घटस्थापना पछिको झण्डै महिना दिन ताप्लेजुङको पाथिभरा मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्थ्यो। दैनिक सरदर १० हजार जनासम्म आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने यो क्रम तिहारपछि सम्मै चल्थ्यो।
अघिल्ला वर्षहरूको यही अनुभवकै आधारमा ताप्लेजुङ सदरमुकाम फुङलिङका होटल व्यवसायी नन्दु बानियाँले यसपटक होटलमा लगानी थपेका थिए। यही साल होटल किनेर लगानी पनि थपेका बानियाँको मुख्य आशा घटस्थापनापछिको महिना दिनमा केन्द्रित थियो।
तर, यस पटकको मुख्य सिजनको सुरूआत नै निराशाबाट भएको छ। दसैंको मुखैमा निम्तिएको विपद्ले बाटोघाटो र पुलहरू क्षतविक्षत पारेको छ। बाढीपहिरोले धनजनको क्षति पनि उत्तिकै बढाएको छ। योसँगै ताप्लेजुङलाई अन्यत्रसँग जोड्ने बाटाहरूमा ठाउँ–ठाउँमा अवरोध खडा गरिदिएको छ।
‘पोहोरको जस्तो थियो भने अहिले म तपाईंको फोन उठाउन पनि नभ्याउने अवस्थामा हुन्थेँ,’ सेतोपाटीसँग फोनमा कुरा गर्दै पाथिभरा होटलका सञ्चालक बानियाँले सुनाए, ‘यसपटक सिजनको सुरूमै विपद्ले फुर्सदिलो बनाइदियो। केही दिनयता एकै जना पाहुना पनि होटलमा छैनन्। मेरो मात्रै होइन, यहाँका दर्जनौं होटलको अवस्था उस्तै छ।’
होटल व्यवसाय मात्रै होइन, ताप्लेजुङको पाथिभरा मन्दिर र कन्चनजंघा बेसक्याम्प घुम्न आउने पर्यटकको बहुसंख्यक हिस्साले यहीबेला ताप्लेजुङ भरिभराउ हुन्थ्यो। पदयात्रामा जानेहरूका लागि सहयोगी भरियाहरूले, मन्दिर जानेहरूका लागि गाडी र सहयोगीहरूले कमाइको आधार पाउँथे। तर, असोज १० देखि १३ गतेसम्मको भारी वर्षा र त्यसले निम्त्याएको बाढीपहिरोको कहरले ताप्लेजुङ मुख्य सिजनमै सुनसान बन्न पुगेको छ।
पाथिभरा मन्दिर व्यवस्थापनले दिएको जानकारी अनुसार गत वर्ष घटस्थापनाको दिन मात्रै मन्दिरमा १४ हजार दर्शनार्थीले दर्शन गरेका थिए। त्यसपछिका दिनहरूमा पनि कहिले १६ हजार, कहिले १५ हजार जनाले दर्शन गर्थे।
‘दसैंअघिदेखि तिहार पछिसम्मै दैनिक सरदर ८–१० हजार मान्छेको आवतजावत चलिरहन्थ्यो,’ पर्यटन व्यवसायी मिङ्मा शेर्पाले भने, ‘यसपटक विपद्ले त्यो भिडभाड हुन दिएन। यहाँका भरियादेखि होटलहरूसम्म, गाडीका सञ्चालकहरूदेखि पसल व्यवसायी र होमस्टे सञ्चालकसम्मले ठूलो नोक्सानी व्यहोर्न पर्यो।’
ताप्लेजुङ मात्रै होइन, दसैं बिदाको छेक पारेर घुम्न आउने पर्यटकले भरिभराउ बन्ने कोशी पहाड यतिबेला सुनसानप्रायः छ।
दसैंको मुखैमा निम्तिएको प्राकृतिक विपद्ले सडक, पुल लगायतका संरचना क्षतविक्षत पारेपछि कोशी पहाड मुख्य सिजनमै पनि मुर्झाएको अवस्थामा छ।
कोशी पहाडमा रहेका दर्जनौं धार्मिकस्थलदेखि हिमाली चुचुराहरूको बेसक्याम्पसम्म अनि पर्यटन केन्द्रहरूदेखि पदयात्रासम्म रमाउनका लागि ओइरिने पर्यटकको यो सिजनमा ओइरो लाग्थ्यो।
‘यो सिजनमा जिल्लाका होटलहरूदेखि होमस्टेहरूसम्म खचाखच पाहुनाले भरिएका हुन्थे, यसपालि पूरै सुनसान छ,’ सोलुखुम्बुका पर्यटन व्यवसायी चोलेन्द्र कार्कीले भने, ‘सोलुमा यतिबेला पदयात्रीहरूको घुइँचो लाग्ने बेला हो। तर, विपद्ले बाटोहरू ध्वस्त भएका छन्। हवाई मार्गबाट पनि पर्यटक आउन सम्भव छैन। दसैंमा घर फर्कनेहरू नै आइपुग्न सकस भइरहेको बेला पर्यटक आउने आश नै छैन।’
पर्यटन व्यवसायी कार्कीका अनुसार सोलुको पिके ट्रेकमा अरू बेला सधैं यो सिजनमा पदयात्रीको बाक्लो उपस्थिति रहन्थ्यो।
‘सगरमाथा हेर्न सबैभन्दा आनन्द आउने यो ट्रेक यतिबेला पूरै सुनसान छ,’ कार्कीले भने, ‘यसबाहेक दूधकुण्ड ट्रेक, एभरेष्ट बेसक्याम्प, मेरापिक र गोक्यो ट्रेकमा पनि मान्छेहरूको ठूलो भिड लाग्थ्यो। सिजन नै यही थियो। बाढीपहिरोले त्यो सबै बन्द गरिदियो।’
विपद्ले पर्यटक आगमन ठप्प बनाएपछि पहाडी र हिमाली क्षेत्रमा पर्यटनमा आधारित होटल व्यवसाय, यातायात, मजदुर तथा अन्य पसल व्यवसायहरू सुस्ताएको कार्कीले बताए।
यस पटकको विपद्मा बागमतीपछि कोशी प्रदेशमा सबैभन्दा धेरै क्षति पुगेको थियो। कम्तीमा २१ जनाले ज्यान गुमाएको र ६ जना अझै बेपत्ता रहेको प्रदेशमा साढे ४ अर्ब रुपैयाँभन्दा बढीको सडक र पुल लगायतको संरचना नै ध्वस्त बनेको छ। केही मुख्य राजमार्गहरू तथा एउटा जिल्लाबाट अर्को जिल्ला जोड्ने, जिल्लाकै आन्तरिक सडक सञ्जाल पनि क्षतविक्षत बनेको छ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म प्रदेशका १४ जिल्लाका १०१ वटा सडक, १५ वटा पुल र २५ वटा झोलुङ्गे पुलहरूमा कतै पूरै त कतै आंशिक क्षति पुगेको छ। यसको अर्थ ती सडक र पुलहरूमार्फत् आवतजावत पूरै प्रभावित छ। यसले स्थानीयबासीको दैनिकी मात्रै बिथोलेको छैन, पर्यटन व्यवसाय पनि चौपट पारेको छ।
यसपटक निम्तिएको क्षतिले ध्वस्त पारेका सडक पुल लगायतका पूर्वाधारहरूको पुनर्निर्माण तत्कालै होला र पर्यटन व्यवसाय चाँडै लयमा फर्केला भन्ने आशा व्यवसायीहरूमा झिनो मात्रै देखिन्छ।
‘जताततै बाटो बिग्रेको पुल भत्केको दृश्य र समाचार मात्रै देखिन्छ,’ कोशी पहाडकै पर्यटन व्यवसायी मुकेश श्रेष्ठले भने, ‘यो सिजन मात्रै जाने हो कि वर्ष नै जान्छ, डर त्यही भइरहेको छ।’
सरकारी भनाइ अनुसार नै पनि पुनःनिर्माणको खर्च धेरै आउने देखिन्छ। त्यसका लागि लाग्ने समय कति लामो हुन्छ भन्ने कुनै टुंगो छैन।
‘हाम्रो प्रारम्भिक अध्ययन अनुसार कम्तीमा ४ अर्ब ६३ करोड ५० लाख रूपैयाँ बराबरका ४१ वटा सडक, दुई वटा सडक पुल र आठ वटा झोलुङ्गे पुल पूर्णतः क्षतिग्रस्त बनेका छन्,’ कोशीका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले भने, ‘१ अर्ब २ करोड ५० लाख रूपैयाँ बराबरका ६० वटा सडक, १५ पक्की पुल र १७ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ। यसले जनजीवन कष्टकर बनाएको छ। पर्यटन व्यवसायमा पनि ठूलो असर पारेको छ।’
मन्त्री राईका अनुसार पूर्ण तथा आंशिक क्षति पुगेका संरचनाको पुनर्निर्माण गर्न मात्रै कम्तीमा ५ अर्ब ६६ करोड लाग्छ, जसमध्ये तत्काल मर्मत तथा निर्माण गर्नुपर्ने ६० वटा सडक, १५ वटा सडक पुल र १७ वटा झोलुङ्गे पुल छन्।
बाढी पहिरोले कोशीमा उदयपुर–खोटाङमा सबैभन्दा बढी ६४ करोड ३ लाख रूपैयाँ बराबरको सडक तथा पुलमा क्षति भएको छ।
भोजपुर–धनकुटामा ५५ करोड, पाँचथर–ताप्लेजुङमा ३६ करोड, सोलुखुम्बु–ओखलढुंगामा २८ करोड ५ लाख, झापा–इलाममा १५ करोड, संखुवासभा–तेह्रथुममा ५२ लाख र सुनसरी–मोरङमा २७ लाख रूपैयाँ बराबरको सडक पुलमा क्षति पुगेको प्रदेश सरकारले बताएको छ।
सरकारले सार्वजनिक गरेको यो अवस्थाले पर्यटन व्यवसायीलाई भने अत्याएको छ।
मेची राजमार्ग पाँच दिनपछि बुधबारदेखि सञ्चालनमा आएको छ। हेवाखोलामा डाइभर्सन बनेपछि राजमार्ग सुरू भए पनि मुख्य सिजनमा पाँच दिन बन्द हुँदा धेरै नोक्सानी भएको व्यवसायी बताउँछन्।
विपद्ले पर्यटन क्षेत्रलाई ठूलो असर पुर्याएको बेला चाडपर्वको मुखैमा आउजाउ गर्ने यात्रुले पनि सजिलै यात्रा गर्न नपाउने अवस्था कोशी पहाडमा छ।
कोशी प्रदेशभित्रका कटारी–घुर्मी–ओखलढुंगा–सोलुखुम्बु सिद्धिचरण राजमार्ग, घुर्मी–खोटाङ–भोजपुर–तेह्रथुम हुँदै पाँचथरको चिवाभञ्ज्याङसम्मको मदन भण्डारी मध्यपहाडी लोकमार्ग, गाईघाट–फोक्सिङटार–दिक्तेल सगरमाथा राजमार्ग, दमक–चिसापानी–रवि सडक खण्ड बाढी र पहिरोका कारण ठाउँ–ठाउँमा अवरूद्ध छन्। मध्यपहाडी लोकमार्गका धेरै ठाउँ अवरूद्ध छन्।
मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी महादेवस्थानको बर्खेटार खण्ड, सगरमाथा राजमार्गअन्तर्गत उदयपुर र खोटाङ जोड्ने बगेपछि त्यहाँ पनि आवतजावत प्रभावित छ।
दमक–चिसापानी–रवि सडकको पनि एक दर्जन खण्डमा पहिरोले क्षति गरेको छ। इलाम खण्ड अन्तरगत इलाम नगरपालिका–९ माइखोला सडक खण्ड निरन्तर दबिएको र सडक किनारमा पहिरो गएर क्षतिग्रस्त बनेकोे छ।
प्रदेशका मन्त्री राईले यीमध्ये केही सडकहरू खुलाउने प्रयास जारी रहेको बताएका छन्। यद्यपि धेरै क्षति भएका कारण सडकहरूलाई पुरानै अवस्थामा ल्याइपुर्याउन समय लाग्ने उनको भनाइ छ।
‘चाडपर्वमा घर आउने यात्रुहरू र दुःख विराम पर्दा यातायात सुविधा दिलाउनकै लागि भए पनि प्रयासहरू भइरहेका छन्’, उनले भने ‘केही समय त पक्कै लाग्छ।’