पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ७ मा रहेको कमलपोखरी झन्डै एक दशकपछि पुरानै अवस्थामा फर्किएको छ।
नगरपालिका र स्थानीयले बेवास्ता गर्दा कमलपोखरी मासिने अवस्थामा पुगेको थियो। पछिल्लो समय डिभिजन वन कार्यालय र तानसेन नगरपालिका मिलेर संरक्षणमा जुटेपछि पोखरीको रूप फेरिएको हो।
पाल्पाको प्रभासस्थित सिद्धार्थ राजमार्गको पूर्वतर्फ ३४ रोपनी जग्गामा रहेको यो पोखरी तत्कालीन जिल्ला विकास समितिको नाममा थियो। समितिले पोखरीमा २०५७ सालमा डुंगा सञ्चालन गरी पर्यटकीय पूर्वाधारका रूपमा विकास गरेको थियो।
स्थानीयका अनुसार विभिन्न पवित्र नदी तथा तलाउहरूको जल ल्याई राखिएकाले यो पोखरी धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ।
पहिले प्रभास ताल नाम भए पनि यहाँ कमलको फूल ढकमक्क हुने भएकाले कमलपोखरीका रूपमा चिनिन थाल्यो। विगत १० वर्षमा भने पोखरीमा न डुंगा चल्यो, न कमल फुल्यो।
संरक्षण गर्ने निकायको बेवास्ता र स्थानीयको लापरबाहीका कारण पोखरी जलकुम्भीले ढाकियो। नजिकै लुम्बिनी मेडिकल कलेज स्थापना भएपछि त पोखरीको अस्तित्व नै मेटिने अवस्थामा पुगेको थियो। मेडिकल कलेजले अस्पतालबाट निस्किने फोहोर पानी सिधै पोखरीमा फाल्दा विभिन्न प्रजातिका माछा र वनस्पति पनि मासिए।
कृत्रिम तालहरूमा पर्यटक आकर्षित भइरहँदा, हिउँद होस् या वर्षा, बाह्रै महिना प्राकृतिक रूपमै पानीले भरिने कमलपोखरी भने वर्षौं बेवारिसे बन्यो।

अहिले यो पोखरी पहिलेजस्तै कमलले ढाकिएको छ।
कमलपोखरी रहेको वडा नम्बर ७ का वडा अध्यक्ष प्रदीप खनालका अनुसार संरक्षणका लागि चार वर्षदेखि गरेको मेहनत र लगानीले पोखरी दस वर्ष पहिलेको अवस्थामा फर्काउन सकिएको हो।
'म ४४ वर्षको भएँ। यही पोखरी वरिपरि खेल्दै हुर्किएको हुँ। अहिले जस्तो पोखरी नै ढाकिने गरी १० वर्ष पहिले कमल फुलेको थियो। सात–आठ वर्ष त जलकुम्भीले ढाकिएर एउटा फूल देखिँदैन थियो। ठूलो मेहनतले पोखरी पहिलेको अवस्थामा फर्काउन सकियो,' उनले भने।
पहिले ३४ रोपनी सरकारी र त्यति नै स्थानीयको गरी करिब ७० रोपनी क्षेत्रमा कमलपोखरी थियो। जिल्ला विकास समितिले व्यक्तिहरूको जग्गा पनि अधिग्रहण गरेर पोखरी व्यवस्थित गर्ने प्रयास गरेको थियो। तर उक्त प्रयास सफल हुन सकेन।
जलकुम्भीले ढाकिँदै जाँदा कमल र अन्य वनस्पति नासिन थालेपछि व्यक्तिहरूले आफ्नो नाममा रहेको पोखरीको भागमा माटो हालेर पुर्दै गए। पहिले फराकिलो देखिने पोखरी साँघुरो बन्यो। बाँकी जलकुम्भीले ढाकिँदै गयो।
अहिलेका वडाध्यक्ष प्रदीप २०७८ सालमा स्थानीय 'वंश गोपाल युवा क्लब' का अध्यक्ष थिए। क्लबको सक्रियतामा २०७८ सालदेखि पोखरी संरक्षणको पहल सुरू भयो।
त्यही वर्ष तानसेन नगरपालिका र डिभिजन वन कार्यालयले पोखरी संरक्षणका लागि पाँच/पाँच लाख गरी १० लाख रूपैयाँ विनियोजन गरे।
प्रदीप आफै उपभोक्ता समिति अध्यक्ष बने।
'त्यही १० लाख रूपैयाँबाट पोखरीको चारैतर्फ डिल उठाएर बाहिरबाट फालिएको नाली रोक्ने काम गरियो,' उनले भने।
डिल उठाएर ढल आउन रोकिएपछि पोखरीमा विभिन्न प्रकारका माछा र सरिसृपहरू देखिन थालेका छन्।

२०७९ सालमा वडाध्यक्ष निर्वाचित भएपछि प्रदीपले कमलपोखरीको जलकुम्भी हटाउने प्रयास थाले। पहिलो वर्ष युवा क्लब र स्थानीयवासीको सहयोगमा पोखरीको जलकुम्भी निकाले। त्यस वर्ष दुई–चार वटा कमलका बोट उम्रिए। अहिले पोखरीभरि ढाकिएको छ।
'पोहोर धेरै पातलो उम्रिएको थियो। पोखरी ढाकिँदैन कि भनेर आफैले खोजेर डेढ किलो जति बिउ छरेको थिएँ। अहिले ढकमक्क नै भयो,' उनले भने।
यहाँको कमल अन्यत्र पाइने भन्दा अलि फरक भएको उनले बताए।
'यहाँका सबै फूल सेता छन् र आकार पनि ठूला छन्। अन्यत्र पाइने कमलका पातहरू पानीमा तैरिएका देखिन्छन्। यहाँ पानी माथि ठडिएका छन्,' प्रदीपले भने।
कमल फुल्न थालेपछि पोखरीमा वडा कार्यालयमार्फत् डिभिजन वन कार्यालय र राष्ट्रपति चुरे संरक्षण कार्यालयले झन्डै ३० लाख रूपैयाँ लगानी गरी चारैतर्फ टायल बिच्छाएर पैदलयात्रीका लागि पथ निर्माण गरेका छन्।
आर्थिक वर्ष २०८०/८१ मा वन कार्यालयको २० लाख रूपैयाँ सहयोगमा पादपथ बनाउने र ब्लक लगाउने काम सुरू भएको थियो। रकम अपुग भएपछि २०८१/८२ मा राष्ट्रपति चुरे संरक्षण कार्यालयको १० लाख रूपैयाँ सहयोगमा ब्लकको कामसँगै दक्षिणतर्फको ढिकमा पर्खाल उठाउने काम भएको छ।
अहिले वरपरिको पादपथबाट पोखरी अवलोकन गर्न मिल्ने भएको छ।
पोखरी अवलोकन गर्न आउनेलाई विश्राम गर्न विभिन्न संघसंस्थाले पादपथको छेउमा बेन्च पनि राखिदिएका छन्। साँझ–बिहान व्यायामका लागि आउनेहरूलाई लक्षित गरी खुला व्यायामशाला र चिल्ड्रेन–पार्क निर्माण गरिएको छ।
पोखरीबाट लोपजस्तै भइसकेको कमल फुल्न थालेपछि अहिले यहाँ आन्तरिक र बाह्य पर्यटकहरू बढेका छन्। बिहान र साँझ स्थानीयवासी ताल वरिपरि घुम्छन्। नगरपालिकाले फूल संरक्षणका निम्ति कमल टिप्नेलाई एक हजार रूपैयाँ जरिवाना तोकिदिएको छ।
