तपाईंले साहसिक खेलबारे अवश्य सुन्नुभएको छ। देख्नुभएको पनि होला।
बन्जी जम्प, स्विङ, स्काइ-साइक्लिङ वा स्काइ-ग्लाइडिङ जस्ता अरू साधारण साहसिक खेल खेल्ने सोच तपाईंले पनि बनाउनुभएको छ भने पर्वतको कुश्मा जानु भए हुन्छ।
त्यहाँ तपाईंले २२८ मिटरमाथिबाट बन्जी जम्प गर्न सक्नु हुन्छ। त्यति नै उचाइमा झुल्न वा आकाशमा टाँगिएको डोरीमा साइकल चलाउन सक्नु हुन्छ।
कुश्मामा 'द क्लिफ' ले यस्ता ११ वटा साहसिक खेल खेल्ने सुविधा मिलाएको छ। कम्पनीले करिब तीन वर्षदेखि कुश्मामा बन्जी र स्विङ खेल सञ्चालन गरिरहेको छ।
द क्लिफका संस्थापक अध्यक्ष राजु कार्कीका अनुसार साहसिक खेल खेल्न स्वदेशी र विदेशीहरू आउँछन्। धेरैको रोजाइमा बन्जी र स्विङ पर्छ।
'सबै उमेरका व्यक्तिका लागि उपयुक्त रोमाञ्चक खेल खेल्न यहाँ पाइन्छ,' राजुले भने।
उनका अनुसार यी साहसिक खेल उमेर र तौलअनुसार खेल्न सकिन्छ। विशेषगरी १४ वर्षमाथिकाले बन्जी खेल्न सक्छन्। बन्जी खेल्ने व्यक्तिको तौल कम्तीमा ४५ किलो हुनुपर्छ, ९७ किलोग्रामभन्दा धेरै हुनु हुँदैन।
त्यस्तै स्विङ खेल्न पनि १४ वर्ष उमेर पूरा भएको हुनुपर्छ। तौल कम्तीमा ४० किलोग्राम हुनुपर्छ।
'विश्वभर नै बन्जी जम्प लोकप्रिय भएकाले पनि कुश्मामा खेलाडीहरूको आकर्षण बढेको छ,' उनले भने, 'कुश्मामा साहसिक खेलहरूमध्ये बन्जी सबैभन्दा बढी रूचाइएको छ। मासिक एक हजार जनाभन्दा बढीले बन्जी जम्प गर्छन्।'
एकपटक बन्जी गर्न ७ हजार रूपैयाँ लाग्छ। बन्जीका लागि कम्पनीले प्याकेज पनि राखेको छ। छोटो समयमै दोस्रोपटक बन्जी खेल्न जानेले ५० प्रतिशत छुट पाउँछन्। तेस्रोपटक साढे दुई हजार तिरे पुग्छ। चौथो पटक पैसा नै लाग्दैन।
'यो प्याकेज बन्जीका पारखीहरूका लागि राखिएको हो,' राजु भन्छन्, 'बन्जी खेल सम्झेर पटकपटक आउनेहरू पनि हुनुहुन्छ।'
बन्जीसँगै स्विङ, स्काइ-साइक्लिङ, स्काइ-क्याफे र स्काइ-ग्लाइडिङ पनि निकै रूचाइएका साहसिक खेल हुन्।
बन्जी बराबरकै उचाइमा रहेको स्काइ-क्याफे यहाँको अर्को आकर्षण हो। राजुका अनुसार एक वर्षअघि सञ्चालनमा आएको स्काइ-क्याफे निकै रूचाइएको छ। रमाइला दृश्य अवलोकन गर्दै, गफिँदै, परिकारहरू खाँदै रमाइलो गर्न मानिसहरू स्काइ-क्याफे पुग्ने उनले बताए।
खेल नखेल्नेहरू पनि स्काइ-क्याफेमा मजा लिन कुश्मा पुग्ने गरेका छन्।
'हामी सकेसम्म फरक र एड्भेन्चर (साहसिक) खेल तथा पूर्वाधारको निर्माणमा जुटेका छौं। स्काइ-क्याफे पनि यही अवधारणामा तयार भएको हो,' राजुले भने, 'तारमा झुन्डिएर गुडिरहेको क्याफेमा बसेर खाजा खानुको मजा बेग्लै छ।'
क्याफेमा बस्न फलाममा काठका फल्याक जोडेर बेञ्च र टेबल राखिएको छ। त्यही टेबल घिर्नीको सहायताले तारमा झुन्ड्याइएको छ। डरलाग्दो भिरमाथि तारमा क्याफे बिस्तारै हिँड्छ। ग्राहकले यात्रा सुरू गर्नुअघि अर्डर गरेका परिकार खाँदै खुला आकाशमा यात्रा गर्न पाउँछन्। यो एउटा रमाइलो साहसिक यात्रा हो।
यसका लागि प्रतिव्यक्ति साढे दुई हजार रूपैयाँ तिर्नुपर्छ।
द क्लिफको अर्को साहसिक खेल हो स्काइ-साइक्लिङ। राजुका अनुसार यो साइक्लिङ विश्वकै अग्लो र लामो हो। कालीगण्डकी नदीको भिरको रिसोर्ट परिसरमा छ स्काइ-साइक्लिङ। साइक्लिङ दुईतर्फी ६ सय मिटर लामो छ। साइकल प्रेमीहरूका लागि यो खेल निकै रोमाञ्चक हुनसक्छ। कम्पनीले यो खेलका लागि प्रतिव्यक्ति तीन हजार रूपैयाँ तोकेको छ।
राजु भन्छन्, 'विश्वमा कतै पनि २२८ मिटर अग्लो र ६ सय मिटर लामो व्यावसायिक स्काइ-साइक्लिङ छैन।'
कम्पनीले साहसिक पर्यटकहरूका लागि ल्याएको पछिल्लो खेल हो स्काइ-ग्लाइडिङ।
स्काइ-ग्लाइडिङका लागि करिब सय मिटर लामो लठ्ठा र दुईतर्फ टावर छन्। एउटा टावरबाट अर्कोमा जान शरीरमा हार्नेस (सुरक्षा पेटी) बाँधेर तल्लो लठ्ठाको स्केटबोर्डमा टेक्नुपर्छ र क्याराविनरको मद्दतले माथिल्लो लठ्ठाको घिर्नीमा समातेर चिप्लिनुपर्छ।
टावरमा दुई वटा समानान्तर लठ्ठा हुने भएकाले एकपटकमा दुई जनाले खेल्न सकिन्छ। स्काइ-ग्लाइडिङ खेल्न प्रतिव्यक्ति एक हजार दुई सय रूपैयाँ लाग्छ। यही शुल्कमा फोटो र भिडिओ समावेश हुन्छ।
यीबाहेक अन्य खेलका लागि भने २५० रूपैयाँ लाग्छ।
साहसिक खेलका लागि सिजनमा एक दिनमै दुई सयभन्दा बढी मानिस द क्लिफ पुग्छन्। राजुका अनुसार दसैं–तिहार जस्ता ठूला चाडपर्व यस्ता साहसिक खेलको मुख्य सिजन हो।
बन्जी र स्विङको भने खास सिजन छैन। मानिसहरू आफ्नो अनुकूलताअनुसार जहिले पनि पुग्छन्। मौसम अनुकूल हुनुपर्यो, यत्ति हो।
'मासिक एक हजारभन्दा बढीले बन्जी र स्विङ खेल्ने गरेका छन्,' राजुले भने, 'कम्पनीले चाडपर्वका लागि छुट र प्याकेजसमेत दिने गरेको छ।'
यसपालिको दसैंमा कम्पनीले रिसोर्टमा बस्न केही छुट र केही खेल निःशुल्क गरेको थियो।
कम्पनीले बालबालिकाका लागि जीप प्लेन पनि चलाउँदै छ। यो खेल ५ वर्षदेखि १५ वर्षसम्म उमेरका बालबालिकाले खेल्न सक्छन्। अन्य केही साहसिक खेलहरू पनि ल्याउने तयारी रहेको राजुको भनाइ छ।
'आगामी प्रोजेक्ट विश्वकै पृथक स्विमिङ पुल हुनेछ। लक्जरियस भिल्ला बनाउन लागेका छौं,' उनले भने।
एड्भेन्चर हब भनेर चिनिएको द क्लिफ ४८ रोपनी क्षेत्रफलमा फैलिएको छ। पर्याप्त ठाउँ रहेकाले नयाँ प्रोजेक्टका लागि अध्ययन अनुसन्धान गरिरहेको उनले बताए।
सञ्चालनमा आएको छोटो समयमै कुश्माको एड्भेन्चर युवामाझ लोकप्रिय बनेको उनको भनाइ छ। काठमाडौं, पोखरा, हेटौंडा, धनगढी लगायत विभिन्न सहरबाट यी साहसिक खेलमा रमाउन युवाहरू कुश्मा पुग्ने गरेका छन्। पोखराबाट नजिक र मुस्ताङ जाने राजमार्गमा रहेको कुश्मा अहिले आन्तरिक पर्यटकको रोजाइमा परेको उनले बताए।
साहसिक खेलका लागि काठमाडौंबाट कुश्मा जाँदा दुई दिनको प्याकेज बनाउनुपर्छ। कुश्मामा खानेबस्ने राम्रो व्यवस्था छ। द क्लिफ रिसोर्टमा बस्न अग्रिम बुकिङ गर्नुपर्छ।
राजुका अनुसार द क्लिफका सबै क्षेत्रमा कम्तीमा सय जनाले रोजगारी पाएका छन्।
'अनुभवी र दक्ष जनशक्ति भएकाले यहाँका साहसिक खेल सुरक्षित छन्,' उनले भने।
द क्लिफ सञ्चालनमा आएपछि कुश्मामा आन्तरिकसँगै बाह्य पर्यटक बढेका छन्।
कुश्मामा व्यवसाय गरिरहेका राजु सिन्धुपाल्चोकका स्थायी बासिन्दा हुन्। खाडीचौरमा जन्मेका उनको सानैदेखि साहसिक पर्यटनमा चाख थियो। उनी घरबाट ६० किलोमिटर टाढाको भोटेकोशीमा 'द लास्ट रिसोर्ट' को बन्जी खेल्न पुग्थे। त्यहाँ उनका मामा काम पनि गर्थे।
एकपटक राजुले द लास्ट रिसोर्टले कर्मचारी मागेको थाहा पाए। उनले आवदेन दिए। त्यो बेला उनी जम्मा २१ वर्षका थिए।
'जे काम गर्न रूचि थियो त्यसमै जोडिँदा निकै खुसी मिल्ने रहेछ,' पुराना दिन सम्झँदै उनले भने, 'सामान्य कोर्स लिएँ, तालिम सकेर बन्जीमै काम गरेँ।'
उनले द लास्ट रिसोर्टमा करिब ७ वर्ष काम गरे। बन्जीको प्राविधिक र व्यवस्थापकीय पक्षमा अनुभव हासिल गरे। त्यहीबीच उनको बिहे भयो। त्यसपछि उनी फ्रान्स पुगे। त्यहाँ पनि उनले साहसिक पर्यटनबारे बुझ्ने अवसर पाए।
'भोटेकोशीमा बन्जी गर्न आउने विदेशी साथीहरूसँग चिनजान थियो,' उनले भने, 'तिनै साथीहरूको सहयोगमा युरोपमा एड्भेन्चर टुरिजमको अवस्था कस्तो रहेछ भनेर अध्ययन गर्न पाएँ।'
उनले फ्रान्ससँगै बेल्जियम, स्विट्जरल्यान्ड र अन्य केही देशका साहसिक खेल तथा पर्यटनबारे बुझे। अनि तीन वर्षपछि नेपाल फर्के। युरोपमा 'भिया-फेर्राटा' नामको साहसिक खेल लोकप्रिय थियो। यो भनेको चट्टाने भिर वा पहाडमा डोरीको सहायताले उक्लिँदै खेल्ने खेल हो।
राजुले नेपालमा पनि यो खेलको सम्भावना भएको भन्ने निष्कर्ष निकाले। भोटेकोशीनजिकै एउटा झरनाको छेउमा भिया-फेर्राटा चलाउने सोच बनाए।
'यसबारे मैले द लास्ट रिसोर्टको टिमसँग कुरा गरेँ। तर प्रस्ताव स्वीकार भएन,' उनले भने, 'यसपछि मैले अन्त कतै यस्तै खेल सुरू गर्ने सोच बनाएँ। पर्वतको कालीगण्डकीमा ठूलो खोँच छ भन्ने सुनेको थिएँ। कस्तो रहेछ भनेर हेर्न कुश्मा पुगेँ। ठाउँ देख्नासाथ दिमागले काम सोचिहाल्यो।'
यसपछि राजुले ६ जनाको टिम बनाए। त्यसमा उनीसहित युवराज जोशी, नेत्रप्रसाद पराजुली, नवराज शर्मा, प्रकाश प्रधान र राजन जोशी थिए। उनीहरूले १५ करोड रूपैयाँ लगानीबाट काम सुरू गरे।
सबै योजना बनाएपछि कम्पनीको नाम जुर्यो 'द क्लिफ'।
'द क्लिफको अर्थ ठाडो भिर हो। यो भिरमा हामीले एड्भेन्चरमा रमाउने माहोल बनाएका छौं। एउटा एड्भेन्चर हब बनाएका छौं,' उनले भने।
दुइटा भिर जोड्न एउटा नमूना पुल बनाउने र त्यहाँबाट पर्यटकीय गतिविधि सञ्चालन गर्ने गरी टिम अघि बढ्यो। राजुका अनुसार पुल ६ वर्षमा तयार भयो। कुश्माबाट बागलुङको बलेवासम्म पुग्ने झोलुंगे पुल तयार भएपछि उनीहरूको पहिलो योजना सफल भयो।
'यो एसियाकै नमूना पुल हो। त्यहाँ सामान्य झोलुंगे पुल पनि बनाउन सकिन्थ्यो। तर हामीले कुश्मालाई चिनाउन एसियाकै नमूना पुल बनायौं। धेरै मेहनत गर्यौं,' उनले भने।
एड्भेन्चरमा रमाउने मात्र होइन, यो पुलबाट यात्रुहरू आवतजावत गर्न पनि पाउँछन्। यस्ता यात्रुले ६० रूपैयाँ तिर्नुपर्छ। घुम्न जानेले पुलमा हिँड्न ५ सय रूपैयाँ तिर्नुपर्छ। यस्ता पर्यटकले द क्लिफमा यही शुल्कमा एकपटक खाना खान पाउँछन्। खाना नखानेले कुनै सामान्य खेल खेल्न पाउँछन्।
राजुको टिमले २०७३ सालमा यहाँ बन्जी जम्पको सम्भाव्यता अध्ययन सुरू गरेको थियो। योजनाअनुसार काम अघि बढ्दै गर्दा एक्कासि कोरोना फैलियो। उनीहरूलाई अलमलसँगै लगानी डुब्ने चिन्ता भयो।
'तिमीहरूको लगानी डुब्ने भयो' भनेर निराश बनाउनेहरू पनि आउन थाले। तर राजुको टिमले हरेश खाएन। काम गरिरह्यो। बन्जी र स्विङ तयार थियो। कोरोनाकै समयमा क्रेजी-ब्रिज, गुलेली पिङ, स्काइ-चेयर, फेमिली-पिङ, हर्स-राइडिङ लगायतका खेल थपे।
अनि कोरोनाको त्रासकै बीचमा २०७७ सालमा द क्लिफ औपचारिक रूपमा सुरू भयो।
'पहिलो दिन कुश्मा भ्याली नै प्याक थियो। कोरोनाको पर्वाह नगरी मानिसहरू बन्जी खेल्न आए। हाम्रो आत्मविश्वास बढ्यो,' उनले भने, 'अहिले आन्तरिक पर्यटकले नै द क्लिफ धानेका छन्।'
कोरोनाको कारण पनि अन्तर्राष्ट्रिय बजारमा द क्लिफको प्रचारप्रसार हुन नसकेको राजुको भनाइ छ। विदेशी पर्यटकको गन्तव्यका रूपमा कुश्मालाई चिनाउन आफूहरू लागिपरेको उनले बताए। यसका लागि पर्यटन बोर्डसँग समन्वय गरेर अघि बढ्ने योजना छ उनीहरूको। प्रचारप्रसारमा पनि लागेका छन्, मार्केटिङमा मात्र १० जना कर्मचारी राखेको उनले बताए।
'बन्जी भन्नासाथ कुश्मा सम्झिनेहरू धेरै भइसके। छोटो समयमै हामीले छोटो समयमै हामीले यो उपलब्धि हासिल गरेका छौं,' उनले भने।
पर्यटन क्षेत्रमा योगदान पुर्याएवापत् उनी जनसेवाश्री पदकबाट विभूषित पनि भए। नेपालमा नयाँनयाँ साहसिक पर्यटनको राम्रो भविष्य उनले देखेका छन्। डाँडाँकाडा र खोँचहरूले भरिएको नेपालमा जीपलाइन, बन्जी, केबलकार लगायत सञ्चालन गर्न सकिने ठाउँहरू पहिचान गरेर साहसिक पर्यटन विकास गर्न सके स्वदेशी र विदेशी पर्यटक लोभ्याउन सकिने उनको भनाइ छ।
सबै तस्बिरः राजु कार्की