दसैँको लागि बिहीबारबाट खुल्ने भनिएको लामो दुरीको अग्रिम बस टिकट नखुल्ने भएको छ। यातायात व्यवस्था विभागले भदौ १६ गते ट्राफिक प्रहरी, पत्रकार र सरोकारवाला निकायहरुसँग गरेको प्रतिबद्धता कार्यान्वयन नभएका कारण अग्रिम बस टिकट खोल्न नसकिएको यातायात व्यवसायीहरुले बताएका छन्।
राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारी पक्षबाट कुनै पनि प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै अग्रिम बस टिकट खोल्न नसकिएको बताए।
‘हामीले नचाहिँदो माग गरेका छैनौँ, यात्रुको सुरक्षाको लागि सडकको मर्मत, पहिरो जाने ठाउँमा हेभी इक्युप्मेन्टको व्यवस्था र यात्रुहरुको सामान राख्नको लागि क्यारिङ हाल्न पाउनुपर्ने व्यवस्था खोजेका हौैँ, तर विभागले केही पनि प्रतिकृया दिएको छैन’ उनले भने।
क्यारिङ नराखिकन सर्वसाधारणको सामान लैजान नसकिने बताउँदै उनले सडकको जिर्णोद्धार समेत नगरिएकाले असुरक्षा देखिएको उल्लेख गरे।
‘सुरक्षाको प्रत्याभुति कसले गर्ने ? पहिरो जाने ठाउँमा हेभी इक्युप्मेन्ट राखिएन र पहिरो गएमा बीच बाटोमै जनतालाई कति घण्टा जाममा राख्ने ?’ सिटौलाले प्रतिप्रश्न गरे।
दसैँमा भारत र अन्य देशहरुबाट समेत लाखौँ नेपाल भित्रिने भएकाले तिनीहरुको सामान सुरक्षित रुपमा लैजाने वातावरण सरकारले नबनाएको उनको आरोप छ।
‘हामी सर्वसाधारणलाई घर पठाउन प्रतिबद्ध छौँ, यसमा दुईमत छैन तर यसको लागि विभागले अनुकुल वातावरण बनाइदिएको छैन’ उनले भने।
व्यवसायीहरुले टिकट नखुलाउने चेतावनी दिइरहँदा यातायात व्यवस्था विभागले भने १६ गतेको सम्झौता अनुसार टिकट खुल्ने दावी गरेको छ।
विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भोलिबाट जुनसुकै हालतमा पनि टिकट खुल्ने दावी गरे। ‘कतिपय यातायात कम्पनीहरुले टिकट खोली पनि सकेका छन् त्यसैले कुनैपनि यात्रुलाई आवागमनमा असुविधा हुँदैन’ पाण्डेले भने।