अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र गत आर्थिक वर्ष घुम्न गएका १८ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा ६ जना नेपाली, ८ जना भारतीय, अमेरिकी, जर्मन, कोरियन र स्विटजरल्याण्डका १/१ जना पर्यटक छन्।
पदयात्रका लागि आएका पर्यटक छिट्टै उचाइमा पुग्दा लेक लागेर मृत्यु हुने गरेको एक्यापले जनाएको छ।
लेक लागेर मृत्यु हुनेमा अधिकांश मुस्ताङ घुम्न गएका छन्। गत वर्ष मुस्ताङ गएका ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकी नागरिकको लेक लागेर मृत्यु भएको थियो। मोटरबाटोको पहुँचले गर्दा छिट्टै उच्च हिमाली भेगमा जाँदा लेक लाग्ने समस्या पर्यटकमा देखिएको एक्यापले जनाएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप प्रमुख डा. रविन कडरियाले पर्यटकको सुरक्षाका लािग ध्यान दिएर मुस्ताङ लगायतका ठाउँमा लेक लाग्ने समस्या समाधान गर्न स्वास्थ्य सेवा उपलब्ध गराएको बताए। तर पर्यटक र पर्यटन व्यवसायीले छिट्टै उच्च हिमाली भेगमा पर्यटक लैजान खोज्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनले बताए।
एक्याप क्षेत्रभित्र २ हजार ४५० होटल व्यवसाय रहेको भन्दै कडरियाले गाउँ गाउँमा गठन गरिएका संरक्षण क्षेत्र व्यवस्थापन समितिसँग सहकार्य भएको बताए।
‘अन्नपूर्ण क्षेत्र साहसिक पर्यटनको हब हो, यहाँ घुम्न आउने पर्यटक र घुमाउने व्यवसायीले आवश्यक तयारी गर्नुपर्छ,’ उनले भने, ‘हाई अल्टिच्युडमा हतारमा जानुहुँदैन भनेर पर्यटकलाई पनि विश्वस्त बनाउनुपर्छ, यसतर्फ व्यवसायी पनि सचेत हुनुपर्छ।’
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनले होचो भुभागबाट २ हजार ८०० मिटरमाथि एकै दिनमा पूग्न खोज्नु जोखिमपूर्ण भएको बताए। पर्यटकलाई बाटोमा आराम गराउँदै बास बसाउँदै लैजानुपर्ने भन्दै उनले न्यानो कपडा पौष्टिक आहार विहारको पनि उत्तिकै महत्व रहेको बताए।
‘कतिपय पर्यटकलाई थाहा पनि हुँदैन, पोखराबाट एकैदिन मुक्तिनाथ जाँदा लेक लाग्छ भन्ने कुरा,’ उनले भने, ‘पोखराका व्यवसायीले मुक्तिनाथ जाँदा कम्तिमा बाटोमा एक रात बास बसाउनु उपयुक्त हुन्छ।’
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछानेले पर्यटक सुरक्षाका लागि व्यवसायी र पर्यटकका लागि पनि सचेतना फैलाउनु आवश्यक रहेको बताए।
उनले उच्च हिमाली क्षेत्रमा घुम्न जाँदा आउन सक्ने स्वास्थ्य लगायतका समस्याबारे सचेतनामूलक पुस्तिका बनाएर वितरण गर्नुपर्ने र यसका लागि बोर्डले सघाउने प्रतिबद्धता जनाए।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड वितरणको व्यवस्था अनिवार्य गर्न माग राखे। उक्त व्यवस्था नहुँदा पर्यटकका सूचना आदानप्रदान हुन नसकेको उनको धारणा छ।
पदयात्रा र धार्मिक हिसावले हिमाली क्षेत्रमा पुग्ने पर्यटकको सुरक्षालाई केन्द्रमा राखेर मुस्ताङ स्थित घरपझोङ गाउँपालिकाको आयोजना र होटल संघ पोखरा नेपालको समन्यमा पोखरामा बुधबार आयोजित कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरुले वर्षेनी पर्यटकको मृत्यु बढ्दै जाँदा नेपालको पदयात्रा र पर्यटन क्षेत्रमा नकारात्मक असर परेको भन्दै चिन्ता व्यक्त गरे।
समुन्द्र सतहबाट एक सय मिटर हाराहारी उचाइमा रहेको तराई क्षेत्रबाट एकै दिन ३७१० मिटर उचाइको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नकारात्मक कुरा भएको व्यवसायीहरूले चर्चा गरेका थिए।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले यस विषयलाई नीति निर्माण तहबाटै सुधार गर्न गण्डकी प्रदेश सभामा आफूले कुरा उठाउने प्रतिबद्धता सुनाए।
अन्नपूर्ण क्षेत्रको मूल पर्यटन भनेको अन्नपूर्ण चक्रीय पदयात्रा मार्गमा आधारित पर्यटन भएको भन्दै उनले यस क्षेत्रका विभिन्न ठाउँमा पर्यटकले देख्ने र बुझ्ने गरी सूचना र सचेतनामूलक सामग्रीको व्यवस्था हुनुपर्ने सुझाव राखे।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालले अब पर्यटकको संख्यालाई भन्दा पनि गुणस्तरलाई ध्यान दिनुपर्ने सुझाव राखे।
भारतीय पर्यटक रातारात एकै दिनमा मुक्तिनाथ पुगेर मुस्ताङ र पोखरा दुबै ठाउँमा रात नकाटी फर्कने परिपाटीले सुरक्षा जोखिम बढेको मात्र नभई बसाइ अवधि पनि छोटिन पुगेको बताए।
त्यस्ता जोखिम मोल्दा लेक लागेर कतिपय पर्यटकको ज्यान समेत गएको अध्यक्ष सुवेदीले स्मरण गराए।
होटल संघका केन्द्रिय सदस्य भरतराज पराजुलीले पर्यटकलाई राम्रो सूचना प्रदान गरेर उनीहरूको बसाई अवधि लम्ब्याउन सकिने सुझाव राखे। यसका लागि पोखरामा एउटा पूर्वाधारयुक्त सूचना केन्द्रको आवश्यकता समेत उनले औंल्याए।
पर्यटकको सुरक्षा, वातावरण संरक्षण र पर्यटकको बसाइ अवधि लम्ब्याउने जस्ता विषय पर्यटनमा महत्वपूर्ण विषय भएको उनको भनाइ छ।
नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका उपाध्यक्ष राजेश पहारीले पर्यटकको सुरक्षाका लागि नीति र नियमन दुवै जरूरी भएको बताए।
‘पर्यटकको सुरक्षाका लागि सरकारले आवश्यक नीति बनाएर नियमन गर्न जरूरी छ,’ उनले भने, ‘यसले पर्यटकको ज्यान जोगिने र पर्यटकको बसाइ पनि लम्बिन सक्छ।’