संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेको ‘एक सय पर्यटकीय गन्तव्यस्थल’हरू मध्ये चितवनको सोमेश्वरगढी एक हो।
सन् २०१८ को अन्त्यतिर गरिएको सय पर्यटकीय गन्तव्य घोषणाको उद्देश्य थियो- सन् २०२० भित्रमा वार्षिक २० लाख पर्यटकहरू भित्र्याउनेगरी प्रवर्द्धन गर्ने। सय गन्तव्यमा सोमेश्वर गढीसँगै चितवनका अन्य दुई ठाउँ '२० हजार ताल' र पटिहानी क्षेत्र पनि परेका थिए।
नेपाल र भारतको सीमाको सबैभन्दा अग्लो चुरे पर्वत सोमेश्वर माडी नगरपालिकामा पर्छ।
लिच्छवि कालमा सोमेश्वर नाका नेपाल–भारतको प्रमुख व्यापार नाकाकारुपमा रहेको इतिहास पाइन्छ। पछि पाल्पाका राजा मुकुन्द सेनले यो क्षेत्रलाई आफ्नो बनाएर यहाँ गढी निर्माण गरेका थिए।
अहिले गढीको टुप्पोमा नेपाल–भारतको ४५ नम्बरको सीमा स्तम्भ छ। स्तम्भदेखि करिब पाँच सय मिटरको दूरीमा सोमेश्वर कालिकाको मन्दिर छ। मन्दिरकै आसपासमा पहिले गढी रहेको मानिन्छ। त्यसको केही अवशेषहरू त्यहाँ देखिए पनि उत्खनन् भएको छैन।
माडीको मुख्य बजार बसन्तपुरदेखि १० किलोमिटरको दुरी पार गरेपछि यहाँ पुग्न सकिन्छ। यो सडकको करिब ३ किलोमिटर भाग कालोपत्रे भएको छ। बाँकी सडक ग्राभेल गरिएको छ। सोमेश्वर पहाडमा पर्ने अन्तिम ४ किलोमिटर सडकको यात्रा भने कष्टकर हुन्छ। चुरेको भिरालो जमिनमा बनेको सडकको धेरै ठाउँमा भासिएको र पहिरो झरेको छ। त्यसपछिको करिब एक किलोमिटर भने पैदल यात्रा गर्नुपर्छ।
माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले सोमेश्वर गढीको पर्यटन विकासका लागि भनेर करोडौं रुपैयाँ बजेट यो सडकमा खर्चिएको बताइन्। तर पनि सहज रूपमा यात्रा गर्न सकिने सडक तयार हुन सकेको छैन।
‘पर्यटन गन्तव्य घोषणा भएसँगै केही बजेट प्राप्त भयो। त्यो र त्यसपछि केन्द्र, प्रदेश र स्थानीय तहको गरेर ४ करोड रुपैयाँ जति बजेट यो सडकमा खर्च भइसकेको छ,’ मेयर महतोले भनिन्।
सोमेश्वरगढीको पर्यटन विकासका लागि भनेर माडी नगरपालिकाले २०७५ सालमा गुरूयोजना तयार पारेको थियो। करिब ९५ करोड रुपैयाँ खर्च गरेर उद्यान, सूचना घरदेखि हेलिप्याड, भ्यू टावर, मन्दिरहरू निर्माण गर्नेगरी गुरूयोजना तयार गरिए पनि यहाँसम्म पुग्ने सडक निर्माण नै नगरपालिकाका लागि टाउको दुखाइको विषय बनिरहेको छ। अन्य काम बजेटको अभावमा सुरू हुन सकेका छैनन्।
‘सय गन्तव्यभित्र पार्दा खुसी थियौं, गन्तव्यमा पारेपछि त्यहीअनुसार योजनाहरू आऊलान्,गुरूयोजनाअनुसारको काम होला भन्ने लागेको थियो तर त्यसअनुसारको बजेट आएन,’ मेयर महतोले भनिन्, ‘हाम्रो पुहँच नपुगेर हो कि के हो गन्तव्यको कुरा प्रचारमामात्रै सीमित भएजस्तो देखिन्छ।’
उनले चुरे क्षेत्रको माटो कमजोर हुने भएकाले नगरपालिकाको प्रयासबाट मात्रै पक्की सडक बनाउन सम्भव नभएको बताइन्।
‘बजेट जति बाटोमै खर्च भइरहेको छ, अन्य संरचना बनाउनलाई बजेटै छैन,’ महतोले भनिन्, ‘हाम्रो नगरपालिकाको आन्तरिक स्रोत असाध्यै कम छ। त्यसैले विकासका काममा प्रदेश र संघकै भर पर्नुपर्ने हुन्छ।’
सोमेश्वर पर्वतको शिरमा रहेको कालिका मन्दिरमा चैते दसैंमा दर्शनार्थीको घुइँचो लाग्छ। राम नवमीका दिन कालिका मन्दिरको दर्शन गर्न ठूलो संख्यामा भारतीय तिर्थारुहरू पनि आउँछन्।
सीमाबाट दक्षिणतर्फ भारतको बिहार राज्यको वाल्मीकि टाइगर रिजर्भ छ। उक्त जंगलको बाटो पैदलयात्रा गर्दै ठूलो संख्यामा तिर्थारुहरू आउने गरेको कालिका मन्दिरका पुजारी सोभाखर चापागाईं बताउँछन्।
चैते दसैंमा नेपालतर्फबाट पनि ठूलो संख्यामा भक्तजनहरू आउने गरेको चापागाईंले बताए।
पहिले थारु समुदायले मात्र पूजा गर्ने यो मन्दिरलाई अचेल सबै समुदायले मान्न थालेको माडी बघौडाका कृष्ण महतो बताउँछन्।
उनका अनुसार यहाँका आदिवासी थारु समुदाय समयमा पानी नपर्दा कालिका मन्दिरमा पुगेर पूजा गर्थे, मनोकांक्षा पूरा भएपछि बली चढाउँथे।
‘अचेल सबै समुदायका मान्छेहरू पूजाका लागि आउँछन्, पर्यटकको रूपमा जुनसुकै बेलामा पनि आइराख्छन्।
कोही मन्दिर हेर्न, कोही सीमा स्तम्भ हेर्न आउँछन्, कोही यो उचाइबाट देखिने दृष्यहरू हेर्न आउँछन्,’ चापागाईंले भने, ‘यहाँबाट देखिने सुन्दर हिमश्रृंखलाले पर्यटकहरू मोहित भएको पाउँछु।’
घना जंगलसहितको चुरे पर्वतमा रहेको सोमेश्वरगढी चरा अवलोकनका लागि पनि प्रख्यात मानिन्छ।
गढी पुग्ने बाटोको छेउमा ढुंगाका मूर्तिहरू देख्न सकिन्छ। ती मूर्ति २०७६ सालमा गरिएको प्रस्तर मूर्ति कार्यशालामा देशका चर्चित मूर्तिकारहरूले कुँदेका हुन्। ती मूर्तिले पैदलयात्रा गर्ने दर्शकलाई मोहित बनाउँछन्।
‘धार्मिक र ऐतिहासिक महत्व बोकेको यो गढीलाई विकास र प्रचार गरेर संसारका सामु चिनाउने रहर हामीलाई छ, तर हामीसँग बजेट छैन,’ मेयर महतोले भनिन्, ‘हामी एकातिर सीमाना, अर्कोतिर राष्ट्रिय निकुञ्जको चपेटामा छौं, खोलाले दिने दुःख त छँदैछ। हामीले सबैलाई संरक्षण गर्नुपर्ने भएकाले राज्यले आफ्नो दायित्व सम्झेर यस क्षेत्रको विकासका लागि विशेष महत्व दिएर हेर्नुपर्छ जस्तो लाग्छ।’
उनले प्रदेश र संघीय सरकारले माडीलाई आफ्नो पहुँचभन्दा बाहिर राखेर हेर्ने गरेकाले विकासमा पछि पर्दै आएको गुनासो गरिन्।
पर्यटन विज्ञ रहेका मैयाँदेवी कन्या कलेजका सहप्राध्यापक डा.विश्वराज सुवेदीले विस्तृत योजना नबनाई पर्यटन गन्तव्य घोषणा गर्दा विकास हुन नसकेको बताए।
उनले सोमेश्वरगढी रणनीतिक महत्वको क्षेत्र भए पनि संघीय सरकारले बिना योजना गन्तव्य घोषणामात्रै गरेको बताए।
‘हाल कालिका मन्दिर रहेको ठाउँभन्दा १० मिटर भित्र गढीको भग्नावशेष छ भनिन्छ। हामीले त्यो उत्खनन् गर्नुपर्यो भनेको २०६२ सालतिरबाटै हो तर पुरातत्व विभागले त्यसतर्फ ध्यान दिएको छैन। संरचना निर्माणमा कुनै काम भएको देखिँदैन यसै गन्तव्य भनेर घोषणा गरेर पर्यटक जाँदैनन्,’ सुवेदी भन्छन्, ‘विस्तृत अध्ययन गरेर योजना बनाएपछि घोषणा गर्ने र कार्यान्वयनमा लाने सँगै गर्नुपर्ने हो।’
सुवेदीले सोमेश्वर कालिका मन्दिर भारतीयहरूको आस्थाको केन्द्रका रूपमा रहेकाले नेपाल घुम्न आउने भारतीय पर्यटकलाई आकर्षित गर्नेगरी योजना बनाउनुपर्ने बताए।
साथै सोमेश्वरलाई माडी नगरपालिकामै पर्ने वाल्मिकी आश्रम, वैकुण्ठ ताल लगायतका गन्तव्यसँग जोडेर विकास तथा प्रचार गर्नुपर्ने बताए।
उनले मन्त्रालयले सय गन्तव्यमध्ये धेरै पूर्वतयारी बिना राजनीतिक पहुँचका आधारमा तोकेको बताए।
‘विज्ञहरूको राय बिना मनलाग्दी योजना बनाउने, गन्तव्य तोक्ने तर बजेटमा निरन्तरता नदिने, स्थानीय तहलाई स्वामित्व नदिनेजस्ता कारणले सय गन्तव्य प्रचारप्रसारमा मात्रै केन्द्रित बन्यो,’ सुवेदीले भने, ‘तोकिएका पर्यटन गन्तव्यहरूलाई जुन किसिमले विकास गर्नुपर्ने थियो त्यो हुन सकेन। कतिपय ठाउँमा त पहिलो वर्षका लागि छुट्टाइएको बजेटको पनि राम्रो उपयोग हुन सकेन।’
सय गन्तव्यमा चितवनको बीस हजारी ताल र पटिहानी पर्यटकीय क्षेत्र पनि परेका थिए। बागमती प्रदेश सरकारले ल्याएको एक जिल्ला एक पर्यटकीय गन्तव्यमा चितवनको मेघौली परेको थियो। संघीय सरकारले सय गन्तव्यमा पारेको बीस हजारी तालमा गन्तव्य घोषणापछि कुनै प्रगति भएको देखिँदैन। यो तालमा सुरूआतमा आएको बजेट पूरै खर्च हुनै सकेन। त्यसपछि उक्त कार्यक्रमअन्तर्गत बजेट आएको छैन।
पटिहानी क्षेत्रमा भने घोषणा भएसँगै प्राप्त भएको एक करोड रुपैयाँले ‘अम्रेला स्ट्रीट’ निर्माण गरियो।
भरतपुर महानगरपालिकाको वडा नम्बर २२ का वडाध्यक्ष विष्णु महतोले अम्रेला स्ट्रिट सञ्चालनमा आएसँगै पटिहानीमा आन्तरिक पर्यटकको उपस्थिति बढेको बताए।
‘संघीय सरकारले सुरुमा उक्त बजेट दियो, पटिहानीको प्रचारमा सघायो पछि हामीले थप कार्यक्रम र बजेटका लागि संघीय र प्रदेश सरकारसँग कुरा राख्यौं। अन्य योजनाहरू पनि थप हुँदै गए,’ महतोले भने, ‘स्थानीयबासी र जनप्रतिनिधि सक्रिय हुँदा पर्यटन विकासका योजनाहरू थपिँदै गएका छन्।’
महतोले सय गन्तव्यमा परेसँगै पटिहानीमा प्रदेश सरकारको बजेटमा पटिहानी ईको पार्क, ह्याण्डीक्राफ्ट एक्जिविसन सेन्टर, खेल पर्यटन विकासका लागि १२ करोड रुपैयाँ लागतमा कवर्डहल निर्माणको योजनाहरू परेको बताए। साथै यस क्षेत्रमा निजी क्षेत्रको आकर्षण पनि बढेको उनले बताए।
‘यहाँको प्रचारप्रसार बढ्दै गएपछि निजी क्षेत्रबाट ठूलो लगानी थपिएको छ, होटल, रेष्टुरेन्टहरू खुल्नेक्रम बढिरहेको छ,’ महतोले भने।