नाइमा मोबिलिटी एक्स्पो
नयाँ नयाँ मोडलका गाडीमा रूचि राख्नेहरूका लागि हुन्डाईको 'क्रेटा' नौलो नाम होइन। हामीले केही वर्षदेखि नै नेपालका सडकमा ठूलो संख्यामा क्रेटा गाडी कुदिरहेको देखेका छौं।
तर यही नामको बिजुली गाडी धेरैका लागि नौलो हुन सक्छ।
हो, हुन्डाईले आफ्नो चिरपरिचित मोडल 'क्रेटा' कै नाममा इलेक्ट्रिक गाडी पनि उत्पादन गर्न थालेको छ।
दक्षिण कोरियाली कम्पनी हुन्डाईले पहिलो पुस्ताको 'क्रेटा' गाडी सन् २०१५ मा सार्वजनिक गरेको थियो। हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले त्यसै वर्षबाट नेपाली बजारमा पनि बिक्री सुरू गर्यो। पेट्रोल र डिजेल दुवै किसिमका इन्धनबाट चल्ने क्रेटा उपलब्ध छन्।
पहिलो पुस्ताको क्रेटा सार्वजनिक भएको १० वर्षपछि सन् २०२५ जनवरीमा हुन्डाईले यही नामको इलेक्ट्रिक गाडी बजारमा ल्याएको हो। भारतको नयाँदिल्लीमा आयोजित 'भारत मोबिलिटी ग्लोबल एक्स्पो' मा क्रेटाको बिजुली संस्करण सार्वजनिक गरिएको थियो। लक्ष्मी इन्टरकन्टिनेन्टलले गत मार्च २४ बाट नेपालमा पनि बिक्री गरिरहेको छ।
भृकुटीमण्डपमा जारी 'नाइमा नेपाल मोबिलिटी एक्स्पो' मा लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्ना अन्य गाडीसहित क्रेटाका यी दुवै संस्करण प्रदर्शनीमा राखेको छ। अटोमोबाइल्स आयातकर्ता तथा उत्पादकहरूको संगठन 'नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन' (नाइमा) ले आयोजना गरेको यो प्रदर्शनी आज आइतबार सम्पन्न हुँदैछ।
यो स्टोरीमा हामी क्रेटाका यी दुवै संस्करणको तुलनात्मक विश्लेषण गर्दैछौं।
दुवै 'एसयुभी' गाडी भए पनि हुन्डाईको इलेक्ट्रिक क्रेटा र सामान्य क्रेटा (पेट्रोल/डिजेल) मा प्रस्टै छुट्टिने खालका भिन्नता छन्। यो भिन्नता प्राविधिक मात्र होइन, गाडीको बाहिरी डिजाइन र भित्री सजावटमा पनि छ।
सबभन्दा पहिला कुरा गरौं बाहिरी डिजाइनको। यसमा ठूलो भिन्नता गाडीको अगाडिको भागमा देखिन्छ।
इलेक्ट्रिक क्रेटाको अगाडिको भाग
सामान्य क्रेटाको अगाडिको भाग
सामान्य क्रेटाको अगाडि भागमा ठूलो र चारपाटे 'ग्रिल' छ। ग्रिल भनेको जाली जस्तो संरचना हो, जहाँबाट हावा भित्र पसेर गाडीको इन्जिन र अन्य पार्टपुर्जा चिसो राख्न मद्दत गर्छ। यसले गाडीको अगाडि भागलाई 'स्टाइलिस' पनि देखाउँछ।
इलेक्ट्रिक क्रेटामा यो संरचना एकदमै फरक छ। यसमा चारपाटे र ठूलो ग्रिल छैन। त्यसको सट्टा कम्प्युटरको पिक्सेल जस्तै देखिने साना साना वर्गाकार डिजाइनका प्वाल छन्। यसले इलेक्ट्रिक क्रेटालाई पुरानो संस्करणभन्दा स्टाइलिस बनाएको छ। त्यही ग्रिलको बीचमा 'हुन्डाई' को लोगो र ब्याट्री चार्ज गर्ने चार्जिङ पोर्ट छ।
इलेक्ट्रिक क्रेटाको बम्पर पनि फरक छ। यसमा 'एयर फ्ल्याप' जडान गरिएका छन्। गाडी गुडिरहँदा यो भाग नियमित रूपले खुल्ने र बन्द हुने भइरहन्छ। यसले हावाको प्रवाह नियन्त्रण गरी ब्याट्री चिसो राख्न मद्दत गर्छ।
अर्को भिन्नता पांग्रामा देखिन्छ।
हुन त इलेक्ट्रिक र सामान्य क्रेटा दुवैमा १७ इन्चका पांग्रा प्रयोग भए पनि इलेक्ट्रिक क्रेटामा पांग्राको डिजाइन फरक छ। यसमा 'एरोडायनामिक' डिजाइनका टायर राखिएका छन्, जसले हावाको प्रवाह कम नियन्त्रण गरी ब्याट्री लामो समय टिकाउन मद्दत गर्छ।
यो टायर सडकमा गुड्दा घर्षण पनि कम हुन्छ। यसले पनि ब्याट्री लामो समय टिकाउँछ।
इलेक्ट्रिक क्रेटाको पांग्रा
सामान्य क्रेटाको पांग्रा
दुवै गाडी साइडबाट हेर्दा भने एकदमै मिल्दोजुल्दो देखिन्छ। बाहिरी स्वरूपदेखि झ्यालको माथिल्लो र तल्लो लाइन पनि उस्तै उस्तै छन्।
यति हुँदाहुँदै इलेक्ट्रिक क्रेटामा छानाको रङ, छानाको छेउ–छेउको भाग र बाहिरी रियर भ्यू ऐना सामान्य क्रेटाको दाँजोमा फरक छ।
पछाडिको भागमा पनि खासै धेरै भिन्नता छैन। दुवैमा अंग्रेजी अक्षर 'एल' को ठ्याक्कै उल्टो देखिने टेल लाइटहरू छन्। तर इलेक्ट्रिक क्रेटाको पछाडिको बम्पर अलिकति फरक छ। यसमा पनि अगाडिको बम्परमा जस्तै कम्प्युटर पिक्सेलको डिजाइन बनाइएको छ।
अब कुरा गरौं, भित्री बनावटको।
इलेक्ट्रिक र सामान्य क्रेटा दुवैको भित्री भागमा कालो र सेतो रङ मिश्रण गरिएको छ। यसले यी दुवै गाडी आकर्षक देखिन्छन्।
गाडीको स्पिड लगायतका जानकारी दिने ड्यासबोर्ड लगभग उस्तै छ। आकाश छर्लंग देख्न सकिने छत पनि दुवैमा उस्तै छ। तर इलेक्ट्रिक क्रेटामा स्टेयरिङको डिजाइन फरक छ। यो हुन्डाई आइओनिक–५ बाट प्रेरित रहेको गाडी समीक्षकहरूले बताएका छन्।


त्यस्तै, इलेक्ट्रिक क्रेटामा गियर लिभरको सट्टा 'ड्राइभ मोड डायल' र स्टेयरिङ पछाडि 'सिफ्ट–बाई–वायर' प्रणाली राखिएको छ।
'ड्राइभ मोड डायल' भनेको एउटा गोलो बटन हो, जसलाई घुमाएर गाडी हाँक्ने तरिका छनौट गर्न सकिन्छ। यसमा साधारण ड्राइभिङदेखि ब्याट्री बचत र स्पोर्टी ड्राइभिङका विकल्प उपलब्ध छन्।
'सिफ्ट–बाई–वायर' भनेको इलेक्ट्रोनिक संकेतका आधारमा गियर फेर्ने प्रणाली हो। यसले गियर परिवर्तनलाई सहज बनाउँछ।
इलेक्ट्रिक क्रेटाको खास विशेषता 'भिटूएल' (भेहिकल–टू–लोड) प्रणाली हो।
यो प्रविधिमार्फत् तपाईं आफ्नो गाडीलाई अन्य घरायसी उपकरणहरूको निम्ति बिजुली स्रोतका रूपमा प्रयोग गर्न सक्नुहुन्छ। खासगरी बिजुली कटौती हुँदा वा आपतकालीन अवस्थामा यो सुविधा निकै उपयोगी हुनसक्छ।
सामान्य भाषामा भन्नुपर्दा, तपाईंको गाडीले आपतकालीन अवस्थामा घरमा बिजुली आपूर्ति गर्ने 'पावर बैंक' को काम गर्छ।
यी त भए इलेक्ट्रिक क्रेटा र सामान्य क्रेटा (पेट्रोल/डिजेल) मा पाइने भिन्नता। जहाँसम्म मूल्यको कुरा छ, पेट्रोलबाट चल्ने क्रेटा ५५ लाखदेखि ८० लाख रूपैयाँका छन् भने इलेक्ट्रिक क्रेटा ५२ लाखदेखि ६० लाख रूपैयाँ पर्छन्।


इलेक्ट्रिक गाडीको कुरा गर्दा ब्याट्रीको क्षमता सबभन्दा महत्त्वपूर्ण हुन्छ।
इलेक्ट्रिक क्रेटाको ब्याट्री क्षमता ४२ किलोवाट-घन्टाको छ। यसलाई फुल चार्ज गर्दा ३५० देखि ४५० किलोमिटर यात्रा गर्न सकिने लक्ष्मी इन्टरकन्टिनेन्टलका रिटेल प्रमुख दिवाकर रेग्मीले जानकारी दिए।
उनका अनुसार यो मध्यमदेखि लामो दुरीको यात्राका लागि उपयुक्त छ। यसको चार्जिङ क्षमता पनि राम्रो छ। डिसी फास्ट चार्जरले १० प्रतिशतबाट ८० प्रतिशतसम्म ५८ मिनेटमा चार्ज गर्न सक्छ। यसले लामो यात्रा गर्दा छोटो समयमै चार्ज गर्ने सुविधा दिन्छ। घरको ११ किलोवाट एसी चार्जरले भने १० प्रतिशतबाट पूरा चार्ज गर्न ४ घन्टा लाग्छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले बिजुली गाडी चार्ज गर्न सहज होस् भनेर देशभरि ४० वटा चार्जिङ स्टेसन निर्माण गरेको छ। काठमाडौंभित्र तीनकुने, धापासी लगायत ठाउँमा छन्।
यो गाडीले सात सेकेन्डमै सय किलोमिटर प्रतिघन्टाको रफ्तार समात्न सक्ने रेग्मीले बताए।
लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटाका अतिरिक्त अन्य दुई मोडलका इलेक्ट्रिक गाडी 'आइओनिक–५' र 'कोना' पनि प्रदर्शनीमा राखेको थियो। रेग्मीका अनुसार यी दुई इलेक्ट्रिक गाडी उपभोक्ताले रूचाएका छन्।
***
यो पनि पढ्नुहोस्: