भरतपुर महानगरपालिकाले सन् २०२४ भित्रमा ७ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको तयारी गरेको छ।
बुधबार पत्रकारसँगको अन्तर्क्रियामा मेयर रेनु दाहालले ‘घुमौं भरतपुर’ अभियानअन्तर्गत सन् २०२४ लाई भ्रमण वर्षका रूपमा मनाउन लागिएको बताइन्।
महानगरले भ्रमण वर्षमा ७ लाख पर्यटकहरूले भरतपुर महानगरपालिकाभित्रका विभिन्न गन्तव्यको अवलोकन गर्ने लक्ष्य राखेको छ।
चितवन राष्ट्रिय निकुञ्ज महानगरसँग जोडिएको प्रमुख पर्यटकीय स्थल हो। देवघाट, मेघौली, गोलाघाट, पटिहानी, जगतपुर, बिसहजारी ताल, बाटुली पोखरी, नारायणी नदी किनारको क्षेत्र, शिवघाट, बाघेश्वरी, गणेशधाम, चौकी डाँडालगायतका आन्तरिक पर्यटकको आकर्षणका गन्तव्य भरतपुर महानगरपालिकामा छन्। ३१ वटा गन्तव्यको सूची प्रकाशन गर्दै महानगरले ती क्षेत्रलाई व्यवस्थित बनाउने काम अहिले भइरहेको जनाएको छ।
महानगरका पर्यटन विज्ञ विश्व सुवेदीका अनुसार अहिलेसम्म वार्षिक करिब ३० हजार जना विदेशी पर्यटक भरतपुर महानगरपालिकाबाट चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गरेका छन्। कसरा र मेघौलीबाट निकुञ्ज प्रवेश गर्ने पर्यटकलाई भरतपुरबाट प्रवेश गरेको मान्ने गरिन्छ। पटिहानी, जगतपुर, मेघौलीमा ठूलो लगानीमा सुविधासम्पन्न होटलहरू सञ्चालनमा आएका छन्। सुवेदीले सन् २०२४ मा भरतपुर महानगरका नाकाबाट निुकञ्ज प्रवेश गर्ने विदेशी पर्यटकको संख्या २ लाख पुर्याउने लक्ष्य राखिएको बताए।
महानगरपालिकाले पर्यटकले बाघ, एक सिंगे गैंडा लगायतका प्रजातिको अवलोकन गर्न सक्नेगरी भरतपुर–१३ देवनगरमा वन्यजन्तु उद्धार केन्द्र स्थापना गर्न लागेको छ। यसले पनि विदेशी पर्यटकलाई आकर्षित गर्ने सुवेदीले बताए।
‘देवघाट लगायतका अन्य पर्यटकीय गन्तव्यमा ५ लाख बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य राखेका छौं। यसअघि वार्षिक ४ लाख जना जति पर्यटकले भरतपुर भ्रमण गर्ने गरेको अनुमान छ। आगामी वर्ष ७ लाखले अवलोकन गर्छन् भन्ने विश्वास छ,’ उनले भने।
सुवेदीले ५५ वटा देशहरूमा एनएनआरएनका प्रतिनिधिहरूमार्फत् भरतपुर भ्रमण वर्षको प्रचार भइरहेको बताए।
मेयर दाहालले भ्रमण वर्षअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला बन्दैछ भन्ने सन्देश प्रवाह हुनेगरी प्रक्रिया अघि बढिरहेको बताइन्। भ्रमण वर्षलाई नै लक्षित गरेर भरतपुर–१ आँपटारीमा रहेको दिलायो बंगला दरबारको निश्चित क्षेत्र सर्वसाधारणका लागि खुला गर्ने प्रक्रिया चलिरहेको उनले बताइन्।
दियालो बंगला तत्कालीन राजा महेन्द्र शाहले २०२६ सालमा निर्माण गरेका हुन्। उनको यही दरबारमा निधन भयो। पछि वीरेन्द्र शाह पनि बेला–बेलामा यो दरबारमा बस्ने गरेका थिए। उनले २०५७ सालमा आफ्नो जन्मोत्सव नै यहीँ मनाएका थिए। नेपाल ट्रष्टको नाममा रहेको दियालो बंगलाको अहिले नेपाली सेनाले संरक्षण गरिरहेको छ। महानगरले बंगलाको निश्चित क्षेत्र ट्रष्टलाई भाडा तिर्नेगरी लिन खोजेको छ।
मेयर दाहालले भारतीय पर्यटकलाई पर्साको ठोरी हुँदै चितवन आउन सहज बनाउन भन्सार कार्यालयलाई पत्राचार गरिएको बताइन्।
‘नारायणी नदीमा क्रुजसिप, मोटर बोट, राफ्टिङ बोट, चौकी डाँडामा प्याराग्लाइडिङ, नजिकै गैंडाकोटको मौलाकालिका मन्दिरमा केबल कार चल्छ। भरतपुरको पर्यटन विकासका लागि यी पनि महत्वपूर्ण गन्तव्य हुन्,’ उनले भनिन्, ‘हामी अन्य स्थानीय तह र जिल्लाहरूसँग पनि समन्वय गरेर भ्रमण वर्ष सफल बनाउने गरी लागेका छौं।’
अन्तर्राष्ट्रिय रूपमा देखिएको आर्थिक मन्दी, देशको अर्थतन्त्रमा देखिएको समस्याको असरलाई चिर्दै भ्रमण वर्षलाई सफल बनाउनु धेरै चुनौतीपूर्ण रहे पनि भरतपुरबासीले एक भएर सफल बनाउने विश्वास मेयर दाहालको छ।
‘हामीले २०८० साललाई नै भ्रमण वर्षका रूपमा मनाउन खोजेका थियौं। युक्रेन–रूस युद्धले अवस्था खराब बनाउँदै लग्यो। यता भरतपुरमा बन्दै गरेको ६ लेनको सडक पनि समयमा सम्पन्न नहुने देखियो। त्यसपछि ६ महिनालाई सारेका थियौं,’ उनले भनिन्, ‘तर अहिले इसराइल र प्यालेस्टाइनको युद्धको असर पर्न थालेको छ। बजारमा मन्दी छ। तै पनि हामी पछि हट्ने अवस्था छैन। भ्रमण वर्षले पर्यटक बढाएर अर्थतन्त्रलाई चलायमान बनाउन सघाउला भन्ने आशा छ।’
महानगरका प्रशासकीय प्रमुख नरेन्द्रकुमार रानाले भ्रमण वर्षका लागि भनेर महानगरले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बागमती प्रदेश सरकारले २ करोड रुपैयाँ दिने प्रतिबद्धता गरेको र संघीय सरकारबाट ७० लाख रुपैयाँ प्राप्त भएको उनले बताए।
गैंडाकोट र भरतपुरका होटलहरूमा अहिले ७ सय ५० जना बस्न मिल्ने क्षमता छ। चितवन जिल्लाभर र गैंडाकोटका होटलहरूमा १५ हजार पर्यटकलाई राख्नसक्ने क्षमता छ।
भ्रमण वर्षको प्रचार प्रसार उपसमितिका संयोजक प्रकाशमणि ज्ञवालीले उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ, चम्बर अफ कमर्स, होटल व्यवसायी संघ, पत्रकार महासंघ तथा विभिन्न पेशागत संस्थाहरूसँग पनि समन्वय गरेर भ्रमण वर्षको प्रचारप्रसारलाई तीव्र बनाइएको बताए।