सरकारले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानबिन समिति बनाउने संकेत गरेको छ।
बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानबिन समिति बनाउने संकेत गरेका हुन्।
उनले समितिमा सांसदहरूले राखेका धारणा र समितिको निर्देशनअनुसार न्यायिक छानबिन समिति बनाउनुपर्ने आवश्यकता देखिएको बताए।
सौर्य एयरलाइन्सबारे छानबिन आयोगले सेफ्टी अनुसन्धानबारे मात्रै निष्कर्ष निकालेको र न्यायिक निष्कर्ष निकाल्नुपर्ने जरूरी देखिएको बताए।
न्यायिक छानबिन समिति बनाउन मिल्ने हो कि होइन भन्ने कुराको निर्क्यौलमा छिट्टै सरकार पुग्ने पनि बताए। बनाउने हो भने कस्तो बनाउने र त्यसलाई कसरी कार्यकारी बनाउने भन्ने विषयमा छलफल हुने पनि बताए।
मन्त्री पाण्डेले भने, ‘हामीले हवाई नीति बनाउँदैछौं। अन्तिम चरणमा ड्राफ्ट भएको छ। २०१५ सालको ऐनलाई पनि हामी अब नयाँ मस्यौदा गर्ने क्रममा छौँ। सौर्य एयरलाइन्स दुर्घटना र त्यो दुर्घटनाले उजागर गरेका विषयवस्तु र दिगो समाधानका बारेमा धेरै पटक छलफल गरिसकेका छौँ। मेरो बुझाइ के छ भने सेफ्टी इन्भेष्टिगेसन जुन भएको र न्यायिक विषयसँग सम्बन्धित केही कन्ट्यारडिक्शन छ कि भन्ने जस्तो किसिमले हामी छलफलमा अघि बढेका छौँ।’
उनले अगाडि भने, ‘हाम्रो मन्त्रालय र मन्त्रालयसँग जोडिएको क्यान, छानबिन समिति साधन स्रोतको कमी छ। कतिपय छानबिनका लागि विदेश जानुपर्छ। तर पनि काम गर्नुभएको छ। उहाँहरू समेतलाई राखेर काम गर्नुपर्छ। न्यायिक छानबिन समिति बनाउन मिल्ने हो कि होइन भन्ने कुराको निर्क्यौलमा पुग्ने, बनाउने हो भने कस्तो बनाउने र त्यसलाई कसरी कार्यकारी बनाउने भन्ने विषयमा छलफल गर्दछौँ। यत्तिकै यसलाई छोड्नु हुँदैन, निष्कर्षमा पुग्नुपर्छ। निष्कर्षमा पुगेर अघि बढौँ।’
मन्त्री पाण्डेले प्रश्न उठिसकेपछि यत्तिकै छोड्न नहुनेमा सरकार सचेत रहेको बताए।—न्युज एजेन्सी नेपाल