त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र क्षमता अभिवृद्धि योजना अन्तर्गतका काम अहिले तीव्र रूपमा अघि बढाइएको छ।
संवेदनशील क्षेत्रमा काम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक रात दस बजेदेखि बिहान आठ बजेसम्म दस घन्टा उडान बन्द गरेर विमानस्थल विस्तार र स्तरोन्नति गरिरहेको हो।
यो अवधिमा के कति काम भयो, समानान्तर ट्याक्सी वे, इन्टरनेसनल एप्रोन र ह्यांगर एप्रोन निर्माण जस्ता महत्त्वपूर्ण काम कसरी अघि बढ्दैछ, निर्माण गुणस्तर कस्तो छ र तोकिएको समयभित्र काम सकिने सम्भावना के छ लगायत विषयमा हामीले भिडिओ रिपोर्ट तयार गरेका छौं।
प्राधिकरणका अनुसार अहिले निर्माण क्षेत्रमा ३ सयभन्दा बढी दक्ष जनशक्ति र आधुनिक उपकरण प्रयोग भइरहेको छ। राततको समयमा धावनमार्ग स्तरोन्नति, समानान्तर ट्याक्सी वे कालोपत्र गर्ने, एप्रोन विस्तार गर्ने र ह्यांगर बनाउने काम भइरहेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र मन्त्रालयका प्रतिनिधिहरूले सोमबार यहाँको स्थलगत निरीक्षण गरेका थिए।
पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिले काममा सन्तुष्टि जनाए।
'समयमै काम सकिन्छ भन्ने यो योजनाले देखाएको छ। तोकिएको समयभित्र परियोजना सकिए विमानस्थलको क्षमता २० देखि २५ प्रतिशतले बढ्नेछ र एयर ट्राफिक व्यवस्थापन थप सहज हुनेछ,' पाण्डेले भने।
यहाँको काम आगामी चैत १८ गतेसम्म सक्नुपर्नेछ।
विमानस्थल स्तरोन्नति क्रममा उडान कटौती गर्दा सास्ती धेरै भएको गुनासो पनि सुनिँदै आएको छ। यसबारे हामीले प्राधिकरणका अधिकारीलाई सोधेका थियौं। उनले निर्माण सामग्री र कामको गति सन्तुलन गर्न, साथै उडान सुरक्षामा कुनै खतरा सामना गर्न नपरोस् भनेर उडान रोकिएको बताए।
यो विमानस्थलमा ७४ वर्षपछि पहिलो पटक यस्तो व्यापकस्तरको स्तरोन्नति भइरहेको हो। योसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि देशको हवाई सेवामा नयाँ आयाम थपिएको छ।