काठमाडौं उपत्यकाबाट नजिकै केही शान्त समय बिताउन नगरकोट चल्तीको पर्यटकीय गन्तव्य हो। नगरकोट भनेपछि प्रायःको दिमागमा सूर्य उदाएको र अस्ताएको हेर्ने ठाउँ भन्ने आउँछ।
अघिल्लो दिन साँझमा सूर्यास्त हेर्यो, भोलिपल्ट बिहान सूर्योदयको मजा लियो, फर्कियो। त्यहाँ पुग्ने अधिकांश पर्यटकको तालिका यही हो।
अब यो तालिका फेरिन सक्छ। नगरकोटमा एक रातभन्दा धेरै बस्न मनलाग्ने विशेषता यहाँ थपिँदैछ। त्यो हो 'नगरकोट हब'।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा पर्ने नगरकोटमा एकै क्षेत्रफलमा अपार्टमेन्ट, सपिङ कम्प्लेक्स, होटल, रेस्टुरेन्ट, मनोरञ्जन पार्क, स्विमिङ पुल, हेल्थ क्लब तथा नाइट क्लबसहितको 'नगरकोट हब' बन्ने भएको छ।
यो हब पर्यटन व्यवसायी तथा एस होटल ग्रुपका अध्यक्ष योगेन्द्र शाक्यको लगानीमा बन्ने भएको हो। हब निर्माणमा शाक्यलाई रियलस्टेट व्यवसायी तथा सिई कन्स्ट्रक्सनका अध्यक्ष विजय राजभण्डारी र बैंकर पृथ्वीबहादुर पाँडेले साथ दिएका छन्।
आन्तरिक तथा बाह्य पर्यटकलाई नगरकोटमा दुई/तीन दिन बिताउन मनलाग्ने बनाउन हब निर्माण गर्न लागिएको शाक्यले बताए।
'अहिलेसम्म नगरकोटमा एक/दुई रातभन्दा बढी समय बिताएर बस्ने चलन छैन। त्यसका लागि क्रियाकलाप र सुविधा पनि छैन,' शाक्यले भने, 'हबले मानिसलाई त्यहाँ धेरै दिन बस्न आकर्षित गराउँछ।'
नगरकोट हब क्लब हिमालय होटलको ठ्याक्कै तलपट्टि पर्छ। क्लब हिमालय शाक्यकै होटल हो। २५ रोपनी क्षेत्रफलमा फैलिने हबमा अपार्टमेन्ट, सपिङ कम्प्लेक्स, पैदल हिँड्ने बाटो, मनोरञ्जन क्षेत्र तथा हरियाली क्षेत्र हुनेछन्।
शाक्यका अनुसार यो हब दुई अर्ब रूपैयाँभन्दा बढी लगानीमा बनाउन लागिएको हो। हब तीन चरणमा निर्माण हुनेछ।
पहिलो चरणमा २४ वटा घरहरू बनाउने काम सुरू भइसकेको शाक्यले जानकारी दिए। प्रत्येक घर साढे दुईदेखि तीन तलाका हुनेछन्। यी सबै घर परम्परागत शैलीमा बन्नेछन्। हरेक घरको डिजाइन भने फरकफरक हुनेछ।
'हबमा पर्यटकले भक्तपुर तथा पाटनको झल्को पाउँछन्। हब बनिसकेपछि यो भर्खर बनाएको जस्तै देखिँदैन। पुरानो गाउँ हो भन्ने महसुस हुन्छ,' शाक्यले भने।
हिमाल–पहाड, गाउँ, संस्कृति सबै कुराको एकैठाउँमा सम्मिश्रण झल्को दिने पर्यटकीय गन्तव्यका रूपमा नगरकोट हब विकास गर्न लागिएको हो।
शाक्यका अनुसार बन्दै गरेका २४ वटै घर बुकिङ भइसकेका छन्। घरको भुइँतलामा पसल र माथिल्ला तलामा अर्पाटमेन्टको डिजाइन गरिएको छ।
दोस्रो चरणमा गेमिङ-जोन बनाइनेछ। सबै उमेर समूहका मानिसले त्यहाँ मनोरञ्जन लिन सक्नेछन्। केटाकेटीहरूका लागि उफ्रिने खेलहरू र वयस्कका लागि बार, क्लबहरू हुनेछन्।
तेस्रो चरणमा के निर्माण गर्ने भन्नेबारे यकिन भइसकेको छैन। खाली रहेको भागमा के बनाउने भन्नेबारे छलफल भइरहेको शाक्यले बताए।
नगरकोटलाई पर्यटकको हब बनाउने सपना शाक्यले ३० वर्षअघि नै देखेका थिए। विभिन्न कारणले पूरा हुन सकेको थिएन।
उनी भन्छन्, 'अब भने मेरो सपना पूरा हुने भएको छ।'
शाक्यका अनुसार उनको यो सपना त्यो बेला सुरू भएको हो जुन बेला विदेशीहरूले नेपाललाई 'सांग्रिला' भनेर चिन्थे। तिब्बती भाषामा सांग्रिलाको अर्थ शान्त, रमणीय तथा स्वर्गीय काल्पनिक ठाउँ हो।
'त्यो समयमा विश्वमै सञ्चारमाध्यम धेरै थिएनन्। अमेरिकाको टाइम म्यागेजिनले 'गुडबाइ सांग्रिला' शीर्षकमा एउटा लेख छापेको थियो। लेख काठमाडौंलाई आधार मानेर यहाँको प्रदूषण र भिडभाडबारे थियो,' शाक्यले सुनाए।
यहाँका होटल व्यवसाय विदेशी पर्यटकले नै धानेका थिए। त्यो लेखका कारण यहाँका पर्यटन व्यवसायी चिन्तित भए। शाक्य पनि पर्यटन व्यवसायमा लागिसकेका थिए। ठमेलमा उनको गेस्ट हाउस थियो।
'काठमाडौं सांग्रिला नभए पनि नेपाल हो है भनेर चिनाउन के गर्न सकिन्छ भनेर अध्ययन गर्न थालेँ,' उनले भने, 'सांग्रिलाका रूपमा चिनाउन सक्ने नयाँ गन्तव्यको खोजीमा लागेँ।'
उनका अनुसार त्यो समयमा पनि विदेशी पर्यटकहरू नगरकोट जान्थे। तर नगरकोटमा खासै होटल थिएनन्। काठमाडौंकै होटलमा बस्थे। बिहान चार बजेपछि खाजा, पानी, चिया लिएर सूर्योदय हेर्न जान्थे र फर्किन्थे।
नगरकोटमा पर्यटकको आकर्षण देखेर उनले यही ठाउँ रोजे। त्यतिखेरै ५२ रोपनी जग्गा लिए। जग्गा किन्न केही साथीले सहयोग गरे। अहिले ती साथीहरू अलग्गिसके।
शाक्यले सुरूमा दस लाख रूपैयाँ लगानी गरेर टी-हाउस खोले। टी-हाउस खोलेपछि पर्यटकले काठमाडौंबाट खाजा बोकेर जानुपर्ने भएन। तर उनलाई त्यतिले पुगेन, होटल नै खोल्न कस्सिए।
'टी-हाउसमा पर्यटकलाई धेरै समय बिताउन क्रियाकलाप नै भएन,' उनी सुनाउँछन्, 'उनीहरूलाई एक/दुई रात त्यहीँ राख्न होटल नै खोलेँ।'
टी-हाउसको करिब तीन वर्षपछि खुलेको हो स्विमिङ पुल सहितको होटल 'क्लब हिमालय'।
शाक्यका अनुसार यो होटल खोल्दा त्यहाँका मानिसहरूले 'यहाँ आएर को बस्छ र होटल खोलेको' भनेर उनलाई सोध्थे। उनी 'नगरकोटलाई काठमाडौंको वैकल्पिक गन्तव्य बनाउन' भनेर जवाफ दिन्थे।
त्यो बेला चारतारे होटल बनाउनु चानेचुने थिएन। मानिसको बस्ती कम भएको ठाउँमा सडक, पानी, बत्ती सबै आफैं लगेर होटल खोलेको उनी बताउँछन्।
होटल विस्तारसँगै समग्र नगरकोटलाई काठमाडौं आउने पर्यटकका लागि दोस्रो विकल्पका रूपमा रूपान्तरण गर्ने सपना देख्न थाले उनी। सोचेजस्तो भएन। होटल पनि एक रातको गन्तव्य मात्रै बन्यो। ग्राहकलाई त्यहाँ समय बिताउने अन्य क्रियाकलाप भएन। त्यही सूर्य उदाएको र अस्ताएको हेर्न आउने, हिमालको फोटो खिच्नेमै सीमित भयो।
त्यसपछि शाक्य पर्यटकलाई त्यहाँ केही दिन अड्याउने सोचले नगरकोट हब खोल्न तम्सिएका हुन्।
उनले भने, 'रियलस्टेट व्यवसायजस्तो बनायो, बेच्यो, नाफा लियो होइन। यो चलाउन गाह्रो छ। जोखिम मोलेको हुँ। तर अहिले म एक्लै छैन, साथीहरूको साथ छ।'
यो हब पर्यटकलाई बढावा दिने क्षेत्र भएको उनको भनाइ छ।
घर किन्ने सबै लगानीकर्ताले आफैं चलाउन नसक्ने भएकाले शाक्यको समूहले व्यवस्थापन कम्पनी पनि खोल्ने तयारी गरेको छ।
'लगानीकर्ता टाढाटाढाका हुन्छन्। आफैं चलाउन पनि सक्छन्। नसक्नेले व्यवस्थापनको जिम्मा कम्पनीलाई दिने सुविधा दिन्छौं,' उनले भने।
शाक्य लुम्बिनीमा पनि हब निर्माण गर्दैछन्। सातै प्रदेशमा हब निर्माण गर्ने आफूहरूको योजना भएको उनले बताए। आफूहरूसँग आइडिया भएको र यसमा सरकारले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ।
सरकारले हालै ल्याएको चार आना एक दाममा मात्रै घर बनाउन पाउने कानुनी व्यवस्थामा भने उनको असन्तुष्टि छ।
'सरकारले नियम बनाउँछ तर सञ्चालनमा आइसकेकालाई के गर्ने भनेर सोच्दैन,' उनले भने, 'हामीले प्रत्येक घर तीन आनामा डिजाइन गरेका थियौं। नियम तुरून्तै परिवर्तन भयो। हामीसँग जग्गा थियो र सहज भयो नभए योजना अलपत्र पर्थ्यो।'
नगरकोट हबको प्रतीकात्मक डिजाइन। तस्बिर सौजन्यः योगेन्द्र शाक्य