बुधबार साँझ जगतपुर बजार नजिकैको राप्ती पुलमा विदेशी पर्यटकको चहलपहल बढेको थियो। उनीहरू लहरै उभिएर सूर्यास्तको अवलोकन गरिरहेका थिए।
केही मिटर पर बोटे टोलमा पनि केही विदेशी पर्यटक देखिए। उनीहरू बोटे समुदायको घर, उनीहरूको जीवनशैलीलाई नियाल्दै थिए। गाइडहरू पर्यटकलाई बोटे समुदायको रहनसहन, संस्कृतिबारे बुझाउन व्यस्त थिए।
लामो समयपछि बुधबार अपराह्न राप्ती नदीमा काठका डुंगामा धेरै विदेशी पर्यटक सयर गरिरहेको दृष्य देखिएको थियो।
भरतपुर महानगरपालिकाको वडा नम्बर २२ र २३ मा पर्ने पटिहानी र जगतपुरमा ८ वटा ठूला होटलहरू छन्। केही ठूला होटलहरू सञ्चालनको तयारीमा छन्। सञ्चालनमा रहेका सबै ठूला होटलहरू अहिले विदेशी पर्यटकले भरिएको वडा नम्बर २२ का वडाध्यक्ष विष्णुराज महतोले बताए।
‘आर्थिक मन्दीको असर सबै क्षेत्रमा परिरहँदा यहाँ भने पर्यटकको आगमन बढेर व्यवसाय चलायमान हुन थालेको छ,’ महतोले भने, ‘केही दिनदेखि विदेशी पर्यटकहरू आउने क्रम बढेको छ। यसले व्यवसायी उत्साहित देखिएका छन्।’
पटिहानीमा सोल्टी वेस्टइण्ड रिसोर्ट, जंगल भिल्ला, रिभर बैंक, कसरा रिसोर्ट, नारायणी सफारी, इनटु द वाइल्ड इको रिसोर्ट र जगतपुरमा टाइगर ल्याण्ड र जगतपुर लज अन्नपूर्ण नामका ठूला होटलहरू छन्। ती सबैमा ८० प्रतिशत बढी कोठाहरू विदेशीले भरिएको जानकारी पाएको वडाध्यक्ष महतोले बताए।
केही वर्षदेखि पर्यकीय गतिविधि बढ्दै गएको यो क्षेत्रमा ठूला, साना होटलमा गरेर ५ सय पर्यटकलाई राख्न सक्ने क्षमता छ। यो क्षेत्रमा साना दुई दर्जन जति होटल छन्।
भरतपुर–२३ का वडाध्यक्ष दिपक दवाडीले निराश व्यवसायीमा बढ्दै गरेको पर्यटकीय चहलपहलले आशाको सञ्चार गरेको बताए।
‘शान्त वातावरण र जैविक विविधताले भरिपूर्ण भएकाले यो क्षेत्रमा पर्यटकहरूको आकर्षण बढ्दो क्रममा छ। हामीले पर्यटन विकासका लागि भनेर हामीले सरसफाइको अभियान नै चलाइरहेका छौंं,’ वडाध्यक्ष दवाडीले भने, ‘विदेशी पर्यटकले कोलाहल वातावरण र दुर्गन्ध मन पराउँदैनन्। हामी त्यसमा सचेत रहेकाले पर्यटक बढ्दै गएका छन्।’
भरतपुरको वडा नम्बर २३ ले अहिले मिसन–२३ नामको सरसफाइ अभियान नै चलाइरहेको छ। सन् २०२३ मा भरतपुर २३ मा २३ दिन २३ वटा टोलको सरसफाइ गर्ने उक्त अभियानमा वन र नदी क्षेत्रको पनि सरसफाइ गर्ने गरिएको छ।
पटिहानीमा रहेको सोल्टी वेस्टइण्ड रिसोर्टका अपरेसन म्यानेजर केशव ढकालले केही दिनदेखि बढ्न थालेको पर्यटकको संख्या अब निरन्तर बढ्दै जाने आशा रहेको बताए।
‘हाम्रोमा कुल क्षमताको चालिस प्रतिशतभन्दा कम पाहुना त कहिल्यै पनि भएका छैनन्। केही दिनयता संख्या बढेर ९० प्रतिशत कटेको छ,’ ढकालले भने, ‘अब विदेशी पर्यटक नेपाल घुम्न आउने सिजन सुरू हुन लागेकाले संख्या बढ्दै जान्छ भन्ने आशा छ।’
उनका अनुसार बुधबार सोल्टी वेस्टइण्ड रिसोर्टमा मात्रै ७२ जना विदेशी पर्यटक बसेका थिए। अक्टोबरको सुरूदेखि यस क्षेत्रमा पर्यटकको संख्या बढ्न थालेको हो।
उनले पटिहानी र जगतपुरका अन्य होटलहरूमा पनि अहिले पर्यटक ८० प्रतिशतभन्दा बढी रहेको बताए। अमेरिका, युरोप, सिंगापुर, चीन, भारत लगायतका देशका पर्यटकहरू यहाँ आउने गरेका छन्।
पटिहानी चितवन राष्ट्रिय निकुञ्जमा डुंगा, हात्ती, जीप सफारी, जंगल वाक, थारू भिलेज टुर, कल्चर डान्स लगायतका लागि विदेशी पर्यटकको रोजाइ पटिहानी बन्दै छ। निकुञ्जको हेडक्वाटर कसराबाट नजिकै र शान्त वातावरण रहेकाले पनि पर्यटकको रोजाइ यो क्षेत्र बन्न थालेको हो।
वडाध्यक्ष महतोले जैविक विविधताको अवलोकनका लागि आउने पर्यटकलाई लक्षित गरेर पटिहानी क्षेत्रमा लगानी बढिरहेको बताए।
यहाँ रहेको अम्रेला स्ट्रिटले आन्तरिक पर्यटक र निकुञ्ज, सामुदायिक वनहरूले बाह्य पर्यटकलाई लोभ्याएको उनले बताए। वडाले पर्यटनलाई खेलसँग पनि जोड्न प्रयास गरिरहेको उनी बताउँछन्।
पटिहानीमा प्रदेश सरकारको लगानीमा देशकै ठूलो कवर्ड हल निर्माण भएको छ। यहाँ खेल गतिविधि पनि हुन थालेका छन्। महतोले यसले पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे। पटिहानीमा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता पनि गर्ने गरिएको छ।
विगतमा सौराहामा मात्रै पर्यटकको चाप हुने गरेकामा अचेल पश्चिम चितवनमा पर्ने पटिहानी, मेघौलीमा पनि पर्यटकको उल्लेख्य उपस्थिति देखिन्छ। मेघौलीमा मेघौली सेराई, बाराही जंगल लज, साराङ वाइल्डलाइफ स्याङच्युरी लगायतका ठूला होटलहरू छन्। केही होटल निर्माण हुँदै छन्।
साराङ वाइल्डलाइफ स्याङच्युरीका सञ्चालक सुबोध प्रधानले शान्त वातावरण खोज्ने पर्यटकहरू मेघौली पुग्ने गरेको बताए। मेघौलीको विमानस्थल सञ्चालनमा आए यहाँको पर्यटनले थप गति लिने व्यवसायीहरू बताउँछन्।
तस्बिरहरू: