पोखरामा उम्रिएको सांगीतिक फूल ‘नेपथ्य’ जहाँजहाँ फुल्छ, त्यो फूल हेर्न, त्यसको सुगन्ध महसुस गर्न र आफैलाई पुनर्जागृत गर्न दर्शकको ओइरो लाग्छ।
नेपाली लोक जीवनका भाका टपक्क टिपेर अत्याधुनिक रक संगीतमा जब गायक अमृत गुरूङ गाउन थाल्छन्, उनको स्वरमा हजारौं स्वर मिसिन थाल्छन्। उनको श्वासमा श्वास मिलाउँछन्। लय समाउँछन्। अनि अमृतसँगै कम्मर मर्काउन थाल्छन्।
शुक्रबार साँझ पोखरा रंगशालामा सवा ६ बजेदेखि सवा ८ बजेसम्म २ घण्टा पोखरेलीले फेरि नेपथ्यको स्वाद लिन पाए।
आ नै आँगनमा उम्रिएको ब्याण्ड। पोखराकै गाउँबस्तीका गीत गाएर स्थापित भएको ब्याण्ड जब संसार घुमेर आफ्नै गृह नगरमा गुञ्जियो। हजारौं पोखरेली उर्लिएर रंगशाला भरिए।

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले ‘खेलकुदका लागि संगीत’ नारासहित नेपथ्यको कन्सर्ट आयोजना गरेको थियो।
कन्सर्टको टिकट शुक्रबार दिउँसै ‘सोल्ड आउट’ भइसकेको थियो। नेपथ्यको धुन हावामै सुन्न भए पनि दर्शकको भीड सडकदेखि रंगशालाको गेटसम्म भरिएको थियो।
शुक्रबारको साँझ पोखराको सांगीतिक इतिहासमा एउटा अर्को भव्य उत्सवको रूपमा पोखरेली मन मनमा दर्ज भइसकेको छ। त्यो साँझ, नेपथ्यको साँझ बनेर बसेको छ। जसको सांगीतिक झंकारले सबै उमेर समूहका नेपालीलाई लामो समयसम्म झंकार दिइरहनेछ।
गायक अमृतले गीत मात्र गाएनन्। युवाहरूलाई दिशानिर्देश पनि गरिरहे। मानौं, उनी पोखरेलीका घरमूली हुन्। घरमूलीले भनेका कुरा घरका अरू सदस्यले सहमति जनाए जस्तै अमृत वाणीहरूमा युवाहरूले आफ्नो आवाज देखे। आफ्नो भावना देखे। अनि देशका लागि समर्पित हुने अठोट बोके।
पोखराको सिटिजन बैंकमा कार्यरत शैलेश अधिकारी कन्सर्टमा कसरी जाने भनेर छटपटिँदै थिए। किनकी, उनीसँग टिकट थिएन। टिकट दिउँसै सोल्डआउट भइसकेको थियो। साथीहरूले काटेर राखेको टिकट लिएर उनी करिब आधा कन्सर्ट सकिएपछि भित्र छिरे। अनि अमृतसँगसँगै गाए। उनीसँगसँगै नाचे। उनले व्यक्त गरेका भावनाहरू आफ्नै मनमा लुकिराखेको पाए। जुन भावना उनको मनमा थियो, अमृतको मुखबाट बाहिर निस्कियो।
‘हाम्रा बुबाहरूको पालाको ब्याण्ड हो नेपथ्य। यो ब्याण्डलाई अहिलेको जेनजी पुस्ताले पनि उत्तिकै श्रद्धापूर्वक सम्मान गर्यो,’ उनले भने, ‘उहाँले दिनुभएको सद्भाव र विचार हामीसँग पनि मिल्छ। हाम्रो भावना उहाँले बोल्नुहुन्छ।’

गायक अमृतले कर्णालीको गीत गाउनुअघि पूर्वबाट जुन उदायो। बुधबार मात्रै उनले फेवातालमा जुन छचल्किएको तस्वीर पोष्ट गरेका थिए। पोखरा र आसपासबाट हजारौं दर्शक उर्लिएको सांगीतिक साँझ जुनले पनि देख्यो। ‘रातो र चन्द्र सूर्य’ गीत गाउँदै गर्दा उनको शिरमाथि जुन अझै उज्यालिएको थियो।
संसारभर घुम्दा देशको मायामा भावुक हुने अमृत आफ्नै गृहनगरमा नहुने कुरै भएन। उनको आँखा छचल्कियो। स्टेजमै मौन भएर घोप्टो परे। अनि जमिनलाई ढोग गरे। सबै नेपाली मिलेर बस्न आह्वान गरे। सबै जातजाति, भाषाभाषी, धर्म र संस्कृतिको सम्मान गरे। अनि आपसी सद्भाव जोगाइराख्न नवयुवालाई आह्वान गरे।
‘हाम्रो देश नेपाल विभिन्न जातजाति, भाषाभाषीको संगमस्थल हो। बेलाबेला हामीलाई फुटाउने दुस्साहस हुन्छ, हामी सबै मिलेर बसौं होई,’ उनले सन्देश दिँदै भने।
स्टेजमा अमृत भावुक भएर भुइँतर्फ निहुरिँदा दर्शक पनि भावनामा डुबे। तीन जना साथीसँग कन्सर्ट हेर्न पुगेकी पोखराकी ममता शर्मा पनि त्यो क्षण भावनामा डुबिइन्।
‘स्टेजमा अमृत गुरूङ इमोसनल भएपछि म पनि इमोसनल भएछु,’ उनले भनिन्, ‘त्यो क्राउड, त्यो माहौल र त्यो क्षण कहिल्यै बिर्सिन्न होला।’
अरू दर्शक जस्तै गीतसंगीतमा नाचेकी शर्मालाई अमृतले स्टेजबाट देखाएको देशप्रेम, समाजिक सद्भाव र एकता अनि अन्याय र भ्रष्टाचार विरूद्ध उठ्न युवालाई गरेको आह्वान मन पराएकी छन्।
फेवाताल हेरेर हुर्किएका अमृत अहिले पनि फुर्सद हुनासाथ पोखराको कालाभाङ चिसापानीको गोठमा बस्न पुग्छन्। जहाँबाट अन्नपूर्ण, धौलागिरी र मनास्लु श्रृङ्खलाका सबै हिमाल देखिन्छ। फेवाताल र पोखरा सहरको झिलिमिली हेर्दै हुर्किएका अमृत पहिलो पटक राराताल पुग्दा मुर्छा परेका रहेछन्।
‘फेवाताल हेरेको मान्छेले एक पटक राराताल पनि दर्शन गर्नुहोला है,’ उनले स्टेजबाट भने, ‘म पहिलो पटक रारा पुग्दा तीन मुर्छा परेको थिएँ। कति राम्रो, कति सुन्दर।’
आफ्नो बेला घुम्न निस्कँदाको सकस र त्यतिबेलाको पोखराबारे पनि उनले स्टेजबाट आफ्ना अनुभव साटे।
पुरानो पोखरा र नयाँ पोखरा तुलना गरे।

उतिबेला घुम्न निस्कँदा घरबाट कति बाहिर निस्केको होला भनेर परिवारबाट भन्ने गरेको उनले सम्झिए। अहिले त्यो अवस्था छैन। अहिलेका युवालाई घुमफिर गर्न पहिलेभन्दा सजिलो भएको सन्देश उनले सुनाए।
पोखरामा हुर्कँदा अमृत फेवातालमा पौडी खेल्थे। विजयपुर खोला तरेर बेगनासताल जान्थे। उनले त्यतिबेलाको पोखरा सम्झिए, जतिबेला उनी हुर्कँदै थिए।
‘उहिले पोखरामा पाटन नै पाटन थियो। सिमलका रूख नै रूख थियो। सिमलको भुवा हावामा उड्थ्यो। त्यो भुवालाई समात्न हामी दौडिन्थ्यौं,’ उनले भने, ‘कदमको रूखमुनि गाइने दाइ सारङ्गी रेटिरहेका हुन्थ्यो।’
तालहरू र पोखरीहरूको सहर पोखरामा चौतारीहरू पनि अनगिन्ती थिए। चौतारीहरूमा गण्डकीका विभिन्न जिल्ला र गाउँहरूका बटुवाले थकाइ मार्थे। अमृत यस्तो परिवेशमा हुर्किएका थिए कि, जहाँ नेपाली जीवन थियो। प्रकृति थियो अनि सबैले सबैलाई चिन्दथे। आज जस्तो कसैले कसैलाई नचिन्ने समय थिएन त्यो।
अहिले पोखराका उपत्यकामा अव्यवस्थित घरहरूले भरिएका छन्। सहरी विकासका योजनाहरू कागजमा मात्र सीमित भए। जेठो बुढो धानको मगमगाउँदो बासना आउने ठाउँमा अहिले घरहरू रोपिएका छन्। घर नै फलेका छन्। पुरानो पोखरा अब अमृतको सम्झनामा मात्र बाँकी रहेको छ। जसले उनलाई चिन्तित बनाएको छ।
सेती नदीको किनारै किनार बयर खाँदै हिँडेको सम्झना। एउटा मात्र सिनेमा हल हुँदा हलभरी सबैले सबैलाई चिन्ने क्षण। पोखरा रंगशालामा दौडिन र खेल्न पुग्ने अमृत आज त्यही रंगशालामा गीत गाउन उभिन्छन्। त्यसो त रंगशाला बन्नुअघि उनले चार दशकअघि पनि सोही रंगशालामा गीत गाएका रहेछन्।
‘यो रंगशाला बन्ने बेला हामी आएका थियौं। दौडिन, खेल्न मन पथ्र्यो,’ उनले भने, ‘२०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता यहीँ भएको थियो। त्यतिबेला दाइ, दिदीहरूसँग खेलकुदको स्वागत गीत गाउन म पनि आएको थिएँ।’
अहिले फुटबल स्टेडियममा प्यारापिट बनेको छ। रंगशालाले रूप फेरेको छ। रंगशाला बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्ति गरेका अमृतले सबैको सानो सानो प्रयास पनि ठूलो काम गर्न उत्तिकै महत्वपूर्ण रहेको बताए।
‘तिम्रा साना साना कोसिसले रंगशाला आज यो अवस्थामा आएको छ। भविश्यमा सबै मिलेर संसारकै उत्कृष्ठ रंगशाला बनाउँ है,’ उनले कामना गरे।
उमेरले ५८ वर्ष लागे पनि अमृतको जोश भने अहिलेका जेनजी नवयुवाको भन्दा कम छैन। कपाल फुलिसक्यो। उनका फ्यान बुढ्यौली लागेका उनकै उमेर समूहका भन्दा अहिलेका नवयुवा बढी देखिए। जुन कन्सर्टमा उपस्थित भएर झुम्मिएका दर्शकले पुष्टि गर्छ।
भदौ २३ गतेका लागि जेनजीले आह्वान गरेको भ्रष्टाचार विरोधी आन्दोलनमा गायक अमृतले पनि समर्थन जनाएका थिए। उनले गाउँ गाउँबाट उठ भन्दै सामाजिक सञ्जालबाट आह्वान गरेका थिए। उनलाई अभिभावक मानेका नवयुवा आन्दोलनमा होमिए।
जेनजी आन्दोलनमा सम्भवतः सबैभन्दा बढी उनकै स्वरले भरिएको ‘गाउँ गाउँबाट उठ’ बोलको गीत प्रयोग भएका थिए। यो गीत गाउनुअघि उनले स्टेजबाट फेरि आह्वान गरे, अन्याय, अत्याचार र भ्रष्टाचार विरूद्ध उठ्न।
‘अन्याय र अत्याचारको विरूद्ध उठ है। तपाईंहरूको आवाज सधैं स्वतन्त्रताका लागि उठोस्,’ उनले भने, ‘तपाईंको विचार सधैं मानवताको लागि उठोस्। भ्रष्टाचारको विरूद्ध उठोस्।’
जेनजी आन्दोलनले देशमा ठूलो उथलपुथल ल्याएको भन्दै अमृतले त्यो आन्दोलनका दौरान भदौ २४ गते भएको विध्वंश फेरि हुन नदिन सचेत गराए।
उनले आउँदा चुनावबाट जित्नुपर्नेलाई जिताउन र हराउनुपर्नेलाई हराउन पनि युवाहरूलाई आह्वान गरे।
‘अब चुनाव आउँदैछ। मतदाता नामावलीमा नाम दर्ता गराएर को कोलाई हराउनुपर्ने हो हराएर, को कोलाई जिताउनुपर्ने हो जिताउँ है,’ उनले भने, ‘अनि सहिदहरूलाई सम्झेर, मनन गरेर देश बनाउने प्रण गरौं है।’
उनले यसो भनिरहँदा युवा पुस्ता जोशले उफ्रिएका थिए। कोही भावुक भएर आँखाभरी आँसु बनाएका थिए। उनले जब गाउँ गाउँबाट उठ बोलेको गीत गाए, दर्शकले उत्तिकै ठुूलो स्वरमा साथ थिए। हजारौंमा एकैचोटि देशप्रेमको भाव फैलियो।
साढे ३ दशक लामो सांगीतिक यात्राका क्रममा नेपथ्य विश्वका ठूला ठूला सहरहरूमा पटक पटक गुञ्जिसकेको छ। सोमबार मात्र ब्याण्ड जापान जाँदैछ। संसार घुमे पनि जीवन आउने र जाने खेल मात्र भएको उनको ठम्याइ छ।
‘जीवन भनेको के नै रहेछ र! जिन्दगी हिजो थियो। आज छ। भोलि रहेनेछैन,’ उनले भने, ‘हामी जस्तो लाखौं करोडौं मान्छे आयो अनि गयो। संसार घुम्दै ५८ वर्षको उमेरमा आउँदा जिन्दगी भन्ने के नै रहेछ र आखिर। मनमा लागेको कुरा गर्नुपर्ने रहेछ।’
चम्किला प्रकाशमाथि जुनको उज्यालो भरिएको रंगशालामा हजारौं युवाहरूलाई सम्बोधन गरिरहेका अमृतले शिक्षाको जस्तो उज्यालो अर्को नभएको बताए।
आफ्नो टोल, छरछिमेकमा कोही पनि बालबालिका शिक्षाको उज्यालोबाट बञ्चित हुन नपरोस् भनेर कामना गरे। अनि युवाहरूलाई त्यस्ता बालबालिका छन् भने शिक्षाको उज्यालो दिएर पुण्य कमाउन आह्वान गरे। अनि आफ्नो समाज सुधार्न आफै लाग्नुपर्ने बताए।
‘शिक्षाको जति उज्यालो केही रहेनछ,’ उनले भने, ‘अरूले आएर हाम्रो समाज बनाइदिने रैनछ। हाम्रो समाज हामी आफै बनाउनुपर्ने रहेछ है।’
खेलकुदलाई संगीतसँग जोड्न कन्सर्ट आयोजना गरेको पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले सोचेभन्दा बढी दर्शकको साथ र माया पाएकाले पुलकित छन्। आगामी दिनमा अझ व्यवस्थित, अझै धेरै दर्शक अट्ने गरी र अझ राम्रो गर्न कोसिस गर्ने प्रेरणा उनले कन्सर्टबाट पाएका छन्।
त्रिपाठीका अनुसार कन्सर्टमा पोखरा एभेन्जर्सको जर्सी बिक्री गरेर दर्शकलाई टिकट प्रदान गरिएको थियो। टिकट किन्न चाहने दर्शकका लागि मोबाइल एपबाट पनि टिकट राखिएको थियो। टिकट शुक्रबार दिउँसै सकिएपछि बल्ल उनले सोचेभन्दा बढी दर्शक आउने अनुमान लगाएका थिए।
‘हामीले ८/१० हजार दर्शक मात्र आउनुहोला भनेर सोचेका थियौं, कर्न्सटमा ११ हजारभन्दा बढी दर्शक आउनुभयो,’ उनले भने, ‘टिकट किन्न पाइएन भन्ने गुनासो पनि धेरै आयो। आगामी दिनमा अझ राम्रो गर्न हामीले प्रेरणा पाएका छौं।’

पोखरामा क्रिकेटभन्दा भलिबल र फुटबलको क्रेज बढी छ। दर्शकलाई क्रिकेटप्रति आकर्षण गर्नका लागि नेपथ्यसँग सहकार्य गरेको त्रिपाठी बताउँछन्। विश्वविख्यात बनेको नेपथ्यको गृह नगरको क्रिकेट टिमसँग सहकार्य गर्दा सोचेभन्दा बढी राम्रो भएको उनले बताए।
‘क्रिकेट नबुझेका मानिसले पनि पोखरा एभेन्जर्सलाई सपोर्ट गर्ने कुरा गर्नुभएको छ। हामीले जुन उद्देश्य राखेर कन्सर्ट गर्यौं, त्यो पूरा भएको छ,’ उनले भने, ‘छोटो तयारीमा पनि पोखरेली दर्शकले यतिधेरै साथ दिनुभयो। हाम्रो उद्देश्य परिपूर्ति भयो।’
आउँदो मंसिर १ गतेदेखि नेपाल प्रिमियम लिग हुँदैछ। गण्डकीबाट प्रतिनिधित्व गर्ने पोखरा एभेन्जर्सले यो कन्सर्टबाट अहिल्यैदेखि दर्शकको साथ पाएको उनले महसुस गरेका छन्।
कन्सर्टबाट प्राप्त रकमबाट केही रकम गण्डकीका क्रिकेट सम्भावना भएका सामुदायिक विद्यालयहरूमा किट वितरण गर्ने योजना बनाएका छन्।
केही रकम रंगशालालाई प्रदान गर्ने अध्यक्ष त्रिपाठी बताउँछन्।
आगामी दिनमा अझ राम्रो, अझ व्यवस्थित र अझै धेरै दर्शकको साथ पाउने गरी कार्यक्रम गर्न पनि उनी कटिबद्ध छन्।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरूङले संसारभर नै ठूला ठूला कन्सर्ट रंगशालामा हुने गरेको बताउँछन्।
खेलकुदकै उद्देश्य राखिएको कन्सर्ट झन् रंगशालामा गर्नु अझ उपयुक्त भएको उनको बुझाइ छ।
काठमाडौंमा पनि रंगशालामै कन्सर्ट भइरहेको विभिन्न उदाहरण पनि छन्।
‘नेपथ्य र अमृत दाइ जस्तो लिजेण्डलाई आफ्नै गृहनगरमा उभ्याउन पाउँदा हामीलाई गर्व लागेको छ। पोखरेलीले पनि एकदम राम्रो साथ दिनुभयो,’ उनले भने, ‘देशको अवस्था असामान्य हुँदा दाइले जुन सन्देश दिनुभयो, त्यसले युवाहरूलाई सामाजिक सद्भाव र देशप्रेमले ओतप्रोत बनाएको छ।’
