नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्र ढकालले हालैको प्रदर्शनका क्रममा निजी सम्पत्तिमाथि भएको आक्रमणले ठूलो क्षति पुगे पनि उद्योगी व्यवसायीहरूले आफ्नो मनोबल कमजोर पार्न नहुने बताएका छन्।
उनले आफ्नो लगानीमा रहेका चन्द्रागिरि र मौलाकाली केबलकार लगायतका व्यवसायमा समेत ठूलो क्षति पुगेको उल्लेख गर्दै यसले मन दुखाएको भए पनि निजी क्षेत्रको नेतृत्व गर्ने जिम्मेवारी भएकाले सबैलाई हौसला दिनुपर्ने अवस्था रहेको बताए।
ढकालले कुनै ठूलो पुँजीबिना नै शून्यबाट आफ्नो व्यावसायिक यात्रा सुरू गरेको स्मरण गरे।
उनले भनेका छन्, 'कुनै बिउ पुँजी नै थिएन मसँग। तर सपना थियो र त्यसलाई पूरा गर्ने हुटहुटी थियो।'
उनले इमानदारिता, निरन्तरता र मेहनतको जगमा आफूहरूले व्यावसायिक गोरेटो बनाएको र त्यो आज फराकिलो राजमार्गका रूपमा रहेको बताए।
आफ्नो व्यवसायले २० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको र लाखौँलाई अप्रत्यक्ष रूपमा जोडेको उनको भनाइ छ।
उनले व्यवसायमा सफल हुन राज्यको प्राथमिकता, आमजनताको आवश्यकता र दीर्घकालीन सम्भावना हेर्नुपर्नेमा जोड दिए।
उनले भने, 'व्यवसायबाट मैले मात्र आर्जन गरेर मुलुक समृद्ध हुँदैन।'
यसै भावनाबाट प्रेरित भएर आफूहरूले हरेक आयोजनामा स्थानीय र सर्वसाधारणको अपनत्व होस् भन्ने उद्देश्यले सेयरमार्फत् स्थानीय साझेदारिताको मोडल अपनाएको उनको भनाइ छ।
हालै भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा देशैभरि धेरै उद्योग, व्यवसाय र निजी सम्पत्तिमा क्षति पुगेको ढकालले बताए।
उनको समूहको लगानीमा रहेका व्यवसायहरूमा पनि तोडफोड र आगजनी हुँदा अर्बौंको क्षति भएको छ। यस्तो क्षतिले मन भारी भएको उनको भनाइ छ।
उनले भनेका छन्, 'अर्बौं लगानी भएका आफ्नै आयोजनामा अनपेक्षित क्षति भइरहँदा गहभरी आँसु पारेर टोलाइरहन मन लागेर पनि मलाई त्यसो गर्ने छुट छैन।'
उनले आफू निराश हुँदा २० हजारभन्दा बढी कर्मचारीको आत्मबलमा ठेस पुग्ने र अरू व्यवसायीलाई समेत नकारात्मक सन्देश जाने डरले क्षतिग्रस्त आयोजनाका फोटो र भिडिओ सार्वजनिक नगर्न कर्मचारीहरूलाई आग्रह गरेको पनि उल्लेख गरे।
ढकालले विगतका भूकम्प, नाकाबन्दी र कोभिड महामारी जस्ता कठिन समयमा पनि आफूले उद्योगी व्यवसायीलाई हौसला दिएको स्मरण गरे।
'अहिले पनि अब खरानी टक्टकाएरै उठ्नुपर्नेछ, हाम्रा मन र आत्मबललाई दरो बनाउनुपर्ने छ र उठ्नैपर्ने छ,' उनले भने।
उनले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन भएको र यसले ८१% भन्दा बढी अर्थतन्त्रमा योगदान दिने र ८६% भन्दा बढी रोजगारी सिर्जना गर्ने तथ्यलाई नयाँ पुस्तालाई बुझाउनुपर्ने आवश्यकतामा जोड दिए।