गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण र नियमित संचालनका लागि पहल गर्न भैरहवाका उद्योगी व्यवसायीहरूले आग्रह गरेका छन्।
निर्माण सम्पन्न भएर उद्घाटन गरिएको एक वर्ष बित्दा पनि विमानस्थल नियमित संचालनमा आउन नसक्दा विमानस्थललाई लक्षित गरी संचालन गरिएका पेशा व्यवसाय नै धरासायी हुन लागेको भन्दै उद्योगी व्यवसायीहरूले लुम्बिनी प्रदेशका मन्त्रीसँग पहलको लागि आग्रह गरेका हुन्।
लुम्बिनी प्रदेशकै महत्वपूर्ण र गौरवको आयोजनाको रूपमा निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालन हुन नसक्दा सिंगो लुम्बिनीकै अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको उनीहरूको भनाई छ।
विमानस्थल संचालनका लागि संघीय सरकार र नागरिक उड्डयन प्राधिकरणलाई प्रदेश सरकारमार्फत निरन्तर दवाव र पहल गर्न उनीहरूले आग्रह गरे। शनिबार भैरहवामा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरूले विगतमा पनि विमानस्थल पूर्ण र नियमित रूपमा संचालनका लागि विभिन्न दवावमूलक कार्यक्रम गरेपनि सुनुवाइ नभएको दुखेसो गरे।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेय र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के.) सहभागी उक्त कार्यक्रममा व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमण अघि नै भारत सरकारसँग विमानस्थलबारे छलफलका लागि वातावरण गराउनुपर्ने बताए।
उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले विमानस्थल निर्माणका लागि सयौं घर परिवार बेघर हुँदै वर्षौंदेखि बसोबास गर्दै आएको घरजग्गा दिएपनि अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालन हुन नसक्दा नागरिक निराश भएको बताए।
भारतीय खुल्ला सीमाका कारण फस्टाउन नसकेको भैरहवा क्षेत्रको उद्योग व्यवसाय विमानस्थल संचालनमा आउन नसक्दा झनै थला परेको ज्ञवालीको भनाई छ।
‘अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै भैरहवा र लुम्बिनी वरपर उद्योग व्यवसायमा अर्बौं लगानी भएको छ। एकातर्फ देशकै अर्थतन्त्र सिथिल बनेको छ भने अर्कोतर्फ निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमानस्थलपनि संचालन हुन नसक्दा उद्योग व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको छ,’ ज्ञवालीले भने।
ज्ञवालीले यसअघि व्यवसाय संचालन गरिएका बजारका ४० प्रतिशत सटरहरू अहिले खाली भएको जनाउँदै विमानस्थललाई नियमित संचालन गर्न सके व्यवसाय फर्किन सक्ने बताए। विमानस्थल पूर्ण र नियमित संचालनमा आउन सके लुम्बिनीमा पर्यटकहरूको आगमन बढ्ने र त्यसले होटल व्यवसायसँगै अन्य व्यवसायमा पनि सकारात्मक प्रभाव पार्ने भएकोले यसतर्फ सरकारले चासो दिनुपर्ने बताए।
संगठनका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले रूपन्देहीको मात्र नभई समग्र लुम्बिनीको विकास अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको बताए।
‘रुपन्देही र समग्र लुम्बिनीकै विकासको आधार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हो, अर्बौं लगानीमा विमानस्थल निर्माण गरेर संचालनमा ल्याउन नसक्ने हो भने त्यसको क्षति सिंगो मुलुकले बेहोर्नुपर्ने हुन्छ,’ भण्डारीले भने।
उनले लुम्बिनी आउने विदेशी पर्यटकहरू पनि सम्बन्धित मुलुकले निर्माण गरेका गुम्बा तथा मोनाष्ट्रीमा बस्दा लुम्बिनीका होटल व्यवसाय पनि फस्टाउन नसकेको गुनासो गरे। लुम्बिनी आउने पर्यटकहरूलाई गुम्बा र मोनाष्ट्रीमा राख्ने काम बन्द गर्नपनि उनले आग्रह गरे।
सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालन नभए दवावका लागि पुनः आन्दोलनमा उत्रिन बाध्य हुने बताए।
‘विमानस्थल नियमित रूपमा संचालनका लागि विभिन्न चरणका आन्दोलन र छलफल भएपनि सरकारी स्तरबाट आश्वासन दिने बाहेक अरू केहि भएन, अब पनि संचालनमा ल्याइँदैन भने फेरि पनि आन्दोलनमा उत्रिन बाध्य हुने छौं,’ श्रेष्ठले भने।
उद्योग, पर्यटन र व्यवसायको विकासका लागि सरकारको भूमिका महत्वपूर्ण रहने गरेपनि उद्योगी व्यवसायीहरूले सरकारबाट सहयोगको कुनै अनुभूति गर्न नपाएको उनको गुनासो छ।
उद्योगी व्यवसायीहरूको गुनासो सुनेपछि लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष पाण्डेयले विमानस्थल पूर्ण र नियमित संचालनका लागि संघीय सरकारसँग निरन्तर पहल भइरहेको बताए।
‘विमानस्थल नियमित संचालन नगरिकन पर्यटनको विकासको परिकल्पना गर्न सकिँदैन, पर्यटन विकास नभई मुलुकको विकास हुन सक्दैन, यो क्षेत्रको पर्यटन विकासको लागि विमानस्थललाई नियमित संचालन गरिनुपर्छ भनेर प्रदेश सरकारले संघीय सरकारसँग पहल गरिरहेको छ,’ पाण्डेयले भने।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले लुम्बिनीलाई पर्यटनको प्रमुख केन्द्र बनाउने गरी लुम्बिनी वरिपरीको विकासको कामलाई अगाढी बढाइने समेत बताए।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले प्रदेश सरकार सधैँ उद्योगी व्यवसायीको साथमा रहेकोले सँगै हातेमालो गर्दै अघि बढ्ने बताए।
‘सबैको साथ, सहयोग, सल्लाह र सुझाव लिएर रुपन्देही र समग्र लुम्बिनी प्रदेशको विकासमा लाग्नुपर्ने बेला आएको छ,’ गुप्ताले भने। उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित संचालनका लागि प्रदेश सरकारबाट सक्दो पहल गरिने बताए।