काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा शनिबार चरा ठोक्किएको छ।
पोखरा विमानस्थलमा अवतरण गर्ने बेला शनिबार दिउँसो ३.४५ बजे चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेसनका प्रबन्धक गौतम बरालले जानकारी दिए।
चरा ठोक्किँदा जहाजको 'पपलरको ब्लेड' अलिकति कुच्चिए पनि सबै यात्रु र चालक दल सुरक्षित रहेको उनले बताए।
पोखरा विमानस्थलमा यसरी जहाजसँग चरा ठोक्किएको घटना पछिल्लो समय बारम्बार भइरहेको छ।
यसअघि कात्तिक २९ गते पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरकै जहाजमा चरा ठोक्किएको थियो। उडानकै क्रममा चरा ठोक्किएपछि जहाजलाई तुरून्तै धावनमार्ग फर्काइएको थियो। इन्जिनियरहरूले परीक्षण गरेर प्राविधिक समस्या नभएको प्रमाणित गरेपछि बल्ल जहाजलाई उडान अनुमति दिइएको थियो।
पछिल्लो समय नेपाली आकाशमा हवाई आवागमनको चाप बढ्दै गर्दा चरा ठोक्किने घटनाले ठूलो रूप लिँदै गएको सम्बन्धित विशेषज्ञहरू बताउँछन्।
नागरिक उड्डयन प्राधिकरणको 'एभिएसन सेफ्टी रिपोर्ट २०२४' अनुसार वर्षभरि चरा ठोक्किएका ७३ घटनामध्ये अवतरण गर्दा ३९ प्रतिशत, उड्दा २३ र एप्रोचमा २८ प्रतिशत हुने गरेको तथ्यांकले देखाउँछ।
देशभरका विमानस्थलमध्ये सबभन्दा धेरै 'बर्ड स्ट्राइक' (चरा ठोक्किने) का घटना काठमाडौं विमानस्थलमा हुन्छन्।
उक्त रिपोर्ट अनुसार ११ वटा विमानस्थलमा जहाजसँग चरा ठोक्किएका थिए। सबभन्दा धेरै काठमाडौं विमानस्थलमा यस्ता घटना ३४ पटक भएका थिए।
त्यसपछि पोखरा विमानस्थलमा १२, भैरहवामा ५, विराटनगरमा ४, नेपालगन्जमा ४, भरतपुर र भद्रपुरमा ३–३, सुर्खेतमा २, राजविराज, बाजुरा र सिमरामा एक-एक वटा बर्ड स्ट्राइकका घटना भएको देखिन्छ।
बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले विमानस्थलमा चराको बढ्दो गतिविधिका कारण उडान र अवतरणमा समस्या आइरहेको र कतिपय अवस्थामा जहाज ग्राउन्डेड गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।
उनका अनुसार जहाज धावनमार्गमै रहँदा पनि चरा ठोक्कियो भने उडाउन मिल्दैन। फेरि पार्किङमै लगेर प्राविधिक परीक्षण गराउनुपर्छ। कुन कुन भागमा कस्तो असर पुगेको छ भन्ने हेरेर मर्मत गरेपछि मात्र उडान अनुमति पाइने कर्ण बताउँछन्।
'कतिपय समय अवतरण गर्न ठिक्क पर्दा धावनमार्गमा चरा देखिएर जहाज ओभरसुट गर्नुपर्ने अवस्था आउँछ,' उनले भने, 'यस्ता घटना पोखराका अतिरिक्त काठमाडौं, भद्रपुर र जनकपुर विमानस्थलमा दोहोरिरहन्छन्।'
केही समयअघि जनकपुर विमानस्थलमा दैनिकजसो ४ देखि ५ पटकसम्म जहाजमा चरा ठोक्किने समस्या थियो।
धावनमार्ग नजिकै बाक्लो घाँस उम्रेर चराको आउजाउ बढेको र त्यसले हवाई आवागमन जोखिमपूर्ण भएपछि घाँस सफा गरेर चराको गुँड सारिएको कर्णले जानकारी दिए।
फिस्टे चरा पनि बन्नसक्छ ठूलो दुर्घटनाको कारण
जहाज दुर्घटनाको कुरा गर्दा हाम्रो मनमा प्राय: तीनवटा कारण आउँछन् — प्राविधिक समस्या, पाइलटको लापरबाही र खराब मौसम।
यस अतिरिक्त जुन चरालाई देखेर मान्छेको मनमा उड्ने हुटहुटी जाग्यो र जसलाई हेर्दै जहाजजस्तो उड्ने यन्त्र आविष्कार गरियो, त्यसले पनि दुर्घटनाको ठूलो जोखिम ल्याउन सक्छ।
जहाज उडान र अवतरण बेला चरासँग ठोक्किने क्रम बढे पनि अहिलेसम्म ठूलो दुर्घटना नभएकाले हामीकहाँ धेरैले यसलाई जोखिमपूर्ण मान्दैनन्। तर अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने चराकै कारण ठुल्ठूला दुर्घटना भएका छन्।
सन् २०२४ डिसेम्बरमा दक्षिण कोरियामा जेजु जहाज दुर्घटना भएको थियो। जहाजको 'ल्यान्डिङ गियर' बिग्रेर भएको उक्त दुर्घटनामा १७९ जनाले ज्यान गुमाएका थिए।
ल्यान्डिङ गियर बिग्रनुको कारण 'बर्ड स्ट्राइक' मानिएको छ। अनुसन्धान क्रममा जहाजको इन्जिनमा चराका प्वाँख फेला परेका थिए।
त्यो घटनाले जहाज उडान र अवतरण बेला चराको जोखिमलाई लिएर संसारको ध्यानाकर्षण भएको थियो। हामीकहाँ भने अझै पनि चराको जोखिमलाई खासै गम्भीरतापूर्वक नलिइएको हवाई सेवा सञ्चालकहरू बताउँछन्।
अन्य मुलुकमा चराका कारण जहाजमा क्षति भयो भने 'एरोड्रम अपरेटर' को जिम्मा हुन्छ। क्षति भएको अवस्थामा एयरलाइन्स अपरेटरहरूले दाबी गर्छन्। नेपालमा भने चराका कारण जहाजमा भएको क्षतिलाई कुनै निकायले हेर्दैन। सम्बन्धित वायुसेवा कम्पनीहरूले नै मर्मत गर्दै आएका छन्।
दुई किसिमका हुन्छन् बर्ड स्ट्राइक
बर्ड स्ट्राइकका धेरैजसो घटना जहाज उडान र अवतरण क्रममा हुन्छन्।
जहाजले एउटा निश्चित उचाइ लिइसकेपछि चरासँग ठोक्किने डर हुँदैन। किनभने, त्यो उचाइमा चरा नै हुँदैन।
उडान र अवतरण बेला हुने बर्ड स्ट्राइकका घटना पनि सबै एकै प्रकारका हुँदैनन्। मुख्यतया यी दुई प्रकारका हुन्छन् — बर्ड हिट (जहाजमा चरा ठोक्किने) र बर्ड इन्गेसन (जहाजको इन्जिनभित्रै चरा घुस्ने)।
जोखिमका हिसाबले यी दुई घटनाबीच आनका तान फरक हुन्छ।
बर्ड हिट के हो?
'बर्ड हिट' भनेको जहाजको बाहिरी भागमा चरा ठोक्किनु हो।
जहाजको नाक, सिसा र बडीका अन्य भागमा चरा ठोक्कियो भने त्यसलाई 'बर्ड हिट' भनिन्छ। यस्तो घटना प्रायः तीन हजार फिटभन्दा कम उचाइमा जहाज उडान र अवतरण बेला हुन्छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का अनुसार ९२ प्रतिशत बर्ड हिटका घटनामा ठूलो क्षति हुँदैन। नेपालमा अहिलेसम्म भएका घटना बर्ड हिट हुन्। तर कहिलेकाहीँ यही कारणले जहाजका संवेदनशील उपकरण बिग्रिन सक्छ। पाइलट अगाडिको वा अन्य भागको सिसा फुट्न सक्छ।
यसरी चरा ठोक्किँदा जहाजको बाहिरी भागमा क्षति पुग्ने वायुसेवा कम्पनीहरू बताउँछन्।
हामीले यसबारे नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलसँग कुरा गर्दा उनले चरा ठोक्किएपछि जहाज उडाउन जोखमपूर्ण हुने बताए।
'एक केजीको चरा तीन सय नटिकल माइलको स्पिडमा भएको जहाजसँग ठोक्कियो भने एक टनको ढुंगाले हाने बराबर क्षति पुग्छ,' उनले भने, 'बर्ड स्ट्राइकले संसारमा ठुल्ठूला दुर्घटना भएका छन्।'
त्यही भएर चरा ठोक्किनासाथ जहाजलाई तुरून्तै आकस्मिक अवतरण गराइहाल्नुपर्छ। उडान भरिसकेको जहाज पनि गन्तव्यतर्फ नगई धावनमार्गमै फर्किनुपर्छ। अवतरण गर्न लागेको बेला ठोक्कियो भने जतिसक्दो छिटो अवतरण गराइहाल्नुपर्छ।
बर्ड इन्गेसन के हो?
'बर्ड इन्गेसन' भनेको चराहरू जहाजको इन्जिनभित्रै घुस्नु हो। यो जेट इन्जिन भएका जहाजका लागि धेरै खतरनाक मानिन्छ।
सानो फिस्टे चरा घुसेको छ भने आधुनिक इन्जिनलाई त्यति फरक नपर्ला, तर ठूलो चरा वा धेरै चरा एकैचोटि घुसे इन्जिन बन्द हुन सक्छ। त्यसैले यो ठूलो दुर्घटनाको कारण बन्न सक्छ।
यस्तो अवस्थामा दुवै इन्जिन प्रभावित भए जहाजले शक्ति गुमाएर आपतकालीन अवतरण वा 'ग्लाइड' गरेर बस्नुपर्ने हुन्छ।
चिसो मौसममा विमानस्थल वरपर बस्न मन पराउँछन् चरा
विमानस्थल स्रोतका अनुसार हरेक वर्ष सेप्टेम्बर–अक्टोबरमा चराको संख्या र गतिविधि बढ्ने गरेको छ।
यो समय चराले नयाँ बच्चा कोरल्ने र आहाराको खोजीमा बाहिर निस्किने भएकाले नेपालमा मात्र नभएर संसारभरि नै चराको गतिविधि बढ्छ।
सेप्टेम्बरदेखि अक्टोबरसम्म चीन, साइबेरिया र मंगोलियाबाट चराहरू नेपाल आउजाउ गर्ने भएकाले हिउँदे चराको गतिविधि बढ्ने प्राधिकरणका अधिकारी बताउँछन्।
धावनमार्ग तातेपछि तातो हावा माथि जाने भएकाले चिसो मौसममा चराहरू विमानस्थल वरिपरि आउने र जहाजमा ठोक्किने गरेको उनले बताए।
'जसरी जहाजलाई ठूलो र खुला धावनमार्ग चाहिन्छ, त्यसैगरी चरालाई पनि खुला र तातो हावा आउने ठाउँ मन पर्छ,' उनले भने, 'त्यसैले चराहरू धावनमार्ग वरपर घुम्ने गर्छन्।'
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल पनि वैकल्पिक बासस्थान खोज्दै चराहरू विमानस्थल आउने गरेको बताउँछन्।
विमानस्थलमा चराको आउजाउ किन धेरै हुन्छ भन्ने प्रश्नमा भुलले भने, 'बासस्थान र आहारा सजिलै पाइने भएकाले पनि विभिन्न विमानस्थलमा चराको आवतजावत बढेको हो।'
उनका अनुसार जहाँ हरियाली हुन्छ, त्यहाँ कीरा–फट्यांग्रा पाइन्छन्। काठमाडौं विमानस्थल वरपर बागमती, विष्णुमती र मनहरा खोला भएकाले पानीको लागि पनि टाढा जानु परेन। सबै कुरा वरपर पाइने भएपछि यहीँ बस्न रूचाएको देखिन्छ।
यति मात्र होइन, बेलाबखत खोला किनारामा फ्याँकेका फोहोर तथा माछामासुले पनि चराको आउजाउ बढाएको छ।
जमीनमा फ्याँकिएका तथा अव्यवस्थित फोहोर झम्टिँदै चराहरू उड्ने क्रममा विमानस्थल वरपर आउने र जहाजसँग ठोक्किने अधिकारीहरू बताउँछन्।
विमानस्थलहरूले कसरी चरालाई टाढा राख्छन्?
चरा ठोक्किने जोखिमबाट जहाजलाई बचाउन संसारभरका विमानस्थलले अनेक प्रयास गरिरहेका छन्। तर शतप्रतिशत नियन्त्रण गर्न सजिलो छैन।
सन् २००४ मा भारतभरि बर्ड स्ट्राइक बढेपछि त्यहाँको नागरिक उड्डयन प्राधिकरणले नयाँ निर्देशन जारी गरेको थियो। विमानस्थल वरपर चराहरूको बासस्थान घटाउने कार्यक्रम लागू गर्नुका साथै चराहरूको गतिविधि मापन गरी जोखिमको नियमित मूल्यांकन गरिन्छ।
त्यस्तै, धावनमार्गमा गस्ती बढाएर चराको आवागमन बढेको पाइए पाइलटलाई तुरून्त सूचना दिने व्यवस्था गरिएको छ। नेपालमा पनि विमानस्थललाई चराबाट जोगाउन विभिन्न उपाय अपनाइएको प्राधिकरणका सूचना अधिकारी भुलले जानकारी दिए।
उनका अनुसार विमानस्थल वरपर १५–२० सेन्टिमिटरभन्दा सानो र ४० सेन्टिमिटरभन्दा अग्लो घास राख्न हुँदैन। यसका लागि पर्यटन सचिवको अध्यक्षतामा राष्ट्रिय चरा नियन्त्रण समिति गठन गरिएको छ। यसले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नीतिगत मार्गदर्शन गर्नुपर्छ।
नागरिक उड्डयन नियमावलीले विमानस्थलको तीन किलोमिटर वरपर वधशाला स्थापना गर्न निषेध पनि गरेको छ।
प्राधिकरणले चराचुरूंगी नियन्त्रण गर्न हरेक वर्ष बजेट छुट्याउँछ। सूचना अधिकारी भुलका अनुसार चालू आर्थिक वर्ष बर्ड स्ट्राइक नियन्त्रण गर्न विभिन्न विमानस्थलका लागि साढे ५ करोड रूपैयाँ छुट्टयाइएको छ।
विमानस्थल सञ्चालकले बर्ड स्ट्राइक नियन्त्रणका लागि चरालाई तर्साउने र धपाउने प्रविधि तथा वातावरणीय नियन्त्रणमार्फत् जोखिम कम गराउने उपाय अवलम्बन गर्दै आएको भुलले बताए।
धावनमार्ग वरपर चरा धपाउन सिकारीको पनि व्यवस्था गरिएको छ।
***