धेरै पहिले
जिजुबुवा ,हजुरबुवा को पालामा
विद्यालय नै थिएनन् भने पनि हुन्छ
जनता निरक्षर थिए
समाजमा एक प्रकारको चरम अन्ध विश्वास थियो
युग पनि अन्धकारनै थियो
प्रजातन्त्र कुन चरी को नाम हो जनता लाइ थाहा नै थिएन
बाँकी अधिकारको त कुरै नगरौं ।
बुवाको पालामा, विद्यालय थोरै थिए
अत्यन्त थोरै
औंलामा गन्न सकिने
तर पनि ज्ञानको दीयो बल्न सुरू गरेको थियो
टुकीको धमिलो प्रकाशमा उहाँहरू पढ्नु हुन्थ्यो, अभ्यास गर्नु हुन्थ्यो
हजुरबुवाहरूको पुस्ताले लेखेका प्रजातन्त्र , सामाजिक न्याय , मानव अधिकार अनि समतामूलक समाजका सिद्धान्तहरू
अनि बुझाउनु हुन्थ्यो युवाहरूलाई , अनि थप्नु हुन्थ्यो केही अध्यायहरू ।
हिजो हामीले पनि बिजुलीको चहकिलो प्रकाशमा, नि:शुल्क पढ्यौ तिनै सिद्धान्तहरू
सरकारी विद्यालय अनि विश्वविद्यालयमा
प्रजातन्त्र हुँदै गणतन्त्रको पक्षमा बुलन्द आवाजहरू निकाल्यौ
अनि भयो समाज को रूपान्तरण।
समयको खेल नै भन्नु पर्ला , आजको अधिकांश विद्यार्थी पुस्ता
प्रविधिमा बढी विश्वास राख्छ
प्रविधि सँग खेल्न रुचाउँदछ
प्रत्यक ज्ञानका गेडी पैसा तिरी पाउनु पर्ने अवस्थाले थलिएको छ भोलिको देशको कर्णधार
अनि थलिएका छन् अभिभावकहरू।
त्यही भएर
आजको विद्यार्थी
बुझ्दैनन् प्रजातन्त्रका सिद्धान्तहरू (हामीले नबुझाएको पो हो कि?)
बुझ्दैनन् मानव अधिकारका सिद्धान्तहरू (हामीले नबुझाएको पो हो कि?)
कल्पना पनि गर्न सक्दैनन् सामाजिक न्यायका सिद्धान्तहरूको बारेमा (हामीले सपना नदेखाएर पो हो कि?)
अनि हराउँदै गएको आभाष हुन्छ हिजोका ती प्रजातन्त्र, सामाजिक न्याय , मानव अधिकार अनि समतामूलक समाजका सिद्धान्तहरूका ठेलीहरू।
त्यही भएर कता कता क्षितिजमा
उही पुरानै अप्रजातान्त्रिक युगको भूत जाग्न खोजेको आभाष हुन्छ भविष्यमा
फरक रूप अनि भेषमा ।