काठमाडौंको कमलादीमा अन्तर्राष्ट्रिय चेनको नयाँ होटल सञ्चालनमा आउँदैछ।
विश्वप्रसिद्ध मेरियट ग्रुप अन्तर्गतको 'मोक्सी' ब्रान्डको यो होटल नेपालमै पहिलो पटक सुरू हुन लागेको हो। उद्योगी तथा होटल व्यवसायी शशिकान्त अग्रवालले मोक्सी ब्रान्ड नेपाल भित्र्याएका हुन्।
मोक्सी युरोप र अमेरिका फैलिसकेको होटल ब्रान्ड हो। अग्रवालका अनुसार युवा पुस्ता र फरक स्वादको अन्तर्राष्ट्रिय अनुभव लिन चाहनेलाई लक्ष्य गरिएको यो होटलको निर्माण काम सकिएको छ। कर्मचारी पूर्ति तथा आवश्यक तालिमको काम हुँदैछ।
'आगामी दुई महिनाभित्र पूर्ण र औपचारिक रूपमा सञ्चालनमा आउँछ,' अग्रवालले भने।
अग्रवालको व्यापारिक घराना एमएस समूहले पछिल्लो समय होटलमा लगानी बढाउँदै लगेको छ।
समूहले आठ वर्षअघि तीनतारे होटल फेयरफिल्ड बाई मेरियट र त्यसपछि पाँचतारे होटल मेरियट सञ्चालनमा ल्याएको थियो। अहिले चारतारे मोक्सी सहित तीन होटलमा लगानी नौ अर्ब रूपैयाँ नाघिसकेको छ। फेयरफिल्डमा झन्डै डेढ अर्ब रूपैयाँ, मेरियटमा साढे पाँच अर्ब रूपैयाँ र मोक्सीमा दुई अर्ब रूपैयाँ सुरूआती लगानी भएको उनले बताए।
'पहिल्यै किनेको जग्गा र स्वपुँजी बढी भएकाले मोक्सी सञ्चालनमा सहयोग पुगेको हो। ५० प्रतिशत बैंक ऋण र ५० प्रतिशत स्वपुँजी लगानी गरेका छौं,' उनले भने।
मेरियट ग्रुप अन्तर्गतको मोक्सी ब्रान्ड तुलनात्मक रूपमा किफायती र रमाइलो अनुभवका लागि परिचित छ। यो होटल मुख्यतया नयाँ पुस्ता, झोला बोकेर स्वतन्त्र रूपमा यात्रा गर्ने घुमन्ते र डिजिटल यात्रुहरूका लागि हो। औपचारिक सेवाभन्दा रमाइलो, रंगीबिरंगी सजावट, साझा ठाउँमा बसेर सामाजिक घुलमिलको अनुभव मोक्सीको विशेषता हो।
'नेपालमा पछिल्ला वर्षमा धेरै होटल खुलेका छन्। तर युवा, रमाइलो मनपराउनेका लागि र अन्तर्राष्ट्रिय सेवा दिने स्तरको होटल होटल थिएन। त्यही सोचेर मोक्सी ल्याएका हौं,' अग्रवालले भने।
उनका अनुसार मोक्सी विश्वका २९ देशमा फैलिएको ब्रान्ड हो। काठमाडौंमा खुलेको मोक्सी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै ढाँचामा सजिएको छ।
होटल प्रवेश गरेदेखि नै गीत/संगीत बजेको सुनिन्छ। झिलिमिली बत्तीहरू छन्। युवा अनुकूल डिजाइन गरिएको छ।
सामान्यतया होटल छिर्दा रिसेप्सन डेस्क हुन्छ जहाँ पाहुनाले सोधपुछ गर्छन् वा कोठाको चाबी लिन्छन्। मोक्सीमा भने यस्तो परम्परागत रिसेप्सन डेस्क हुँदैन। यसको सट्टा पाहुना सिधै बारमा पुग्छन्। बार काउन्टरमै चेक–इन गर्छन्। त्यही बारबाट वेलकम ड्रिंक दिइन्छ।
दुई रोपनी जग्गामा बनेको मोक्सीमा १०८ वटा कोठा छन्। अधिकांश कोठा डिलक्स स्ट्यान्डर्डका छन्। स्विमिङ पुल, पुल बार, काठमाडौंको दृश्य देखिने १० औं तला, मेक्सिकन रेस्टुरेन्ट लगायत सुविधा छन्।
'यो बहुप्रयोजनको होटल हो। काम गर्ने, रमाइलो गर्ने दुवै प्रकारका मानिसका लागि हुन्छ,' अग्रवालले भने।
अहिले धेरै नयाँ होटल सञ्चालनमा आइरहेका अवस्थामा प्रतिस्पर्धा र जोखिम धेरै भए पनि मोक्सी नयाँ किसिमको भएकाले यसले पर्यटक तान्ने उनको विश्वास छ।
भविष्यको बजार सोचेर लगानी गरेको भन्दै उनले भने, 'नेपालमा पनि मोक्सी खुलेछ, त्यसैले नेपाल जानुपर्छ भन्ने पर्यटक हुन सक्छन्। यसको बजार राम्रो हुने विश्वास छ।'
लक्जरी होटल भए पनि चारतारे होटल मोक्सी तुलनात्मक रूपमा किफायती भएको उनको दाबी छ।