गएको वर्ष विश्व वन्यजन्तु सप्ताह मनाउन मेघौली पुग्दा नेचर-गाइड मनेष लिम्बूले अति लोभलाग्ने गरी 'गोल्डेन पुल' को बखान गरेका थिए।
चितवन राष्ट्रिय निकुञ्जको घना जंगल, हराभरा चुरे पहाड हुँदै घन्टौंको पैदलयात्रापछि पुगिने एउटा सुन्दर पोखरीको बखान थियो त्यो। चुरेबाट रसाएर झरेको पानीको छहरो, छहरो खसेपछि बनेको रहेछ पोखरी।
'जंगलको बीचमा रहेको तालको रङ ठ्याक्कै सुन जस्तो छ। पानी असाध्यै चिसो। गर्मी याममा पौडिँदा त स्वर्गजस्तै लाग्ने ठाउँ रहेछ,' उनी यतिमा रोकिएनन्।
चराचुरूंगीको चिरबिर, चुरेबाट देखिने चितवन उपत्यकाको दृष्य देखेर जो कोही मोहित हुन्छन्। विदेशी त भुतुक्कै हुन्छन्।
हुन त पर्यटक गाइडको विशेषता नै यही हो। उनीहरूसँग गन्तव्यलाई आकर्षक ढंगले वर्णन गर्ने क्षमता हुन्छ। मनेष त मेघौली-घडगाई क्षेत्रका नेचर-गाइडहरूका पनि अध्यक्ष। उनीसँग वर्षौंदेखि पर्यटकलाई चितवन निकुञ्ज घुमाएको अनुभव छ।
मनेषको बखान सुन्दासुन्दै मैले चुरे चढेको, गोल्डेन पुलमा पौडिएको कल्पना गर्न भ्याइसकेको थिएँ।
उनलाई रोकेर मैले सोधेँ—त्यो ठाउँमा आजै पुग्न सम्भव छ?
मनेषले जवाफ दिए— यो भन्नेबितिक्कै तुरून्तै पुग्न सकिने ठाउँ होइन! यहाँ पुग्न धेरै तयारी चाहिन्छ। निकुञ्ज प्रशासन, त्यहाँ रहेका नेपाली सेनाको अनुमति लिनुपर्छ। बाघ, गैंडा, जंगली हात्तीहरूको बासस्थान क्षेत्र भएकाले तयारी राम्रो गरेर जानुपर्छ।
एक वर्षपछि पत्रकार बद्रि अर्यालको फोन आयो।
मनेषले गोल्डेन पुल जाने योजना बनाइरहेका रहेछन्। जाने टिममा मेरो नाम पनि लेखेका रहेछन्। पक्का गर्न बद्रिले फोन गरेका थिए। उनको वाक्य पूरा हुन नपाउँदै मैले जाने निर्णय सुनाइदिएँ।
त्यो दिन वैशाख १८, मेरो जन्मदिन थियो। मौलाकाली केबलकार, चौकीडाँडाको प्याराग्लाइडिङको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' अघिल्लो दिन नै चितवन आएका थिए। मलाई दिनभर कामको चटारो। तैपनि भोलि तयारी गरेर पर्सि जान भ्याइहाल्छु भन्ने थियो।
१९ गते साँझ एउटा अप्रत्याशित खबर आइपुग्यो। पोल्ट्री क्षेत्रमा नाम चलेका व्यवसायी शंकर कँडेलले आत्महत्या गरेछन्। उनको मृत्युको खबर सामाजिक सञ्जालमा द्रुत गतिमा फैलिरहेको थियो।
'मेरो यात्रा रोकौं कि?'
दोमनका बीच मैले २० गते बिहान ५ बजे गोल्डेन पुलका लागि निस्किने निधो गरेँ।
मेघौलीमा मनेष, लामो समय 'टाइगर टप्स जंगल लज' मा काम गरेका गाइड वीरबहादुर कुमाल, स्थानीय विष्णु भुर्तेल हामीलाई पर्खिरहेका थिए। भरतपुरबाट म, पत्रकारद्वय प्रविन बराल, बद्रि अर्याल र साथी भुवन पौडेल थियौं। जंगलको यात्राका लागि आवश्यक पर्ने सामान आफूसँग भएको निधो गरेपछि हामी 'बाराही जंगल लज' पुग्यौं।
बाराही लज राप्ती नदीसँग जोडिएको छ। काठको डुंगा चढेर पारि पुगेपछि बाराही लजका अपरेसन म्यानेजर सुवास गुरूङले सफारी गाडी तयार पारे। हामी त्यसमा चढेर टाइगर टप्स जंगल लजभन्दा अलि पर धाक्रे खोलासम्म पुग्यौं।
'ल, यहाँभन्दा उता गाडी जाँदैन। अब तपाईंहरू बिस्तारै जानु होला है त! फर्किएपछि खबर गर्नुहोला, म लिन आइपुग्छु,' यति भन्दै हामीलाई बिदा गरेर सुवास फर्किए।
त्यसपछि सुरू भयो 'मिसन गोल्डेन पुल' को खास यात्रा।
यात्राको सुरूमै गाइड वीरबहादुरले खोला किनारको बालुवातिर देखाउँदै ध्यानाकर्षण गराए। त्यहाँ अघिल्तिर साना चार वटा र पछाडि ठूलो एउटा पानको पात आकृतिको डोब थियो। त्यो बाघको पाइला थियो।
'यो ताजा पाइला हो। यहाँ केही समयअघि मात्रै बाघको मुभमेन्ट भएको छ। एकदम होसियार हुनुपर्छ है,' उनले हामीलाई सतर्क गराइहाले।
वीरबहादुरले टाइगर टप्स जंगल लजमार्फत चितवन निकुञ्जको संरक्षणको पाटो सम्हाल्दै आएका डा. चार्ल्स म्यागडुगलको सहयोगी बनेर धेरै वर्ष काम गरेका थिए। उनी पाइला, रौं हेरेर वन्यजन्तुको आकार र उमेर समेत अनुमान गर्छन्।
हामी वीरबहादुर र मनेषलाई पछ्याउन थाल्यौं। उनीहरू हामीलाई जंगली हात्ती, गौरी गाई (गौर)का गोबर देखाउँथे। हामी ध्यान दिएर सुन्थ्यौं। खोलैखोला अघि बढ्दै गर्दा एउटा पहरो भेटियो। सामान्यतया पहरोको पत्थर छुँदा खस्रो लाग्छ। यो पहरोको पत्थर भने चिप्लो थियो। गैंडाले चाटेर पहरोको पत्थर चिप्लै बनाएको रहेछ।
'यो पत्थर नुनिलो छ। गैंडाहरू नुनका लागि चाट्न आउँछन् यहाँ। चाट्दाचाट्दै पहरो नै यस्तो बनाइसके,' वीरबहादुरले सुनाए।
ठाउँठाउँमा विश्राम गर्दै हामी अघि बढ्यौं। खोला छाडेर चुरे चढ्ने बेलामा ब्रेकफास्ट गर्यौं।
अघिसम्म खोलाको कलकलले बाघ, गैंडाको डर भुलाएको थियो। अब चराको चिरबिर मेरो डर भगाउने साथी बन्न थाल्यो। रंगीचंगी चराको चिरबिर सुन्दै चुरेको ठाडो उकालो उक्लिँदै थियौं हामी। ठाडै उकालोमा पनि जंगली हात्तीको पाइला र गोबर भेटिन छाडेन। गोबर देख्यो कि मेरो दिमागमा नाम कहलिएका हात्तीहरू; ध्रुवे र रोनाल्डो खेल्न थालिहाल्थे।
बाँदर पनि लड्लाजस्तो भिरको बाटो उक्लिँदा मुटुको चाल यसै बढेको थियो, ध्रुवेको यादले थप बढायो। उसले बेलाबेलामा गरेका हंगामा एकएक गरी मनमा खेल्न थाले। राज्य नै उसको पछि लाग्दा पनि ज्यान जोगाउन सफल भएको ध्रुवेको रजगज चितवन निकुञ्जमा अझै उस्तै छ। ठिंग अगाडि आइलाग्यो भने म विचरो के गर्न सकूँला?
पाइला-पाइलामा डर छ, भर त आफ्नै उत्साहको मात्रै हो!
यस्तैयस्तै कुरा खेलाउँदै अघि बढ्नुको विकल्प मसँग थिएन।
नेपालमा डढेलो यसपालि अहिलसम्मकै बढी लाग्यो। यसले निकुञ्जभित्रको चुरेलाई पनि छाडेनछ। आगोले साना बुट्यान त केही बाँकी थिएनन्। ढलेका रूखहरू खरानी भएका थिए। धन्न ठडिएका अग्ला र ठूला रूखहरूले चुरेलाई जीवन्त बनाइरहेका छन्।
केही घन्टा उक्लिएपछि अझै अप्ठ्यारो उकालो आइपुग्यो। त्यहाँ पाइला अड्याउने ठाउँसम्म थिएन। एक मात्र सहारा थियो बाबियोको ठुटो।
यस्तै ठाउँमा काम लाग्छ भनेर विष्णु भुर्तेलले लामो डोरी पोको पारेर झोलामा राखेका थिए। उनले बाबियोको ठुटोमा झुन्डिएर एउटा रूखलाई समाउन भ्याए। झोलाबाट डोरी निकालेर रूखमा बाँधे। अर्को छेउमा समातेर सबै जना पालैपालो उक्लियौं।
भिरको थाप्लो असाध्यै साँघुरो रहेछ। मुश्किलले एक फुट चौडाइको होला। दुवैतर्फ छंगाछुर भिर। उभिँदा पनि कहाली लाग्ने। साँघुरो थाप्लोको लम्बाई तीन–चार मिटर जति रहेछ। यहाँ जानेहरूले यसलाई 'बिरालो नाक डाँडो' भन्दा रहेछन्। झट्ट हेर्दा बिरालाको नाकजस्तै देखिने भएकाले यो नाम राखिएको रहेछ।
बिरालो नाक पार गर्न कसैलाई चार हात खुट्टा टेक्नुपर्यो। कोही घुँडाले टेकेर पार गर्न सफल भए। मैले सबैभन्दा अगाडि पार गरेका गाइड वीरबहादुरले लम्काएको लौरोलाई सहारा बनाएर पार गरेँ। बिरालो नाकमा सामान्य गडबडी मात्रै भयो भने पनि ठूलो समस्या हुनेवाला थियो। यो पार गर्दा हामीलाई ठूलै उपलब्धि हातलागे जस्तो भयो।
बिरालो नाकको छेवैमा मनेषले जंगली हात्तीको गोबर देखाए। ओहो, यहाँ पनि पुग्ने रहेछ जंगली हात्ती!
'साँघुरो बाटो देखेपछि ऊ फर्किएको हुनसक्छ। गोबर हेर्दा दुई–चार दिनअघिको जस्तो छ। अझै यहीँ आसपास पनि हुन सक्छ है,' उनले हामीलाई सतर्क गराए।
चुरेमा जताततै वन्यजन्तु रहेको प्रमाण देखिए पनि उनीहरूसँग हाम्रो भेट भएन। नहुनुको एउटा कारण छ। त्यो हो डढेलो। जब डाँडातिर डढेलो लागेर घाँस, बुट्यान खरानी भयो, खानाको खोजीमा हात्ती, भालु, गौरहरू तल्लो क्षेत्रमा झर्न थाले।
यो डाँडोबाट चितवन उपत्यकाको धेरै ठाउँ देखिँदो रहेछ। माडी, मेघौली, पश्चिम चितवनका विभिन्न बस्तीदेखि नवलपुर, नवलपरासीका बस्ती, डाँडा। नागबेली आकारले बगेको नारायणी नदी र जंगललाई नछोडी अघि बढिरहेको राप्ती। बादल लागेकाले राम्रो तस्बिर खिच्न भने पाइएन।
एकछिन मनोरम दृष्यमा रमाएर हामी ओरालो लाग्न थाल्यौं। भर्खरै सकिनसकी चढेको चुरेको अर्को फेदीतर्फ जाँदै थियौं हामी। त्यहाँ हामीलाई गोल्डेन पुल पर्खिरहेको थियो।
झरनाको आवाज परैबाट सुनिन थाल्यो। थोरै अघिसम्म बढेको धड्कन बिस्तारै घट्दै गयो। थकानले गलेका साथीका अनुहारमा खुसीका रङहरू देखिन थाले। मेरो अनुहारमा पनि साथीहरूले त्यस्तै रङ देखे होला!
परबाट देखिएको तलाउतिर औंला सोझ्याउँदै मनेषले भने, 'ल देखियो गोल्डेन पुल, ऊ त्याँ...।'
केहीबेरमा हामी जंगलको अन्तरकुन्तर हुँदै बगेर आएको गोल्डेन पुल खोलामा पुग्यौं। हामी उभिएको ठाउँबाट खोलो झरना बनेर खसेको थियो। लेउमाथि लेउजस्तै हरियो रङमा देखिएको पानी तल खसेपछि सुनजस्तै देखिन्थ्यो। हाम्रो गन्तव्य अब करिब ३५ मिटर मात्रै तल थियो। तर जाने बाटो थिएन। न त हामीसँग झर्नासँगै हामफालेर पोखरीमा पुग्ने आँट थियो।
हाम्रो एउटै मात्र सहारा थियो त्यही डोरी।
विष्णुले खोला छेउको एउटा रूखमा डोरी बाँधे। हामी पालैपालो झुन्डिँदै तल झर्यौं। अन्ततः हामी पुग्यौं आफ्नो गन्तव्यमा।
झरनाबाट ढुंगामा झरेको कञ्चन पानी। सुनजस्तो रङका ढुंगा र त्यसमाथि बनेको सुन्दर पोखरी।
मैले पोखरीको पानीमा हात डुबाएँ। ओहो, कति चिसो!
गर्मीले पसिना बगिरहेको शरीरमा एक्कासि शितल अनुभूति भयो।
साथीहरूलाई पौडिन हतार भइसकेको थियो। मैले कपडा खोल्न सुरू गर्दा केही साथीहरू पौडिएर झरनासम्म पुगिसकेका थिए। मलाई भने पौडी खेल्न आउँदैन। पोखरीको छेउमा डुबेर आनन्दानुभूति गरिरहेँ।
सात जनामध्ये प्रविनलाई पनि राम्ररी पौडी खेल्न आउँदैन थियो। प्रयास गर्दा उनी पोखरीमा डुबे। बद्रिले तुरून्तै उनलाई उतार्न भ्याए।
मेघौलीमै हुर्केबढेका, चितवन निकुञ्जको जंगल, खोलासँग उठबस गरेका विष्णु जुगाडमा धेरै तगडा रहेछन्। उनले ढलेको रूख, वन केराको बोटलाई जोडेर कामचलाउ नाउ नै तयार पारे। यसलाई जोड्न पनि त्यही डोरी काम लाग्यो। हामी त्यसैमा झुन्डिएर झरनासम्म पुग्यौं। झुन्डिएर निकैबेर रमायौं। झरनामा बच्चाझैं उफ्रिएर रमाइलो गर्यौं।
मौसम बिग्रिने संकेत देखिएपछि गाइड वीरबहादुरले हतारो गरे। आकाश गड्गडाउन थालेको थियो। पानीका छिटा खस्न थालेका थिए। हामी भोकाएका पनि थियौं। पोखरीको छेउमा बसेर खाना खाइयो। पौने १२ बजे गोल्डेन पुल पुगेका हामी २ बजे त्यहाँबाट फर्कियौं।
आउँदाको बाटो सम्झिँदा मेरो शरीर जिरिंग भएको थियो। लगत्तै मनेषले मेरो शरीरलाई खुसीको सञ्चार गर्ने खालको जानकारी सुनाए।
'हामी अघि आएको बाटो फर्किँदै थिएनौं। अर्कोबाट फर्किन्छौं। अब यो खोलोलाई नछोडिकन अघि बढ्ने हो। आधा बाटो हिँडेपछि यो खोलो सुरूङ खोलासँग मिसिन्छ। त्योभन्दा अघि बढेपछि निकुञ्ज सुरक्षार्थ राखिएको नेपाली सेनाको सुरूङ खोला पोष्ट आउँछ। त्यहाँबाट पौने एक घन्टाजति हिँडेपछि टाइगर टप्स जंगल लज पुगिन्छ। त्यहाँबाट हामी गाडी चढेर मेघौली पुग्छौं,' उनले भने।
बाँदर लड्नेजस्तो भिर, बिरालोको नाकजस्तो थाप्लो छिचोलेर आएको मलाई अबको बाटो असाध्यै सजिलो लाग्यो। पहिले पानी परेको थिएन, फर्किँदा पर्न थाल्यो। रूझ्दै हिँड्नुपर्ने भयो, गाह्रो यत्ति हो।
खोलैखोला अघि बढ्दा कतै गोलीगाँठासम्म त कतै घुँडासम्म डुबेको थियो। करिब डेढ घन्टा हिँडेपछि खोलो साँघुरिन थाल्यो। दुवैतर्फ छंगाछुर भिर र पहरोको बीचमा करिब डेढ मिटर चौडाको खोलो थियो।
पानी घुँडाभन्दा माथि आउन थालेपछि अघि बढ्न डर लाग्यो। गाइडहरूलाई यहाँ खोलाको केही मिटर क्षेत्र पौडिएर पार गर्नुपर्छ भन्ने थाहा रहेछ। तर मलाई त्यो कुराको मेसो थिएन। पौडी खेल्न जान्नेहरू पानीको गहिराइ नाप्न खोलामा पसे। उनीहरू डुबेर ठडाएको हात पनि पानी बाहिर देखिएन। यति गहिरो खोलोलाई पार गर्न म पौडी खेल्न नजान्ने मान्छेले आँट गर्ने सम्भावनै थिएन। जान्नेहरू पनि पार लाग्नेमा ढुक्क थिएनन्।
यस्तो अवस्थामा जुगाड गर्ने त उनै विष्णु हुन्। उनी वन केरा खोज्न थाले। डोरीले केराको बोटलाई बेरेर दही मोथेझैं डोरी तानेर चार–पाँच वटा बोट केरा ढालियो। खोलो तर्न त्यसलाई डोरीले बाँधेर साथीहरू डुंगा बनाउने तयारी गर्दै थिए।
मलाई भने त्यो डुंगाले मेरो पार लगाउँछ भन्ने भर लागेन। आकाशबाट पानी दर्किने क्रम बढिरहेको थियो। यसले खोलोलाई थप बढाउनेवाला थियो।
केराको बोट बीचमा भाँचियो भने म पौडिन नजान्नेको बिजोगै हुन्छ। मलाई साथीहरूले उतारेछन् भने पनि मेरो मोबाइल, स्मार्टवाच र अरू सामान त स्वाहा नै हुन्छ। बरू जसोतसो भिर छिचोल्न पाए यो पौडिने झन्झटबाट मुक्ति पाइन्थ्यो। सामानहरू पनि बच्थ्यो। यही सोच्दै म भिरतिर ठाउँ खोज्न थालेँ।
अलि नजिक पुगेर हेर्दा ठाउँठाउँमा रूखका जराहरू देखिए। म ती जरामा झुन्डिँदै भिरमाथि चढ्न थालेँ। साथीहरू खोलाबाट मलाई बोलाइरहेका थिए। म भने भिरको बाटो कहिले जरो, कहिले बुट्यान र बाबियो समात्दै अघि बढेँ। ठाडो भिर पार गर्न सफल भएँ।
अब तेर्सिन मिल्ने झाडी आइपुग्यो। झाडी पन्छाउँदै अघि बढेँ। यतिखेरसम्म अरू साथीहरूसँग मेरो सम्पर्क टुटिसकेको थियो। म कराएको उनीहरूले सुनेका थिएनन्। उनीहरूले पनि बोलाएका रहेछन्, मैले सुनिनँ। म यस्तो ठाउँमा पुगिसकेको थिएँ कि अब त्यहाँबाट फेरि खोलामा झर्ने आँट मसँग थिएन। मभन्दा माथि जंगल थियो, तल पहरो।
बरू जहाँ पुगिन्छ ठीक छ, झाडी पन्छाउँदै अघि बढ्छु भन्ने सोच्दै अघि बढेँ। अचानक मेरो पछाडि केही हिँडेको जस्तो आवाज आयो। मनमा चिसो पस्यो।
बल्ल मलाई याद भयो- ओहो, म चितवन राष्ट्रिय निकुञ्जको घना जंगलभित्र एक्लै हिँडिरहेको छु।
आज बिहान मात्रै मैले भिर, डाँडा, पाखा, उचाइमा पनि जंगली हात्ती पुगेका प्रमाण देखेको थिएँ। यो क्षेत्रमा बाघ, चितुवा प्रशस्तै हुन्छन्, सतर्क हुनुपर्छ है भनेर गाइडहरूले पटकपटक भनेका थिए। त्यो कुरा मलाई यतिखेर बल्ल याद आयो।
उता त डढेलोले सबै खरानी भएको थियो। यता डढेलो लागेको रहेनछ। हरियो झाडीमा त जे पनि लुकेको हुन सक्छ। त्यो कुरा भुलेर म जंगलमा एक्लै भौंतारिइरहेको थिएँ। बिहानको जस्तै खरानीले भरिएको डाँडो होला भन्ने सोचेर म उक्लिहालेँ।
यही सोचेर हिँड्दाहिँड्दै चप्पल पनि चुँडियो। त्यहाँ भुल्ने अवस्था थिएन। दुइटै चप्पल त्यहीँ छाडेर अघि बढेँ।
पछाडिबाट केही हिँडेजस्तो आवाज आए पनि फर्किएर हेर्ने आँट आएन। बरू टेक्ने ठाउँको पर्वाह नगरी पाइला बढाउनतिर लागेँ। पानीले निथ्रुक्क भिजेको शरीर, खाली खुट्टा, मनमा वन्यजन्तुको डर। मेरो दिमागमा 'डिस्कभरी' च्यानलमा हेरेको 'म्यान भर्सेस वाइल्ड' झलझली आइरहेको थियो।
अचानक मेरो कानमा एउटा आवाज आइपुग्यो। कोही मेरो नाम बोलाउँदै थियो। नामै सुनेपछि बल्ल मलाई पछाडि फर्किने साहस आयो। फर्किएर हेर्दा प्रविन र बद्रि मलाई खोज्दै आएका रहेछन्।
'तिमी त साह्रै महसुर रहेछौ! यस्तो भिरबाट उक्लेर, जंगलमा एक्लै हिँड्ने आँट कसरी आउँछ, डर लागेन?,' प्रविनले प्रश्न गरे।
म केही बोलिनँ। डर त मलाई उनीहरू भेट भएपछि पनि लागिरहेको थियो। सायद खोलामा पौडिनभन्दा कम डर मैले भिर उक्लिनमा देखेको थिएँ। तर भिरको बाटो यति धेरै हिँड्नुपर्ला भन्ने लागेको थिएन। करिब दुई सय मिटरको खोलो छल्न हामी एक किलोमिटर भिरको बाटो हिँडिसकेका थियौं। अझै पनि खोलोमा झर्ने ठाउँ पाइएको थिएन।
जंगलमा लटरम्म थाकल फलेका थिए। बद्रि अघिअघि गएर थाकल टिप्न भ्याउँथे। केही हामीलाई पनि दिन्थे। थकाइ लागे पनि यात्रामा तीन जना भएपछि डर कम भएको थियो।
बद्रिले हामीलाई बोलाएर जरायोको सिङ देखाए, 'बाघले खाएर छाडेको जस्तो छ। यो आफैं मरेको त होइन होला।'
उनको कुराले मनमा फेरि चस्को पस्यो। सबैका पाइला छिटो बढ्न थाले। निकैबेर हिँडेपछि डाँडोबाट झरेको एउटा खहरेको खोल्सो भेटियो। हामी त्यो खोल्सोलाई नछोडी तल झर्यौं। अन्ततः खोलो भेटियो।
हामी करिब दुई किलोमिटर पर पुगेका रहेछौं। त्यहाँबाट खोलखोलै फर्किएर सुरूङखोला दोभानमा पुग्न आधा घन्टाभन्दा बढी लाग्यो। त्यहाँ अरू साथी हामीलाई पर्खिरहेका थिए।
'साथीहरू हराए, खोज्न जानुपर्यो भनेर तयारी गर्दै थियौं। धन्न बेलैमा आइपुग्यौ। रात परेपछि जनावरको डर हुन्छ। जंगलमा सकेसम्म साथी छाडेर हिँड्न हुँदैन,' नेचर-गाइड मनेषले सम्झाए।
हामी त्यहाँबाट हिँडेर नेपाली सेनाको सुरूङ खोला पोष्टमा पुग्दा साँझको ६ बजिसकेको थियो। पोष्टमा रहेका सेनाका हवलदारले चिया खान आग्रह गरे। पानीले भिजेर हामी सबै कठ्यांग्रिएका थियौं। चिया पाउँदा नाइँनास्ती गर्ने कुरै भएन।
चिया खाइवरि हामी त्यहाँबाट जंगलैजंगल टाइगर टप्स जंगल लजतर्फ अघि बढ्यौं। पौने एक घन्टाको पैदलयात्रापछि टाइगर टप्सअगाडि पुगियो।
निकुञ्ज स्थापना हुनुभन्दा पहिले स्थापना भएको यो लज २०६९ सालदेखि बन्द छ। बन्द लजको आडैमा रहेको हात्तीसारमा केही हात्ती आहारा खाँदै थिए। एक जना माउते छावाको स्याहार गर्दै थिए। मैले पनि त्यो छावालाई नजिकैबाट नियालेँ।
छुन खोज्दा माउतेले भने, 'योसँग धेरै नजिस्किनु, ध्रुवेको बच्चा हो।'
रोमियो नामको जंगली हात्तीले जन्माएको सान्ड्राकलीले ध्रुवेसँगको संसर्गबाट कैलाशप्रसाद जन्माएकी थिई। चितवन निकुञ्जको कुनै छेउ, कुनो बाँकी छैन होला जहाँ ध्रुवेको करामत नभएको होस्। कतै आतंक मच्चाएर त कतै रासलीला गरेर, उसले आफ्नो दबदबा देखाएकै छ।
झमक्क साँझ पर्यो। हामीलाई लिन बाराही जंगल लजका अपरेसन म्यानेजर सुवास गुरूङ आइसकेका थिए। सफारी जिप चढेर रिउ खोला तर्यौं। फराकिलो घाँसे मैदानमा तीनवटा एकसिंगे गैंडाहरू चरिरहेका रहेछन्। गैंडा देखेपछि गाइडहरू जोस्सिए। तर मलाई उठेर फोटो खिच्ने जाँगर पनि थिएन। थकान र चिसोले ज्वरो आउलाजस्तो भइरहेको थियो।
गाडी चलाएर भरतपुर फर्किने आँट पनि नआएपछि त्यो रात मेघौलीमै थारू होमस्टेमा बस्ने निधो भयो। साथीहरू रमाइलो गर्न थाले। म एउटा सिटामोल खाएर सुतेँ।
गोल्डेन पुल साहसिक पर्यटनको गन्तव्य हुन सक्ने ठाउँ रहेछ।
हुन त चितवन राष्ट्रिय निकुञ्ज नै देशको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो। यो आर्थिक वर्षको नौ महिनामै सवा दुई लाख पर्यटकले चितवन निकुञ्ज भ्रमण गरेका छन्। यहाँ घुम्ने प्रायः पर्यटकको उद्देश्य जंगल, बाघ, गैंडा हेर्ने हुन्छ। यो विशेष गरी निकुञ्जको समथर भूभागमै हुन्छ।
चितवन निकुञ्जको चुरे पहाड क्षेत्रमा पनि पर्यटकलाई लोभ्याउन सक्ने ठाउँहरू छन्। तीमध्येको एक हो गोल्डेन पुल। तर अहिलेको अवस्थामा यहाँसम्म पुग्ने र फर्किने रूट नै छैन। नेचर-गाइडहरूले आफ्नै तरिकाले पर्यटकलाई यहाँसम्म पुर्याउने गरेका छन्।
गोल्डेन पुलका लागि रूटको विकास गर्नसक्ने हो भने यो जंगल-वाकका लागि निकुञ्जभित्रको उपयुक्त गन्तव्य बन्न सक्छ। यसले साहसिक पर्यटनको विकासमा सघाउन सक्छ।
अहिलेको अवस्थामा भने यहाँ पुगेर फर्किनु भगवानकै भरोसामा हो!