पहिलो कुरो त मेरो टाइगर टप्ससँग धेरै पुरानो सम्बन्ध छ। एउटा सम्बन्ध के भने म पहिलो शैक्षिक भ्रमण भनेर कलेजबाट गएको टाइगर टप्स हो, २०३१ सालमा। अर्को सम्बन्ध हामी यहाँ खेतमा काम गर्दाखेरी जहाज साढे २ बजे आउँथ्यो। मेघौलीको जहाज। त्यहाँ आउने भनेका टुरिष्टहरू। सबै टाइगर टप्स जाने हुन्थे। साढे २ बजे आएपछि अब खाजा खाने बेला भयो भन्ने थाहा पाइन्थ्यो। टाइगर टप्ससँग त्यसखालको सम्बन्ध थियो हाम्रो।
केही दिनअघि चितवनको शिवनगरस्थित घरमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगर टप्स होटलसँग जोडिएका किस्सामात्र सुनाएनन्, उनले पर्यटन प्रवर्द्धनका लागि यसलाई खुल्ला गर्नुपर्ने धारणा पनि सुनाए।
‘अरू सुरक्षालाई असर नपर्नेगरी टाइगर टप्सलगायतका केही रिसोर्टहरू खोल्दा नै अब फाइदा हुन्छ। पहिला त चितवनमा जनताहरूलाई पनि एकथरीलाई त्यो चल्न दिन हुँदैन भन्ने थियो। अब त्यो छैन,’ उनले भने, ‘यस विषयमा अब सकरात्मक निर्णय हुन्छ।’
मेघौलीबाट भित्र, चितवन राष्ट्रिय निकुञ्जमा रहेको टाइगर टप्स होटल बन्द भएको ११ वर्षभन्दा बढी भयो। २०६९ सालमा सर्वोच्च अदालतको आदेशबाट टाइगर टप्ससँगै निकुञ्जभित्रका आइल्यान्ड जंगल लज, टेम्पल टाइगर्स लज, सफारी नारायणी, चितवन जंगल लज, मचान वाइल्ड लाइफ रिसोर्ट र गैंडा वाइल्ड लाइफ क्याम्प पनि बन्द भएका थिए।
सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ६ मा टेकेर ती होटलहरू सञ्चालनका लागि स्वीकृति दिएको थियो। यो दफामा निकुञ्जभित्र होटल, रिसोर्ट खोल्नेलगायतका काम सो ऐनको उद्देश्यअनुरूप करार गरी गर्न सक्ने व्यवस्था छ। सरकारले त्यही व्यवस्थालाई टेकेर होटलहरूको म्याद थप्ने गरेको थियो।
२०६६ सालको असार मसान्तमा होटलहरूको म्याद सकिँदै थियो। संरक्षणमा असर पारेको भन्दै म्याद थप नगर्न सरकारमाथि चौतर्फी दबाब पर्यो। त्यो दबाबका कारण करिब ६ महिना सरकारले म्याद थपको निर्णय गर्नै सकेन। पुसमा सरकारले सन् २०११ मा मनाउन लागेको पर्यटन वर्षलाई लक्षित गरेर अन्तिम पटक भन्दै २०६९ असार मसान्तसम्मका लागि म्याद थप गरिदियो। तर यो अवधिमा ती होटलहरू राम्ररी चल्न सकेनन्। निकुञ्ज बाहिरका होटल सञ्चालक, संरक्षणकर्मीदेखि संसदीय समितिकोसमेत दबाब निकुञ्जभित्रका होटलहरुमाथि परिरह्यो। अन्ततः २०६९ सालमा सर्वोच्च अदालतले होटलहरू बन्द गर्ने आदेश नै दियो।
आदेशसँगै विदेशी पाउनाले भरिने गरेका निकुञ्जभित्रका होटलहरू बन्द भए।
ती सात होटलमध्ये टाइगर टप्स पुरानो हो। यो होटल चितवन निकुञ्ज स्थापाना हुनुभन्दा करिब ९ वर्ष पहिले खुलेको हो। सुरूमा यो सामान्य सिकार लजकोरूपमा खुलेको थियो। सन् १९६४ मा अमेरिकी नागरीक टोडी ली वान्ना र हर्व केलीनले टाइगर टप्स हन्टिङ नामको कम्पनी खोलेका थिए। यहाँ चार कोठाको लज थियो। लज सुरू हुनुभन्दा तीन वर्षअघि सन् १९६१ मा बेलायतकी महारानी एलिजाबेथ द्वितीया राजकुमार फिलिपलाई पनि लिएर सिकारका लागि यही क्षेत्रमा पुगेकी थिइन्। उनको भ्रमणलाई लक्षित गरेर मेघौलीमा विमानस्थल नै बनाइएको थियो।
सन् १९७१ मा यो लज पर्यटनका पायोनियर बेलायती नागरिक जिम एडवर्डसले खरिद गरे।
भारत आएको समयमा जिमको भेट नेपालका अधिराजकुमार बसुन्धरा शाहसँग भएछ। सन् १९६२ मा बसुन्धराको निम्तो मान्न जिम नेपाल आएछन्। यहाँको प्राकृतिक सौन्दर्यताले उनी लोभिए। सन् १९६४ मा उनले अमेरिकी वन्यजन्तु इकोलोजिस्ट डा.चार्ल्स (चुक) मेकडुगलसँग मिलेर नेपालकै पहिलो पर्यटन कम्पनी स्थापना गरे। त्यसको नाम थियो नेपाल वाइल्डलाइफ एडभेञ्चर। यसको उद्देश्य पर्यटकलाई नेपालको जंगल घुमाउने थियो।
नेपालमै बसेर पर्यटन व्यवसाय गर्ने निधोगरी काम सुरू गरेका जिमले केही वर्षमा चितवनको जंगलमा खोलिएको हन्टिङ लज असफल भएको खबर सुने। त्यसपछि उनले मेकडुगलसँग मिलेर टाइगर टप्स हन्टिङ लज खरिद गरेका थिए।
जिमले लिएपछि सिकारको प्रयोजनका लागि खोलिएको लज वन्यजन्तु संरक्षणतर्फ मोडियो। संरक्षणकर्मीको पहिचान बनाइसकेका मेकडुगलले संरक्षणको पाटो सम्हाले, जिमले व्यवस्थापनको। जिमलाई भाइ जोनले पनि व्यवसायमा सघाए। उनीहरूले सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना गर्नमा पनि महत्त्वपूर्ण सहयोग गरेका थिए।
सन् १९७४ मा मेकडुगलले विश्वमै पहिलो पटक यहाँ बाघको निगरानी (टाइगर मोनिटरिङ)को लामो अवधिको कार्यक्रम सुरू गरेका थिए। जसले नेपालमा बाघ संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्यो। अहिले पनि नेपाल टाइगर ट्रष्ट नामको संस्था बाघ संरक्षण अभियानमा सक्रिय छ। मेकडुगलकै प्रेरणामा यो संस्थाले काम गरिरहेको छ।
टाइगर टप्सले सन् १९७८ मा चितवन राष्ट्रिय निकुञ्जमा घडियाल प्रजनन् केन्द्र स्थापना गर्न महत्वपूर्ण सहयोग गर्यो। यसले नेपालमा घडियाल गोहीको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। सन् १९८० मा जिम एडवार्डसले प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय कोष (आइटिएनसी) स्थापना गरे। यसले मान्छेका कारण खतरामा परेका वन्यजन्तुलाई जोगाउन तल्लो तहमा पुगेर सहयोग गर्यो।
नेपालमा सिकार पर्यटन सुरू हुँदा अफ्रिकामा पनि सफारी, सिकार पर्यटन चलिरहेको थियो। धनाड्यहरू सिकार खेल्न, घुम्न अफ्रिकाका जंगलहरु पुग्थे। त्यहीँका होटलमा पैसा खर्चिन्थे। चितवनमा टाइगर टप्स खुलेपछि धेरै पैसा खर्च गर्न अफ्रिका जाने पर्यटकहरु नेपाल पनि आउन थाले। संरक्षणमा काम गर्न थालेपछि टाइगर टप्सको चर्चा थप बढ्यो।
जिम विदेशबाट आएका पाउनालाई चितवन निकुञ्जमा हात्ती, डुंगा र जीप सफारी गराउँथे। टाइगर टप्सले सन् १९७४ देखि निकुञ्जभित्र टाइगर टप्स टेन्टेड क्याम्प पनि सञ्चालनमा ल्यायो। एउटा क्याम्पमा १२ वटासम्म टेन्ट टाँगेर २४ जना सुत्न मिल्थ्यो।
नेपालको स्वच्छ हावापानी, जंगल र हिमश्रृंखलाले पर्यटकलाई मोहित बनाउँदै लग्यो। टाइगर टप्सको चर्चा संसारभर चुलियो। यहाँ वन्यजन्तुमा रूचि भएका र धनाड्यहरू त आउँथे नै। विभिन्न देशका राज परिवार, सरकार प्रमुख, उच्च ओहोदाका व्यक्ति, राजनीतिज्ञ, हलिउडका सेलिब्रेटीहरु पनि आउन थाले।
बेलायतका प्रिन्स चार्ल्स (अहिलेका राजा), राजकुमार फिलिप, प्रिन्सेस अन्ना, प्रिन्स ह्यारी, अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन, भारतका पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी, राजीव गान्धी, पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टो, टाइटानिकका अभिनेता लियोनार्दो डिकाप्रियो, अभिनेता जेरमी आइरन, अभिनेत्री पामेला बेलवुड जस्ता हाइप्रोफाइलका पाउनाहरु टाइगर टप्समा बसेका छन्।
अभिनेत्री पामेला र निक ह्विलरले टाइगर टप्समा नेपाली परम्पराअनुसार बिहे नै गरेका थिए।
पहिलो सगरमाथा आरोही एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा, थाई प्रिन्सेस, टोनी हेगन लगायतका अति विशिष्ट पाहुना टाइगर टप्स आइपुगेका थिए। नेपालका पूर्वराजा वीरेन्द्र, ज्ञानेन्द्र शाह परिवारसहित टाइटर टप्स पुगेका थिए। तत्कालीन शाही परिवारका धेरै सदस्यहरू यहाँ आउने गरेको टाइगर टप्सका प्रशासकीय प्रमुख रामसिंह गुरुङ बताउँछन्।
टाइगर टप्सले सन् १९८२ देखि अन्तर्राष्ट्रिय हात्ती पोलो खेल मेघौलीमा सुरु गर्यो। यसले विदेशी पाहुनालाई थप आकर्षण गरेको गुरुङले बताए। पहिले स्विजरल्याण्डमा खेलाइने गरेको यो खेल जिम र उनका साथि जेम्स मेनक्लार्कको प्रयासमा चितवनमा ल्याइएको थियो।
नेपालको सफारी पर्यटनको जन्मदाता मानिने जिम सन् २००९ मा निधन हुनुअघिसम्म लगातार नेपालमै रहे। उनको निधनपछि दुई भाइ छोराले सन् २००९ बाट टाइगर टप्स प्रालिकोे जिम्मेवारी सम्हालिरहेका छन्। अहिले जेठा छोरा क्रिष्टन टाइटर टप्सका अध्यक्ष र कान्छा छोरा ज्याक प्रबन्ध निर्देशक छन्। माइला छोरा टिम श्रीलंकामा लक्जरी रिसोर्ट चलाउँछन्।
टाइगर टप्स प्रालिले सन् १९८२ बाट नवलपुरमा चितवन राष्ट्रिय निकुञ्जको आडैमा थारू लज सञ्चालनमा ल्यायो। सन् १९८८ बाट बर्दिया राष्ट्रिय निकुञ्जको आडैमा टाइगर टप्स कर्णाली लज सञ्चालन गरिरहेको छ। यी दुवै नेपालका सफल वाइल्डलाइफ रिसोर्टहरू हुन्।
चितवन निकुञ्जभित्रको टाइगर टप्स भने अहिले संग्रहालयजस्तो बनेको छ। मेघौलीबाट जंगल घुम्न निकुञ्ज पसेका पर्यटकहरू टाइगर टप्सको हालत देखेर दिक्क मान्छन्। फोटो खिचेर फर्कन्छन्।
केही दिनअघि आफ्ना पुराना कर्मचारीहरूले गरेको एक कार्यक्रममा सहभागी भएका टाइगर टप्सका प्रबन्ध निर्देशक ज्याक एडवर्डसले चितवन निकुञ्जभित्रको होटल पुनः सञ्चालनका लागि सरकारको निर्णय पर्खिरहेको बताए। ‘पहिले अफ्रिकामामात्रै जंगल टुरिजम थियो। टाइगर टप्सले नेपालमा संरक्षणमा आधारित पर्यटन सुरु गर्यो। मेरो बुबाले माउण्टेन ट्रभल कम्पनी खोलेर नेपालमा सबैभन्दा पहिले ट्रेकिङ पनि सुरू गर्नुभयो। त्यतिखेर एकदम धनी पाउनाहरु यहाँ आउँथे। धेरै पैसा तिर्थे, मेघौलीबासीले सबैभन्दा बढी फाइदा लिएका थिए। टाइगर टप्सकै कारण मेघौलीमा एयरपोर्ट चलेको थियो,’ ज्याकले भने, ‘अहिले बन्द भइरहेको छ। जहाज आउन छाड्यो, हात्ती पोलो बन्द भयो। जंगलभित्र बस्न नपाएपछि पहिलेजस्ता पाउना आउनै छाडे।’
जंगलभित्र सामान्य कोठामा बस्दा पनि पाउनाले पाँचतारे होटलमा बसेकोभन्दा रमाइलो मान्ने गरेको सुनाए। ‘बन्द हुँदा नेपाललाई धेरै घाटा लागेको छ। मेरो लागिभन्दा पनि अब देशको लागि यो खुल्नुपर्छ। सरकारले अनुमती दियो भने पहिलेजस्तै स्तरीय सेवा दिन सक्छौं। संरक्षणमा आधारित पर्यटनलाई अगाडि बढाउन तयारी अवस्थामा छौं,’ उनले भने, ‘म नेपाली होइन, विदेशी हो। हामीले विगतमा यति राम्रो काम गरेका थियौं। फेरि दियो भने त्यस्तै राम्रो गर्न सक्छौं भनेर भन्न मात्र सक्छौं हामी।’
सर्वोच्च अदालतले प्रकृया पुरा गरेर संरक्षणमा असर नपर्नेगरी निकुञ्जभित्रका होटल सञ्चालन गर्न सकिने फैसला २०७१ सालमै गरे पनि सरकारले त्यस विषयमा निर्णय गरेको छैन। ज्याकले सरकारले निर्णय नगर्दासम्म आफ्नो संरचना र सामानहरू कुरेर बसिरहेको बताए। ‘हाम्रा केही मान्छेहरू त्यहाँ कुरेर बसिरहेका छन्। केही हात्तीहरू छन्। ती र त्यहाँ भएका सामान कुर्ने काममात्रै भइरहेको छ,’ उनले भने, ‘संरचनाहरू धेरै जीर्ण भइसके। अब बनाउन धेरै खर्च लाग्छ। अनुमती पाइयो भने खर्च गर्न पनि तयार भएर बसेका छौं।’
होटलका प्रशासन प्रमुख रामसिंह गुरूङले पर्यटनको इतिहास बोकेको टाइगर टप्सलाई सञ्चालनमा ल्याउन अब ढिला गर्न नहुने बताए। ‘यहाँ आउने पर्यटकहरु केन्यातिर जान थालेका छन्। यसले देशलाई धेरै घाटा भइरहेको छ यहाँ,’ गुरुङ भन्छन्, ‘अदालतको फैसलापछि हामीले हरेक सरकारलाई यो कुरा भनिरहेका छौं। सहानुभूति पाइरहेका छौं। अब त बन्द भएको पनि १२ वर्ष हुन लाग्यो। १२ वर्षमा त खोलो पनि फर्किन्छ भन्छन्, आशा छ केही होला अब।’
गुरूङकाअनुसार टाइगर टप्स होटल भित्र प्रत्यक्षरुपमा ३०० जनाले काम गर्थे। बाहिर पनि करिब २०० जनाले अप्रत्यक्षरुपमा रोजगारी पाएका थिए। होटल सञ्चालनमा हुँदा मेघौलीमा छुट्टैखाले चहलपहल थियो। स्थानीयले धेरै फाइदा दिइरहेका थिए। अहिले निकुञ्ज बाहिर रहेका केही ठूला होटलमा विदेशी पर्यटकहरू पुग्छन्। नेपाली पर्यटकहरू प्रायः होमस्टेमा बस्छन्।
नवलपुरस्थित थाररू लजका म्यानेजर आषिक गुरूङ टाइगर टप्स सञ्चालनमा रहँदा आएका जस्ता पाउनाहरू अचेल आउनै छाडेको बताउँछन्। ‘भित्र हुँदा वन्यजन्तुका गतिविधि धेरै देख्न पाउँथे। पहिले भित्र आएका पाउना कहिलेकाहीँ थारू लज आउनुहुन्छ। उहाँहरू पहिले जस्तो देख्न पाइएन भनेर गुनासो गर्नुहुन्छ,’ गुरूङ भन्छन्, ‘हामी संख्याभन्दा पनि स्तरीय पर्यटकलाई ल्याउन चाहन्छौं। वन्यजन्तुको महत्त्व बुझेको पर्यटक आइदिए हुन्थ्यो भन्ने चाहन्छौं तर त्यस्ता पाउना अचेल निकै कम आइरहेका छन्।’
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पर्यटन विज्ञहरुले निकुञ्जभित्रका होटलहरू पुनः सञ्चालन गर्नुपर्ने सुझाव दिएको बताइन्। ‘टाइगर टप्स सञ्चालनमा हुँदा जुन खालको चहलपहल हुन्थ्यो अहिले त्यो छैन। पर्यटकीय गतिविधि कमजोर भएको छ। फेरि सञ्चालनमा ल्याउनुपर्छ भन्ने सुझाव पाएका छौं,’ उनले भनिन्, ‘सरोकारवाला सबै पक्षसँग छलफल गरेर यसलाई अगाडि बढाउछौं।’
होटलहरू बन्द भएपछि २०६९ सालको भदौ ७ गते निकुञ्ज क्षेत्रभित्र पर्यटकीय संरचना निर्माण, सञ्चालन तथा त्यसको नियमनको सम्बन्धमा राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रचलन, प्रचलित कानुन तथा आर्थिक वातावरणीय प्रभाव बीचको सन्तुलनका दृष्टिले उपयुक्त दीर्घकालीन उपाय बारे सिफारिस पेश गर्न मन्त्रिपरिषद्ले वन तथा भूसंरक्षण मन्त्रीको संयोजकत्वमा एक कार्यदल बनाएको थियो। कार्यदलले यसको अध्ययन गर्न एक उपसमिति पनि बनायो। तर काम अघि नबढ्दै अधिवक्ता विजयकुमार बस्नेतले सरकारले कार्यदल बनाएर निकुञ्जभित्रका होटल सञ्चालन गर्न खोजेकाले रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरे।
उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीशहरू कल्याण श्रेष्ठ र सुशीला कार्कीको संयुक्त ईजलासले गैरहकानुनीरूपमा प्रतिकूल वातावरणीय प्रभाव पर्दैन भन्ने कुराको निश्चितता गरी निरन्तर अनुगमन र मूल्यांकन गर्न संयन्त्र तत्काल स्थापित गर्नुपर्ने आदेश दिएको थियो।
‘निकुञ्ज क्षेत्र संवेदनशील र महत्त्वपूर्ण वातावरणीय क्षेत्र भएकाले त्यस क्षेत्रको वन, वन्यजन्तु तिनको बासस्थान र तिनले प्रयोग गर्ने बाटोलगायतका अन्य सुविधामा प्रतिकूल प्रभाव पार्न नदिने कोसिस राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ६ अन्तर्गत काम गर्ने सरकार एवं सम्बन्धित पक्षहरुको हुन्छ। सो ऐनको दफा ६ अन्तर्गत करार गर्ने विषय कानुन र न्यायका मान्य सिद्धान्तको अधिनमा रही निर्णय गर्न सकिने सरकारको स्वविवेकको विषय भएकाले यस अदालतबाट हस्तक्षेप गर्न मिलेन,’ आदेशमा उल्लेख छ।
प्रशासन प्रमुख गुरूङले अदालतले वातावरणमा प्रतिकूल असर नपर्नेगरी होटलहरू सञ्चालन गर्न दिने सरकारको अधिकार भएको फैसला गरेका कारण सरकारको निर्णय पर्खिरहेको बताए।