्ने कुरा उहाँहरूलाई थाहा छैन।’ -न्यूज एजेन्सी नेपाल