नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) र एसोसिएसन अफ भुटानीज टुर अपरेटर्स (एबिटिओ) बीच पर्यटन प्रवर्धनका लागि सहमति पत्रमा हस्ताक्षर भएको छ।
भूटानको पारोस्थित डुङ्कर द्जोङमा आयोजित कार्यक्रममा नाट्टाका अध्यक्ष कुमारमणि थपलिया र एबिटिओका अध्यक्ष किन्ले ग्याल्त्सेनले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार दुवै देशले पर्यटन क्षेत्रमा आपसी जानकारी आदान–प्रदान, सीप तथा अनुभव साझेदारी गर्दै तालिम, कार्यशाला, संयुक्त कार्यक्रम र प्रचार–प्रसार गतिविधि सञ्चालन गर्ने छन्।
यो सहकार्यले सांस्कृतिक संरक्षण, वातावरणीय दायित्व र सामुदायिक सहभागितामार्फत पर्यटन प्रवर्धन गर्नेछ। सम्झौता दुई वर्षका लागि लागू हुनेछ र आवश्यकताअनुसार नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।
सहकार्यले नेपाल–भुटानबीचको पर्यटन सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरिएको छ।