विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी भएको छ।
यस अन्तर्गत 'ह्यासट्याग लाइफटाइम एक्सपिरियन्स' अभियान सुरू गरिएको छ। जसको लक्ष्य नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई टिकटक भिडियोमार्फत विश्वव्यापी दर्शकसमक्ष पुर्याउनु रहेको बोर्डले जनाएको छ।
समझदारीपत्र आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले यो सहकार्यलाई नेपालको पर्यटन प्रवर्द्धनको पहलमा महत्वपूर्ण योगदान दिने बताए।
'यो केवल एउटा सम्झौता मात्र होइन, यो नेपाललाई संसारसँग जोड्ने पुल हो। टिकटक जस्तो विश्वव्यापी प्लेटफर्ममार्फत हामीले नेपालको हिमाल, संस्कृति, उत्सव र आतिथ्यलाई करोडौं दर्शकमाझ पुर्याउने अवसर पाएका छौं,' मन्त्री पाण्डेले भने, 'यो अभियानले नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्नेछ।'
मन्त्री पाण्डेले पर्यटनलाई नेपालको समग्र आर्थिक विकासको मेरूदण्डको रूपमा उल्लेख गर्दै यो सहकार्यले ग्रामीण भेगका समुदाय, साना व्यवसायी र स्थानीय गाइडहरूलाई प्रत्यक्ष फाइदा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले महत्वपूर्ण समझदारी भएको उल्लेख गर्दै भने, 'नेपालको सौन्दर्य र आत्माको कथा संसारभर पुर्याउने हाम्रो लामो प्रयासलाई अब टिकटकको विश्वव्यापी पहुँचले थप बल दिनेछ।'
यो सहकार्यले केवल बाहिरी पर्यटकलाई आकर्षित गर्ने मात्र नभई स्वदेशमा रहेका युवाहरूलाई पनि आफ्नो संस्कृति, पर्व र अनुभवलाई नयाँ ढंगले अभिव्यक्त गर्ने अवसर दिने उनले बताए।
सीईओ जोशीका अनुसार अब बोर्डले अन्तर्राष्ट्रिय स्तरका ट्राभल क्रियेटरलाई नेपालमा आमन्त्रित गर्नेछ।
उनीहरूलाई हिमाल, ताल, मठ–मन्दिरदेखि ग्रामीण होमस्टेसम्म पुर्याइनेछ। उनीहरूले छोटा भिडियोमार्फत नेपालको पर्यटकीय गन्तव्यबारे डिजिटल संसारमा प्रचार–प्रसार गर्ने छन्।
त्यसैगरी टिकटकका दक्षिण एसियाका पब्लिक पॉलिसी प्रमुख फर्दोस मत्ताकिनले टिकटकमार्फत हरेक दिन करोडौं मानिसहरूले नयाँ गन्तव्य र अनुभव खोजी गर्ने भएकाले नेपालको पर्यटन प्रवर्द्धनमा यस सहकार्यले योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
टिकटकका प्रकाशन व्यवस्थापक उमाइस नवीदले यस समझदारी अन्तर्गत विश्वभरका क्रियेटरलाई नेपाल आमन्त्रण गर्ने र उनीहरूले यहाँका अनुभवलाई भिडियोमार्फत डिजिटल संसारमा प्रस्तुत गर्ने जानकारी दिए।
'यसले करोडौं मानिसलाई नेपाल प्रत्यक्ष भ्रमण गर्न प्रेरित गर्नेछ। यो अभियानका तीन आधारस्तम्भ छन् – नेपालको प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा र स्थानीय समुदायसँगको आत्मीयता,' उनले भने।
साझेदारी अन्तर्गत टिकटकले नेपालमै डिजिटल प्लेटफर्ममार्फत नेपालका कथाहरू सुनाउने विषयमा कार्यशाला गर्नेछ।
जसमा नेपाली कन्टेन्ट क्रियेटरलाई दर्शक विस्तार, ब्रान्ड सहकार्य र विश्वस्तरीय प्रस्तुतीकरणबारे तालिम दिइनेछ।
टिकटकसँग बोर्डले गरेको यो समझदारी अनुसार सन् २०२५ को बाँकी अवधिभर यो अभियान चरणबद्ध रूपमा सञ्चालन हुनेछ।
यसबीचमा काठमाडौंमा ह्यासट्यागभिजिटनेपाल इभेन्ट आयोजना हुनेछ र जसमा अन्तर्राष्ट्रिय क्रियेटर, सांस्कृतिक दूत र पर्यटन व्यवसायीहरू सहभागिता जनाउनेछन्।