चितवन स्वदेशी, विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हो। चितवनका वन र वन्यजन्तुहरू पर्यटकका लागि अभिरूचीका विषय हुन्।
पर्यटकलाई आकर्षण गर्न सक्ने गन्तव्य चितवनमा यी मात्रै भने होइनन्। यहाँ धार्मिक, ऐतिहासिक महत्व बोकेका, प्राकृतिक सौन्दर्यताले भरिपूर्ण थुप्रै ठाउँ छन् जसले पर्यटकलाई सहजै मोहित बनाउन सक्छ।
भरतपुर महानगरपालिकाले पर्यटकलाई घुम्नका लागि महानगरभित्रका ३० वटा गन्तव्य छनोट गरेर प्रचार प्रसार गरिरहेको छ। यसमा समथरदेखि पहाडी भूभागका गन्तव्यसम्म छन्।
महानगरले प्रचार गर्दै आएका गन्तव्य मध्येको एक हो ‘चौकीडाँडा’। यो ठाउँ साविकको कबिलास गाविसमा पर्छ। भरतपुर महानगर बन्दा कबिलास पनि गाभिएको थियो। भरतपुरलाई भित्री मधेसको समथर भूभागमा फैलिएको महानगरपालिका ठान्ने धेरै छन्। चौकीडाँडा पुग्दा भने पहाडको झल्को आउँछ। चेपाङ, गुरूङ समुदायको बसोबास छ यहाँ। करिब ११ सय मिटर उचाइमा रहेको चौकीडाँडाबाट भरतपुरमात्रै होइन चितवन, नवलपुर र तनहुँका धेरै भूभागका आकर्षक दृष्य देख्न पाइन्छ।
नजिकै रहेको कविलासगढीबाट सुन्दर हिमश्रृंखला देख्न सकिन्छ।
यही चौकीडाँडाबाट थोरै तल छ ‘होग्लो डाँडा’।
एक गत शुक्रबार विजय श्रेष्ठले मेरो फेसबूक म्यासेन्जरमा एउटा सुन्दर फोटो पठाएका थिए।
एउटा पर्वतमा आकर्षक देखिनेगरी सिँढी लगाइएको। परबाट हेर्दा चाइनाको ग्रेटवालजस्तो देखिने सिँढी अनि पर्वतको सुन्दर चुचुरो। वाउ, मलाई त्यो फोटोले मोहनी लगायो।
उनी त्यहाँ साइकल चढेर पुगेका रहेछन्। मलाई उनले टिकटकमा राखेको सानो भिडिओ क्लिप पनि पठाइदिएर भने, ‘भरतपुरमै यस्तो राम्रो ठाउँ छ। चितवनका पहाडी क्षेत्रमा कति सुन्दर ठाउँ छन् धेरैलाई थाहै छैन है।’
उनीसँग च्याट गर्दा मैल भोलिपल्टै यो ठाउँ पुग्ने योजना मनमनै बनाइसकेको थिएँ। शनिबार जान समय मिलेन। आइतबार बिहानै मैले चितवनको अभियान टेलिभिजनमा कार्यरत पत्रकार प्रविन बराललाई विजय श्रेष्ठले पठाएको फोटो फर्वार्ड गरेर लोकेसन बताएँ। उनले तुरून्तै रेस्पोन्स गर्दै भने, ‘ल आजै जाऔं।’
हामी पौने १२ बजेतिर भरतपुरबाट मोटरसाइकल चढेर जुगेडीतर्फ अघि बढ्यौं। १२ बजे जुगेडीस्थित नारायणगढ–मुग्लिन सडकलाई छाडेर डाँडोतिर उकालो लाग्यौं।
केही वर्षअघि बनाइएको कालोपत्रे सडक ठाउँ–ठाउँमा बिग्रन थालेछ। ठाडो उकालोमा पानीको भलले बाटै काट्न थालेछ। नागबेली घुम्ती कट्दै करिब तीन किलोमिटर कालोपत्रे सडक सकिएपछि तान्द्राङ पुगिन्छ। तान्द्रङ पुगेपछि दोबाटो भेटिन्छ, सिधै अघि बढ्यो भने पाँच सय मिटर अगाडि कबिलास रिसोर्ट छ। उकालो लाग्यो भने चौकीडाँडा पुगिन्छ। पहिले गोरेटो बाटो हिँडेर मान्छेहरू चौकीडाँडा पुग्थे। अहिले डोजरले ट्रयाक खुलेको छ। तर गाडी जानसक्ने सडक छैन। हामी त्यतै अघि बढ्यौं।
आकासे वर्षाले बिगारेको सडकमा मोटरसाइकल जेनतेन पाँच सय मिटर जति उक्लियो। त्यहाँ बाख्रा र बुँगुर फार्म रहेछन्। सडकको कुनामा मोटरसाइकल रोकेर हामी पैदल अघि बढ्यौं।
साढे १२ बजेको टण्टलापुर घाममा उकालो बाटो हिँड्न कम्ता गाह्रो भएन। २ वर्षअघि डोजरले खनेको नागबेली उकालो बाटो जताततै भत्किएको छ। कतै माथिबाट, कतै मुनि पहिरो झरेको छ।
वास्तवमै उदेक लाग्दो विकासको नमूना देखियो यहाँ। चौकीडाँडा पुग्नका लागि नारायणगढ–मुग्लिन सडकको भोर्ले भन्ने ठाउँबाट उक्लने सडक भए पनि त्यसको विकल्पमा यो सडक बनाइएको हो। तर सडक खन्दा डाँडै भासिने जोखिमलाई भने त्यति वास्ता गरिएन जस्तो लाग्यो। सडककै कारण झर्ने पहिरोले तल्लो भेगको तान्द्राङ बस्ती जोखिममा पर्ने खतरा उत्तिकै देखियो। बेलैमा सजग हुन नसके यसको खतरा जुगेडीसम्मै बढ्न सक्छ।
सडककै विषयमा गफ गर्दै उक्लिँदा युवाहरूको एउटा जमात तल झर्दै थियो। उनीहरू होग्लो डाँडा पुगेर फर्किएका थिए। थकित हामीलाई उनीहरूले हौसला दिए। सिधा माथि देखिएको चुचुरोमा पुग्न अब पन्ध्र मिनेट पनि नलाग्ने उनीहरूले बताउँदा खुसी लाग्यो।
हामीसँग न पिउने पानी थियो, न खाने कुरा। टण्टलापुर घाममा तिर्खाले दुबै जनालाई प्याकप्याक्ती बनाएको थियो। थकानसँगै भोक पनि लाग्यो।
४० मिनेट जति उकालो हिँडेपछि भने हाम्रो थकान एकाएक गायब भयो। भोक, तिर्खा सबै हरायो। विजयले म्यासेन्जरमा पठाएको फोटोमा भएको होग्लो डाँडो मेरै अगाडि खडा भएको थियो। फोटोमा देखेभन्दा कैयौं गुणा सुन्दर डाँडो, चिटिक्क देखिनेगरी बनाइएका सिँढी अनि, त्यहाँबाट देखिने त्रिशूली, कालीगण्डकी र नारायणी आसपासका बस्ती, फाँट र जंगलले मनै हरर भयो।
भर्खरै स्याँ–स्याँ गर्दै उक्लिएका हामी एकछिन पनि नबसी सिँढी उक्लियौं। कहिले हिँडेर, कहिले दौडिएर माथि पुग्यौं।
होग्लो डाँडाको चुलीको थोरै तल बज्रयोगिनी देवीको थान रहेछ। स्थानीयवासीले बज्रयोगिनी माईको मन्दिर भन्दा रहेछन्। यहाँ साउन महिना बाहेक वर्षभरका सबै महिनामा पूजा गर्ने चलन रहेछ। यहाँ पुगेर बज्रयोगिनी माईको पूजा गरेपछि चिताएको वरदान पाइने विश्वास स्थानीयवासीको रहेछ।
भरतपुर–२९ तान्द्रङका शमसेरबहादुर गुरूङका अनुसार यहाँ पूजा गर्न टाढा–टाढाबाट पनि मान्छेहरू आउँछन्।
स्थानीय बासिन्दा त पुग्ने नै भए।
‘परेवा उडाउने, पाठी बली दिने र पूजा गर्नेहरू सधैंजसो आइरहन्छन्,’ गुरूङले भने।
हाल यहाँ सानो मूर्ति र केही घण्टाहरू छन्। गुरूङले पहिले यहाँ बाघमाथि बज्रयोगिनी देवी बसेको ठूलो मूर्ति रहेको बाबूले सुनाएको बताए।
‘हामी सानो हुँदा पनि यो मूर्तिको विषयमा हल्ला सुन्थ्यौं। मनकामना र इच्छाकामना बज्रयोगिनी माईका दिदीबहिनी हुन् रे भन्ने पनि सुन्थ्यौं,’ ५४ वर्षे गुरूङले भने, ‘पछि यो मूर्ति चोरी भएछ। त्यो मूर्ति कसले लग्यो, कता पुग्यो अहिलेसम्म अत्तोपत्तो छैन।’
मूर्ति हराए पनि स्थानीयले मूर्तिको अवशेष भएको ठाउँमा थान बनाएर पूजा गर्दै आएको उनले बताए।
यसै आर्थिक वर्षमा होग्लो डाँडामा सिँढी बनेको रहेछ। भरतपुर महानगरपालिकाको करिब ६ लाख रुपैयाँ बजेटमा थानसम्म पुग्ने सिँढी बनाइएको वडा नम्बर २९ का सचिव कैलाश रेग्मीले बताए।
यहाँबाट चौकीडाँडा पुग्न पैदल आधा घण्टा जति लाग्छ।
‘होग्लो डाँडा आकर्षक देखिँदा जुगेडीबाट उक्लिएर यसको अवलोकन गर्दै चौकीडाँडा पुग्ने र भोर्लेबाट उक्लिएर चौकीडाँडा पुगेपछि थोरै झरेर यसको अवलोकन गर्ने दुबै अवसर पर्यटकलाई मिल्ने छ,’ रेग्मीले भने, ‘महानगरले चौकी डाँडाबाट दृष्यावलोकन गर्न भ्यूटावर बनाएको छ। नजिकै रहेको ऐतिहासिक किल्ला कविलासपुर गढीलाई पनि संरक्षण गरेर प्रचार गर्दैआएको छ।’
करिब २ घण्टा जति हामीले त्यहाँ बितायौं। फर्कँदा पनि घाम उस्तै थियो। तर ओरालो बाटो भएकाले उक्लँदा भन्दा अलि सजिलो भयो। तिर्खाले त बेस्सरी सताएको थियो। झर्दै गर्दा बाटोको कुनामा पानी रसाएको देख्यौं। पानी रसाएको ठाउँमा खोतल्दा सानो मूल भेटियो। आडैमा रहेको बुट्यानको पात टिपेर कचौरो जस्तो बनाई पानी भरेर आँत भिजायौं।
फर्किएर नारायणगढ–मुग्लिन सडकमा पुग्दा कविलास माविका विद्यार्थीहरू पढाइ सकिएर घर फर्कंदै थिए। सवा चार बजेको रहेछ।