विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डे कास्ट्रेन्स्ज पिरामिड भनिने ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो हिमाल आरोहणका लागि प्रस्थान गर्दैछन् ।
आरोही प्रकाशराज पाण्डेलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहण अभियानमा सफलताको शुभकामना दिई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै अभियानमा सफल रही स्वदेश फिर्न शुभकामना दिएका थिए | आरोही पाण्डे अगस्ट ११ मा इण्डोनेशिया तर्फ प्रस्थान गर्दैछन् ।
सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमाल सहित दर्जनको संख्यामा सफल आरोहण गरिसकेका पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान शुरु गर्दै २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गरेका थिए भने सोही वर्षको नोभेम्बरमा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको सफल आरोहण गरेका थिए ।
पाण्डेले यसैवर्ष फेब्रुअरीमा अर्जेन्टिनामा रहेको दक्षिण अमेरिकी महादेशको उच्च शिखर अकोन्कागुआको सफल आरोहण पनि गरिसकेका छन्|
रामेछाप लिखु तामाकोशी–७, तिल्पुङका पाण्डे हाल महालक्ष्मी नगरपालिका-२, ललितपुर बस्छन्।
पाण्डेले सन् २०१६ देखि पर्वतारोहण सुरु गर्दै २०१८ मा सगरमाथाको आरोहण गरेका थिए । त्यसयता निरन्तर हिमालहरू चढिरहेका पाण्डेले सेभेन समिटको विशेष अभियानको शुरुवात गरी नियमित अन्तरालमा महादेशीय उच्च हिमालको आरोहण गर्दै आइरहेका छन् ।
मकालु आउटफिटले सघाएको पर्वतारोही पाण्डेको यस अभियान मार्फत सदाझैँ जलवायु परिवर्तनको मुद्दा उठाउने उनले बताए ।
आफ्नो अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरहरुका बारेमा आरोहण गर्ने हिमाल रहेको देश एवं अन्तर्राष्ट्रियरुपमा पनि कुरा उठाउने र सरोकार राख्ने सबैलाई यसतर्फ ध्यानाकृष्ट गराउने प्रयास आफूले गरिरहेको उनले बताए ।
पर्वतीय देशको बासिन्दा भएका कारणले जलवायु परिवर्तनको असर प्रत्यक्ष भोगेको हुँदा यसको बारेमा जनचेतना जगाउन र नीति निर्माणमा घच्घच्याउनु आफ्नो कर्तव्य रहेको उनले बताए ।
जलवायु परिवर्तन निम्त्याउन नेपाल जस्तो देशको नगन्य योगदान रहे पनि यसका कारणले सिर्जित विषम परिस्थितिको सामना भने अन्य राष्ट्रका तुलनामा अझ बढी गरिरहनु परेको हुँदा जलवायु परिवर्तनको मुद्दा संसारका सबै देशहरुको गम्भीर चासोको विषय हुनुपर्ने पनि उनले बताए ।
विभिन्न आदिवासी समूहहरुको उल्लेख्य बसोबास रहेको इण्डोनेशियाको पपुवा प्रान्तमा पर्ने यस हिमाललाई स्थानीय भाषामा पुन्जाक जाया नाउँले पनि चिनिन्छ ।
भूमध्य रेखीय क्षेत्रमा पर्ने ४८८४ मिटर अग्लो यो हिमाललाई डच समुद्र यात्री जोन कास्ट्रेन्स्जले विश्व सामु परिचित गराएका थिए जसका कारण उनकै नाउँमा विश्व समुदायले यस हिमाललाई चिन्दछ ।
यो हिमाल विश्वका सात महादेश र भौगोलिक क्षेत्रका उच्च हिमाल मध्येको एक हो । चुनढुंगाले बनेको ठाडो पर्वतीय भूबनोटमा पिरामिड आकारमा ठडिएका कारण पिरामिड भनिएको यो हिमाल आरोहीहरुका लागि निकै चुनौतीपूर्ण मानिन्छ ।
हिमाल आरोहणमा विशेष मानिने सेभेन समिट अभियानको क्रममा सातै महादेशका अग्ला हिमालहरुमा फहराएको नेपालको झण्डा अब इण्डोनेशियाबाट क्रमशः अमेरिका, अन्टार्कटिका हुँदै नेपाली भूमिमै फर्किएर सगरमाथामा पुनः फहराउने आरोही पाण्डेले बताए ।
मकालु आउटफिटको ब्रान्डमा हिमाल आरोहण गरिरहेका पाण्डेलाई विभिन्न पालिका, व्यवसायिक प्रतिष्ठान तथा संघसंस्थाले आवश्यक आर्थिक सहयोग तथा माउन्टेनियरिंग गियरहरु उपलब्ध गराइरहेका छन् ।
अहिले व्यवसायिक तथा रणनीतिक साझेदारहरु आफूसँग जोडिने क्रम बढ्दै गएकोले आफ्नो अभियान छिटै सफल हुनेमा आरोही पाण्डेले विश्वास व्यक्त गरे ।
इण्डोनेशिया पछि संयुक्त राज्य अमेरिकामा रहेको उत्तर अमेरिकी उच्च हिमाल माउन्ट डेनालीको आरोहण गर्ने लक्ष्य रहेको समेत पाण्डेले बताए ।