नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले विद्युत महसुल विवादमा उद्याेगीसँगको संवादबाट मध्यमार्गी प्रस्ताव लगिएको बताएका छन्। 
डेडिकेटेड ट्रंकलाइ प्रिमियम महसुल विवादका विषयमा राखिएको नयाँ प्रस्तावका विषयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघमा गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। 
‘आइतबार र सोमबार प्रधानमन्त्री सहितको संवादबाट अहिले नयाँ प्रस्ताव लगिएको हो। सम्बन्धित उद्योगीसँग मागेको प्रतिक्रियाको आधारमा नै यो प्रस्ताव लगिएको हो,’ ढकालले भने। 
ढकालले प्रधानमन्त्री सहितको संवादबाट २८ किस्ता बराबरको रकमबाट आउने १ किस्ताको रकमलाई धरौटी राख्ने र कानुनी उपचारमा बाटो खोल्ने नयाँ प्रस्ताव अघि सारिएको जानकारी दिए। 
अहिले १४/१५ दिन उद्योगमा लाइनकाट्दा अर्थतन्त्रमा नै नकारात्मक असर परेको उनले बताए। महासंघले यो समस्या तत्काल समाधान गरेर उद्योगमा लाइन जोड्न निरन्तर संवाद गरिहेको छ। 
‘म्यान्डेट लिएर नै प्रस्ताव लगिएको हो। यो एजेण्डा सबैलाई सहमतिमा ल्याउनको लागि लामो संवाद भएको हो,’ उनले भने।