भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एकैदिन चारवटा अन्तर्राष्ट्रिय उडान भए।
जजिरा एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र कतार एयरवेजले गौतम बुद्ध विमानस्थलबाट उडान भरेका थिए।
कुवेतबाट १७० जना यात्रु लिएर आएको जजिरा एयर १६९ यात्रु लिएर फर्कियो भने ३० जना विदेशी पर्यटकसहित ४० यात्रु लिएर बैंककबाट आएको थाई एयर एसिया ७९ यात्रु लिएर बैंकक गयो। फ्लाई दुबईबाट आएका १४६ जना यात्रुमध्ये ११ जना भैरहवा अवतरण गरे। बाँकी १३५ जना काठमाडौं गए।
त्यस्तै, दोहाबाट ६७ यात्रु लिएर आएको कतार एयरवेज भैरहवामा अवतरण गरे पनि कोही यात्रु झरेनन्। सबै यात्रु लिएर जहाज काठमाडौं गयो।
अहिलेसम्म जजिरा एयरवेज र थाई एयर एसियाले मात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गरिरहेका छन्। अन्य तीन एयरलाइन्सले काठमाडौंसँग जोडिएर उडान गर्छन्। नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा-दुबई-काठमाडौं उडान गरिरहेको छ भने फ्लाई दुबईले दुबई-भैरहवा-काठमाडौं-दुबई र कतार एयरवेजले दोहा-भैरहवा-काठमाडौं-दोहा उडान गरिरहेको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अहिले भैरहवाबाट पाँचवटा एयरलाइन्सले साताको २४ उडान भर्छन्।
२०७१ सालमा शिलान्यास गरिएको यो विमानस्थल सात वर्षपछि २०७९ जेठ २ गते उद्घाटन गरिएको थियो। भौतिक संरचना निर्माण, उपकरण जडान, परीक्षण, विमानस्थल आसपासको जग्गा अधिग्रहण लगायतमा ३० अर्ब रूपैयाँभन्दा बढी लगानी भए पनि उद्घाटनको साढे २ वर्षसम्म विमानस्थल सुनसान थियो। त्यसबीच जजिरा एयरलाइन्सले केही महिना र हिमालयन एयरलाइन्सले केही उडान मात्र गरे। पछिल्लो एक सातादेखि भने यहाँ जहाज अवतरण र उडानसँगै यात्रुहरूको चहलपहल बढेको छ।
विमानस्थल वरपर होटल तथा अन्य व्यवसाय फस्टाएको छ। यात्रु र तिनलाई लिन-पुर्याउन आउने व्यक्तिहरूका कारण साना साना रेस्टुरेन्ट पनि बढेका छन्। विमानस्थलको पार्किङ क्षेत्र ट्याक्सीले भरिभराउ देखिन्छ। यहाँ झन्डै ३ सय ट्याक्सी विमानस्थललाई नै लक्ष्य गरी सञ्चालनमा छन्। यसले स्थानीय व्यवसायीलाई निकै आशावादी बनाएको छ।
तर संशयको बादल हटिसकेको छैन।
यी अन्तर्राष्ट्रिय उडानले पछिसम्म निरन्तरता पाइरहने हुन् कि अहिले काठमाडौंको त्रिभुवन विमानस्थल मर्मतसम्भारका कारण मात्र यता धकेलिएका हुन् भन्नेमा उनीहरू स्पष्ट छैनन्। विमानस्थलको दिगो सञ्चालनका लागि सरकारले गर्नुपर्ने तयारीमा ढिलासुस्तीले पनि उनीहरूलाई थप सशंकित बनाएको छ।
गत साउन २६ को मन्त्रिपरिषद बैठकले एक सातादेखि एक महिनाभित्र श्रम कार्यालय स्थापना, वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण, भिसा कार्यालय स्थापना, आकस्मिक रूपमा राहदानी नवीकरण तथा जारी गर्न कार्यालय स्थापना लगायत निर्णय गरेको थियो। तीन महिना बितिसक्दा पनि ती संरचना तयार भएका छैनन्। यसले सरकार गम्भीर छैन कि भन्ने व्यवसायीहरूलाई परेको छ।
हामीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन थालेपछि व्यापार-व्यवसायमा के प्रभाव पर्यो भनेर स्थानीयसँग कुराकानी गरेका छौं।
विमानस्थलबाहिर ६ वर्षदेखि होटल चलाइरहेका बाबुराम पोखरेल अन्तर्राष्ट्रिय उडानले व्यवसाय चल्ने आशा पलाएको बताउँछन्। नौ वर्षदेखि होटल चलाइरहेका सागर न्यौपाने पनि अन्तर्राष्ट्रिय उडान सुरू भएसँगै ग्राहक संख्या बढ्न थालेपछि खुसी छन्।
'एउटा विमानस्थल सञ्चालन हुनु भनेको त्यस वरपरका होटल र किराना पसलदेखि बस, ट्याक्सी, अटोरिक्साहरूको काम बढ्नु हो,' न्यौपानेले भने, 'यसले निरन्तरता पाइरहोस् भन्ने अपेक्षा छ।'
रिजर्भ गाडी चलाउँदै आएका चूडामणि बस्यालको अनुभवमा ट्याक्सीहरूले पहिलेभन्दा धेरै यात्रु पाउन थालेका छन्। कुन जहाज कति बजे आइपुग्छ भन्ने पहिल्यै जानकारी भए ट्याक्सी व्यवसाय अझ बढ्ने र यात्रुहरूलाई पनि सुविधा हुने उनी बताउँछन्।
अमित भुजेलले सात वर्षदेखि भैरहवा आसपास बिजुली रिक्सा चलाउँदै आएका थिए। पछिल्लो एक सातादेखि उनी विमानस्थलमै केन्द्रित छन्। यसअघि बिजुली रिक्सा चलाएर दैनिक १ हजारदेखि १५ सय रूपैयाँसम्म आम्दानी हुने गरेकोमा अहिले २ हजारभन्दा बढी कमाउने गरेको उनी बताउँछन्।
'जहाजबाट आउने यात्रु ओसार्दा आम्दानी धेरै हुन्छ। विदेशबाट आएका कतिपयले टिप्स पनि दिनुहुन्छ,' उनले भने, 'विमानस्थल सधैं चल्ने हो भने कमाइ गर्न विदेश जानै पर्दैन भन्ने लाग्छ। परिवारसँग बसेर महिनाकै ५०-६० हजार आम्दानी गर्न सकिन्छ।'
लुम्बिनी होटल व्यवसायी संघका अध्यक्ष गोविन्द ज्ञवाली भने अहिल्यै ढुक्क हुने अवस्था नआएको टिप्पणी गर्छन्।
'अन्तर्राष्ट्रिय उडान सुरू हुनु सकारात्मक उपलब्धि हो। तर यो कहिलेसम्मलाई हो भन्ने प्रश्न छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गर्नुपरेकाले मात्र यी जहाजलाई भैरहवा पठाइएको हो भन्ने सुनिन्छ। त्यसो हो भने हामीले उत्सव मनाएर केही काम छैन,' उनले भने।
त्रिभुवन विमानस्थलको क्षमता विस्तारका लागि राति १० देखि बिहान ८ बजेसम्म दैनिक १० घन्टा उडान बन्द गरिएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू भैरहवा जान तयार भएका हुन्। यसअघि त्रिभुवन विमानस्थलमा दैनिक २१ घन्टा उडान हुने गरेकोमा कात्तिक २३ देखि १४ घन्टामा सीमित भएको छ। यसले अन्तर्राष्ट्रिय उडान ३० प्रतिशत र आन्तरिक उडान ३५ प्रतिशत कटौती भएका छन्।
मौसमका कारण पनि गौतम बुद्ध विमानस्थल सञ्चालन अवरूद्ध हुने हो कि भन्ने उनलाई डर छ। विगतमा पुसदेखि मात्र आउने हुस्सु र शितलहर यसपालि कात्तिकबाटै सुरू भइसकेको छ। यही बहाना बनाएर फेरि पनि उडान रोकिन सक्ने उनी बताउँछन्।
'बौद्ध धर्मावलम्बीहरू धेरै भएका भियतनाम, क्याम्बोडिया, श्रीलंका, थाइल्यान्ड, म्यानमार, जापान, चीन लगायत देशबाट सिधा उडान सुरू नभएसम्म लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन हुँदैन,' उनले भने, 'गौतम बुद्ध विमानस्थलको स्थायित्व तिनै मुलुकसँगको सिधा हवाई सम्बन्धमा टिकेको छ। अहिले आइरहेका जहाज र यात्रुलाई हेरेर मात्र लगानी गर्ने हो भने हामी ऋणको भारमा थप डुब्छौं।'
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ पनि अन्तर्राष्ट्रिय उडानले ल्याएको उत्साह कायम राख्न सरकारले पहलकदमी लिनुपर्ने बताउँछन्।
'लामो समयदेखि बन्द भएका र निर्माण क्रममै अलपत्र छाडिएका होटलहरू धमाधम पूरा गर्नुपर्नेछ। यसका लागि सरकारले विगतमा निर्णय गरेअनुसारका काम छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ,' उनले भने, 'सरकारले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरू गरेपछि निजी क्षेत्रले होटल र पर्यटन क्षेत्रमा करिब ८० अर्ब रूपैयाँ लगानी गरेका थिए। साढे दुई वर्ष विमानस्थल सञ्चालनमा नआउँदा लगानी संकटमा परेको थियो। अझै पनि निजी क्षेत्रको विश्वास जित्न बाँकी छ।'
पर्यटन व्यवसायी सञ्जय बजिमय भने भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरू भएपछि निकै आशावादी भएको बताउँछन्। यसले निरन्तरता पाउने हो भने लुम्बिनी क्षेत्रको पर्यटनमा गुणात्मक विकास हुने उनको भनाइ छ।
हामीले व्यवसायीहरूमा जागेको उत्साह र संशयबारे विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीसँग कुरा गरेका छौं।
तत्कालका लागि विमानस्थल पूर्वाधारमा कुनै समस्या नरहेको र आगामी दिनमा अरू एयरलाइन्सले उडान थप्दा अझै गुल्जार हुने उनको भनाइ छ।
विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यबाट भैरहवासम्म सिधा उडान नगरी काठमाडौं जोडिएर उडान गरिरहेका जहाजले पनि यो विमानस्थलको प्रचारप्रसार गरिरहेकाले सकारात्मक मान्नुपर्ने उनी बताउँछन्।
'कतारको वाइडबडी जहाजले गौतम बुद्ध विमानस्थलमा उडान सुरू गरेपछि अब अरू एयरलाइन्स कम्पनीले पनि यहाँ वाइडबडी ल्याउन हिच्किचाउनुपर्ने अवस्था छैन,' उनले भने, 'यसले कम्तिमा विभिन्न देशमा भैरहवा विमानस्थलको प्रचारप्रसार भइरहेको छ।'
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न सरकारले विभिन्न छुट दिइरहेको छ। हवाई टिकटमा लगाउने गरिएको ३ हजार रूपैयाँको यात्रु सेवाशुल्क छुट छ। जहाजहरूको पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पनि छुट दिइएको छ। अन्तर्राष्ट्रिय हवाई टिकटमा लाग्ने १ हजार रूपैयाँको पर्यटन शुल्क पूर्ण रूपमा र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइएको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरूलाई इन्धनमा तोकिएको मूल्यमा प्रतिकिलोलिटर एक सय डलर छुट दिइएको छ।
यसरी विभिन्न शीर्षकमा छुट दिएर भए पनि सरकारले अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई भैरहवाबाट उडान भर्न प्रोत्साहित गरिरहेको छ। यो छुट अझ विस्तार गर्दै गौतम बुद्ध विमानस्थलमा अवतरण गर्ने विदेशी पर्यटकलाई नि:शुल्क भिसा दिनुपर्ने कुरा पनि उठेको छ।
सरकारले छुट दिएजस्तै एयरलाइन्स कम्पनीहरूले हवाई भाडा घटाउने हो भने यात्रु संख्या स्वाभाविक रूपले बढ्ने महाप्रबन्धक तिवारी बताउँछन्।
'पर्यटन व्यवसायीले पनि यो विमानस्थल प्रवर्द्धन गर्न प्याकेज कार्यक्रम ल्याउनुपर्छ,' उनले भने, 'हिजोसम्म विमानस्थल नचलेर यहाँको पर्यटन क्षेत्र धराशायी भयो भन्ने थियो। अब जहाजहरू आउन थालेपछि निजी क्षेत्रले पनि पर्यटक आकर्षित गर्न प्याकेज कार्यक्रम ल्याउनुपर्छ।'
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य समस्या कम 'भिजिबिलिटी' मा पनि जहाज उडान र अवतरण गर्न सक्ने 'आइएलएस' प्रविधिको अभाव हो। भारतसँग सिमा जोडिएको ठाउँ भएकाले यहाँ आइएलएस प्रविधि प्रयोगमा ल्याउन सकिएको छैन।
यसको विकल्पमा भू-उपग्रहमा आधारित प्रविधि प्रयोग गर्ने तयारी भइरहेको तिवारी बताउँछन्।