बाटुलेचौरकी मनीषा भट्टराईको मोबाइलमा टिकटक खोल्यो कि खुमैडाँडाको भिडिओ आइहाल्थ्यो। खुमैडाँडामा पुगेका मानिसहरूले गजब–गजबका भिडिओ र फोटो राखेर टिकटक बनाउँदै पोस्ट गरिरहेका थिए।
मनीषाले पनि मन थाम्न सकिनन्। साथीहरूसँग सल्लाह गरिन् र गत हप्ता पदयात्रामा निस्किन्। शुक्रबार पोखराबाट सात जना साथीहरू समुद्री सतहबाट तीन हजार २४५ मिटर उचाइमा रहेको खुमैडाँडा पुगे।
मनीषा साथीहरूसँगै शनिबार बिहानै तीन हजार ६८२ मिटरको कोर्चाङ चढिन्। कोर्चाङ भर्खर परेको हिउँले ढाकिएको थियो। साथीहरूसँग रमाउँदै हिउँ खेलिन्।
उनले पनि टिकटकका लागि भिडिओ र फोटो र खिचिन्।
‘टिकटकमा भिडिओ देखेपछि साथीहरू मिलेर पदयात्रामा गयौँ,’ उनले भनिन्, ‘टिकटकमा देखेजस्तै मनमोहक ठाउँ रहेछ।’
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Social/shova/machhapuche%206.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Social/shova/machhapuchhre%205.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Social/shova/machhapuchhre%207.jpg)
कुनै बेला विदेशी पर्यटकहरूमात्र चुपचाप क्याम्पिङ जाने खुमैडाँडामा अहिले नेपालीहरूको बजार लाग्ने गरेको छ। छोटो भिडिओ बनाएर साझा गर्न सकिने सामाजिक सञ्जाल टिकटकमा कास्कीको खुमैडाँडा भाइरल छ।
टिकटकमा खुमैडाँडाको रोमाञ्चक भिडिओ देखेर देशका विभिन्न ठाउँका मानिसहरू खुमैडाँडा चढिरहेका छन्। उनीहरूले पनि टिकटक भिडिओ बनाएर पोस्ट गरिरहेका छन्।
खुमैडाँडा चढ्दाचढ्दै देखिने अगाडि उभिएको माछापुच्छे«, हिमालबाट उदाएर हिमालबाटै ओझेल पर्ने सूर्यका रंगीन प्रकाश, दक्षिणतर्फ देखिने पोखरा बजार, बादल र हिमालले आगन्तुकहरूको मन जितिरहेको छ।
नेपाली पदयात्रीको भिड बढ्न थालेपछि व्यवसायीहरू पनि आकर्षित भएका छन्।
तीमध्ये एक हुन् पर्यटक गाइड नारायण गुरुङ।
नेपाली पर्यटकको ताँती लाग्न थालेपछि उनको मनमा व्यवसायको सोच आयो। उनले साथीहरूसँग मिलेर पदमार्गको हिलेखर्क र खुमैडाँडामा होटल खोलेका छन्।
उनका अनुसार गत दसैँदेखि खुमैडाँडामा नेपाली पदयात्रीको संख्या बढ्न थालेको हो। त्यसअघि थोरैमात्र नेपाली र विदेशी पुग्थे।
‘उहिल्यै यो पदमार्गमा विदेशी क्याम्पिङ आउँथे। मर्दी हिमाल चढ्न पनि यही बाटो जान्थे,’ उनले भने, ‘अहिले नेपाली पदयात्रीको संख्या बढेको छ। विदेशी कम छन्।’
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Social/shova/machhapurchre1.jpg)
सामाजिक सञ्जालमा र विभिन्न सञ्चारमाध्यममा छाएका समाचारले खुमैडाँडालाई भाइरल बनाएको गुरुङको भनाइ छ।
पर्यटकका सहयोगी बनेर पर्यटन क्षेत्रमा लागेका गुरुङले गाइडका रूपमा १६ वर्ष बिताए। उनी सोही पदमार्गमा विदेशीको क्याम्पिङ जान्थे।
‘विदेशी पर्यटक २० जना क्याम्पिङ आउँदा ४० जना नेपालीले रोजगारी पाउँथे,’ उनले भने, ‘बस्ने, खानेदेखि सबै बन्दोबस्तका सामग्री बोकेर जानुपर्ने भएकाले धेरै खर्च गर्न सक्ने पर्यटक आउँथे।’
अहिले होटल खुलेपछि क्याम्पिङ पर्यटक छैनन्। खुमैडाँडा जान पोखराबाट माछापुच्छ्रे गाउँपालिकाको सरिपाखासम्म जिप जान्छ।
सरीपाखाबाट टुबुडाँडा–हिलेखर्क, देउराली हुँदै खुमैडाँडा पुगिन्छ।
पर्यटन व्यवसायी गुरुङका अनुसार उक्त पदमार्ग पोखराबाट दुई दिनमा पनि पूरा गर्न सकिन्छ। पोखराबाट बिहानै हिँड्दा पहिलो दिनमै खुमैडाँडा पुग्न सकिन्छ। त्यहाँबाट दोस्रो दिन बिहान चार बजे उठेर सूर्योदय हेर्न कोर्चाङ पुग्न सकिन्छ। कोर्चाङबाट फर्केर खुमैडाँडामा खाना खाएर बेलुकासम्ममा पोखरा फर्किन सकिन्छ।
यसरी दुई दिनमा यात्रा पूरा गर्न अलमल नगरी हिँड्नुपर्छ।
गुरुङ भन्छन्, ‘दुई दिनमा यात्रा पूरा गर्न एक दिनमा आठ–नौ घण्टा कस्सिएर हिँड्नुपर्छ। दुई रात तीन दिनको यात्रा सजिलो हुन्छ।’
पोखराबाट हिँडेपछि पहिलो बास हिलेखर्कमा, दोस्रो बास खुमैडाँडामा र तेस्रो दिन कोर्चाङ पुगेर पोखरा फर्किन सहज हुन्छ। उनका अनुसार ‘दुई रात तीन दिन’ को पदयात्रामा पाँच हजार रुपैयाँसम्मको प्याकेज पाइन्छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Social/shova/machhapuchre3.jpg)
खुमैडाँडा पदमार्गमा अहिले दैनिक पाँच सय जनासम्म पदयात्री पुग्ने गरेका छन्। होटल अग्रिम बुकिङ गर्न गुरुङको सुझाव छ।
‘पर्यटकको चाप बढेको छ। होटल खुल्दैछन्। पहिले नै बुकिङ नगर्दा समस्या पर्न सक्छ,’ उनले भने।
खुमैडाँडा पदयात्रामा लालीगुराँसको घना जंगलको बाटो हिँड्नुपर्छ। जंगलका अनेकन फूलहरूले पदमार्ग सुशोभित बनाएको छ।
हिमाली क्षेत्रमा पाइने घोरल, मृग, कालिज, मुनाल, डाँफे लगायतका पशुपंक्षी देखिन्छन्। हिलेखर्कमा नेपालमा मात्र पाइने काँडे भ्याकुर चरा देख्न सकिन्छ।
पदमार्गमा यात्री बढेपछि एक वर्षयता मात्र स्थानीय व्यवसायीले होटल खोल्न थालेका हुन्। ।
त्यसअघि ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले पदमार्गमा १२ वटा धर्मशाला बनाइदिएको थियो। क्याम्पिङ जाने पर्यटकहरू तिनै धर्मशालामा बस्ने गरेको गुरुङले बताए।
यस पदमार्गमा आउने विदेशीहरू खुमैडाँडाबाट केही घण्टाको यात्रामा पुगिने पिपर ताल हेर्न पनि जाने गरेका छन्। पिपर तालमा हिमाली भेगमा पाइने झारल, घोरल, चितुवा, मृग, डाँफे, मुनाल लगायत पशुपन्छीले पानी खाएको दृश्य देख्न पाइन्छ।
पिपर ताल पुग्ने नेपालीहरू भने थोरै हुन्छन्।
छोटो तर सुन्दर पदमार्गका रूपमा स्थापित भइरहेको नयाँ गन्तव्य खुमैडाँडा व्यवस्थित बनाउन स्थानीय युवाहरूले ‘ग्रेट माछापुच्छ्रे ट्रेक’ नाममा काम गर्दै छन्।
एक जना व्यवसायी सुरेश सुनामका अनुसार घाचोकका युवाहरूले एउटा समिति गठन गरेर पदमार्गमा प्रबर्द्धनको काम गरिरहेका छन्।
‘हामीले खुमैडाँडा पदमार्ग व्यवस्थित बनाउन समिति नै गठन गरेका छौँ। समितिले जथाभावी होटल खोल्न दिँदैन,’ उनले भने, ‘घाचोकका सय जनाभन्दा धेरै युवाहरू समितिमा आबद्ध छन्। उनीहरूको सामूहिक लगानीमा होटलहरू खुल्दैछन्।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने उक्त पदमार्ग नयाँ भएकाले व्यवस्थित गर्न बाँकी रहेको सुनामले बताए। पदमार्गका अधिकांश ठाउँमा खानेपानीको भने अभाव छ।
‘हामीले खुमैडाँडामा खच्चडमा बोकाएर पानी लैजानुपर्छ। सबैभन्दा पहिला पानीको समस्या समाधान हुन जरुरी छ,’ उनले भने।
खुमैडाँडा पदमार्गमा पर्यटकको भिड बढे पनि एक्याप लगायतका संस्थाले हालसम्म वास्ता नगरेको सुनामको गुनासो छ।
भन्छन्, ‘खुमैडाँडामा अहिलेको पर्यटक संख्यालाई निरन्तरता दिन पर्यटनसँग सम्बन्धित सबै संस्थाहरूले साथ दिनुपर्छ।’
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Social/shova/man%20%281%29.jpg)
मानव बस्तीभन्दा माथि रहेका संरक्षित क्षेत्रमा खुलेका होटल, चियापसल लगायतले नियामक निकायबाट अनुमति लिएका छैनन्। व्यवसायीले कुनै निकायलाई कर पनि तिरेका छैनन्।
पर्यटन व्यवसायी गुरुङले एक्यापले होटल चलाउँदा जथाभावी नगर्न मात्र भनेको बताए।
‘एक्यापले जंगल र पशुपन्छीलाई असर नपर्ने गरी होटल चलाउन भनेको छ,’ उनले भने, ‘हामीले सकेसम्म राम्रो गरेका छौँ।’
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले संरक्षित क्षेत्रभित्र चलेका होटल लगायतका व्यवसायले वैधानिकता नपाएको बताए।
उनले भने, ‘हाम्रो गाउँपालिकाभित्र अन्नपूर्ण क्षेत्रका व्यवसाय वैधानिक छैनन्। गाउँपालिकाले पर्यटनबाट लाभ लिनसकेको छैन।’
संरक्षित क्षेत्रभित्रका व्यवसाय वातावरणअनुकूल बनाएर वैधानिकता दिन र करको दायरामा ल्याउन आफूले पहल गरिरहेको उनले बताए।