त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले कर्मचारीहरूलाई जबाफदेही बनाउन एकीकृत जबाफदेहिता सूची तयार गरेको छ।
भिजिट भिसा प्रकरणले विवादित बनेको अध्यागमन कार्यालयले सुधारका लागि भन्दै सोमबारदेखि एकीकृत जबाफदेहिता म्याट्रिक्स तयार गरी लागू गरेको हो।
यो खाकामा के कस्ता समस्या वा अवस्थामा प्रथम जिम्मेवार र अन्तिम जिम्मेवार को हुने भनेर विस्तृत रूपमा उल्लेख गरिएको छ।
'मान्छे भएपछि गल्ती हुन्छ, जानेर वा नजानेर पनि गल्ती हुन्छन्। तर जनताका समस्या पहिल्यै पहिचान भए भने दुःख पाउँदैनन्। समस्याहरू आइरहेका छन्, त्यो कम गर्न र अधिकृतहरूलाई जिम्मेवार बनाउन यो फ्रेमवर्क लागू गरिएको हो,' प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले भने।
अध्यागमन सुधारका निम्ति यसअघि विभागमा नारायणप्रसाद भट्टराई महानिर्देशक हुँदा नै खाका तयार भएको उनले बताए। अहिले आन्तरिक रूपमा यसमा काम गरी कार्यान्वयनमा लगिएको उनले बताए।
'पूर्वमहानिर्देशक भट्टराई हुँदा उहाँले लागू गर्न खोज्नुभएको थियो। तर भएन। त्यसलाई आधार मानेर हाम्रो उपसचिव अच्युत ढुंगानाले यसमा काम गर्नुभयो,' कोइरालाले भने, 'अध्यागमन सुधार गर्न हामीलाई मुख्यसचिवज्यूको पनि निर्देशन थियो। त्यस अनुसार नै काम अघि बढाएको हो।'
यो खाका कार्यान्वयनमा कर्मचारीको पनि सहयोग रहने उनले बताए।
'यो कार्यान्वयनका लागि कर्मचारी साथीहरूबाट शत प्रतिशत समर्थन हुन्छ। बैठक गरेर यो दिइसकिएको छ। कसैबाट बाधा छैन। बरू सुझाव प्राप्त भएको छ,' उनले भने, 'सुधारका लागि सबै खुसी नै हुनुहुन्छ भन्ने मेरो विश्वास छ।'
हेर्नुस् जवाफदेही सूची: