'कोरोना महाराज! कोरोना महाराज!,
कत्ति दौडिनुहुन्छ। एक्कै छिन रुक्नुस् न। हजुरसँग केही कुरा गर्नुछ' आफ्नो साम्राज्य फैलाउँदै हिडेका कोरोना सम्राटलाई मैले चिच्याउँदै बोलाए।
अलि धेरै टाढाबाट बोलाएकोले होला उनले सुनेनन् र रोक्किएनन् पनि। त्यसपछि मैले अलि नजिक गएर सर्वप्रचारित डिस्टयान्स मेन्टेन गर्दै करिब तीन मिटर परबाट फेरि बोलाएँ। उनी टक्क रोकिए।
'को हौ? के भन्नुछ? छिटो भन' भन्दै उनी फेरि लम्कदै थिए।
मैले फेरि सोधें- 'किन एकछिन रोकिन मिल्दैन र महाराज?'
उनले अलि झर्किंदै भने- 'तिमीलाई थाहा छैन? म विश्व भ्रमणमा छु भनेर, साम्राज्य फैलाउने अभियानमा छु भनेर?' उनी रोकिन मानेनन्। बरु उनीसँगै केहीछिन हिड्दै कुरा गर्न भने सहमत भए।
मैले पनि विश्व स्वास्थ्य संगठनको विज्ञप्ति, फेसबुक, ट्वीटर, पत्रपत्रिका, रेडियो आदिबाट सचेतनाका लागि अत्याधिक मात्रामा जारी गरिएका संदेशहरुको हेक्का राख्दै मास्क लगाएको छु र एक मिटरभन्दा बढीको दूरी कायम राखेर उनीसँगै हिंडिरहेको छु।
अनि फेरि मैले सोधेँ- 'हजुर, म अब जिज्ञासा राख्न सक्छु महाराज?'
उनले घनको टाउको जस्तो मुन्टो हल्लाउँदै अनुमति दिए।
मैले सोंधे- 'महाराज हजुरले केही दिन यता विश्वका मानिसहरुलाई किन यस्तो त्रसित बनाइरहनु भएको छ?'
उनी जंगिए- 'त्रसित? केको त्रसित? मानिसले कति दग्धि गरेका छन् नि।'
उनी मानिसहरुसँग अत्यन्तै क्रुद्ध रहेछन् भन्ने उनको हाउभाउले बताइरहेको थियो।
त्यसपछि मैले नम्रसँग भने- 'कोरोना महाराज नरिसाउनुस् न। म एक निर्दोष मनुवा हुँ। मैले त केही गरेजस्तो लाग्दैन। बरु धेरै दिनदेखिको कौतुहलता मेटाउन हजुरसँग अनुरोध गरेको हुँ।'
मेरो नम्रता अनुनय विनय पछि उनी नरम हुँदै भने- 'ल सुन। जब यो पृथ्वीमा मानिसको उत्पत्ति र विकास हुँदै गयो, तबतब उनीहरुले आफ्नो सक्कली हैसियतलाई भुलेर प्रकृतिमाथि धावा बोल्न थाले। विज्ञान र विकासको हवाला दिँदै प्राकृतिक स्रोतमाथि दोहन गर्दै गए, वातावरण प्रदुषित गर्दै गए।
यतिसम्म गरे कि, पछिल्ला दिनहरुमा त खपी नसक्नु नै भयो। वन, वन्यजन्तु, खोलानाला, नदी, खानी खनिज, वातावरण आदि सबैलाई आफ्नो अस्तित्व जोगाउन मुस्किल पर्दै गयो। यी सबै माथि मानिसहरुले एकछत्र साम्राज्य चलाउन थाले।
कहिलेकाहीँ आफैँले गरेको विकासको प्रतिफल स्वरूप हुने शक्ति संघर्ष, लडाई, झगडा, दुर्घटना र केही रोगव्याध आदिबाट त केही मात्रामा तिनीहरुको नास भएको भएता पनि, जुन तहमा उनीहरुले प्रकृतिको नास गरिरहेका छन्, त्यो तहबाट हेर्दा अपर्याप्त थियो। त्यसैले हजारौंको संख्यामा मानिसहरुसँग बदला लिन र उनीहरुलाई केही हदसम्मको नियन्त्रणको निम्ति बेलाबेलामा महामारीको रुप धारण गरी आउनु एक मात्र विकल्प थियो।
त्यसैले प्लेग, सार्स, फ्लु इत्यादिको रुपमा प्रकट भै मैले बेलाबखतमा साम्राज्य आफ्नो हातमा लिने गरेको थिएँ। अहिले कोरोनाको रुपमा आएको छु। तिमीलाई थाहा छ नि अहिले विश्व हल्लाउने, मैं हुँ भन्ने मानिसहरु कत्ति थर्कमान छन्, त्रसित छन् म देखि। मैले मन्त्री, प्रधानमन्त्री कसैलाई दपेट्न बाँकी राखेको छैन।'
मैले सही थाप्दै भनें- 'हो महाराज हो। दशकौं, शताब्दीयौं पछि सम्पूर्ण मानव जगत त्रसित छन्। जताततै बन्द छ- कलकारखाना बन्द, व्यापार, यातायात सबै बन्द छन्। मानिसहरु बाहिर निस्किन डराइरहेका छन्। आफू आफैसँग पनि त्रसित छन्, चिन्तित छन्। आत्मविश्वास गुमाएका छन्। कुनै युद्धले त निश्चित ठाउँहरुमा मात्र प्रभाव पार्थ्यो होला। अहिले त जताततै।
कोरोना महाराज फेरि भन्छन्- 'ल देख्यौँ त। अहिले गोला, बारुद, क्षेप्यास्त्र कुनै काममा आयो त? पृथ्वीलोकमा प्राकृतिक सन्तुलनलाई केही हदसम्म भए पनि जोगाइराख्नु आवश्यक भएकोले नै बेलाबखतमा यस्तो कदम आवश्यक परेको हो। ल भन त, बन्दको कारण कम से कम केही दोहन त रोक्कियो नि, हो कि होइन।
तथाकथित विकासको गति पनि टक्क रोकिएको छ। अहिले सबैको ध्यान मेरो आक्रमणलाई कसरी थेग्ने र मुक्ति पाउने भन्नेमा मात्र छ। त्यो चन्द्रमा, मंगल ग्रहमा पुग्ने विज्ञानले मेरो अभियानलाई रोक्न सकेको छ त?'
हिहिहि… हाँस्दै उनले सोधे- 'तिमी कुन धर्म मान्छौ?'
मैले अचम्म मान्दै भनेँ- 'किन र महाराज? म त हिन्दु धर्मको अनुयायी हुँ।'
उनले थप्दै गए- 'तिमीलाई थाहा छ नि? कौरवहरुको अत्याचार समाप्त गर्न महाभारतको युद्ध भएको थियो नि।'
मैले अर्को प्रश्न सोधें- 'ल ठीक छ। त्यो त भयो। तर हजुरले किन यस्तो झुक्क्याएर एक्कासी आक्रमण गर्नुभयो?'
उनले भने- 'यो मेरो बाध्यता थियो। यदि मैले यस्तो नगरेको भए ती अत्याचारीहरुले मेरो आक्रमणको विरुद्धमा रक्षात्मक तयारी गर्थे र मैले चाडै नै हार खानु पर्थ्यो। त्यसप्रति म सजग थिएँ।
म पनि कम छुइन नि। कोरोना हुँ कोरोना। त्यसमा पनि कोभिड-१९। हि हि हि,' उनले हाँस्दै भने।
अब अलि समय गैसकेको थियो। कोरोना सम्राट आफ्नो गति बढाउन हतारिदै थिए। ममा भने अझैँ केही जिज्ञासाहरु बाँकी नै थिए।
मैंले फेरि भनेँ- 'महाराज! तपाईंलाई अलि हतार छ। तर म हजुरसँग दुई वटा मात्र जिज्ञासा राख्न चाहन्छु।'
कोरोना- 'केके हो छिट्टै सोध। मलाई हतार भैसक्यो।'
मैले सोधे- 'हजुरले किन पहिले चीनमा आक्रमण गर्नुभयो र अहिले युरोप अमेरिकामा किन आक्रमणलाई केन्द्रित गरिरहनु भाको छ?'
उनले हाँस्दै भने- 'तिमीले त आद्योपान्त नै जान्ने कोसिस गर्यौ त। ल सुन। मेरो खास निशाना यूरोप अमेरिका नै थियो। तर मलाई के थाहा थियो भने पहिला चीनमा आक्रमण गरे भने त्यो देखेर अमेरिकी र यूरोपियन शासकहरु रमाउनेछन् र त्यही मस्तीको बेलामा आक्रमण गरें भने तिनीहरुमाथिको मेरो आक्रमण प्रभावकारी हुनेछ।
अनि चीनमा भन्दा यूरोप अमेरिकामा खुल्ला समाज भएकोले त्यहाँका मानिसहरु अलि छाडा छन् र त्यस्तो वातावरण मेरो कदम विस्तार गर्न तुलनात्मक रुपमा धेरै अनुकूल भएको छ। जति बढी भीडभाड, त्यति मलाई मज्जा, हिहिहि…।'
उनले थपे- 'त्यति मात्र हैन, अमेरिकाले आफ्नो नेतृत्वमा यूरोपियन मुलुकहरुको समेत सहयोगमा विश्वमा यति साम्राज्यवादी हैकम चलाएको छ कि जुन अक्षम्य छ। अन्य मुलुकहरु विरुद्ध ज्यादती गरिरहेको छ अमेरिका, निर्दयीपूर्ण ज्यादती।
सबैभन्दा बढी स्रोतको केन्द्रीकरण र दोहन अहिलेसम्ममा यिनीहरुले नै गरेका छन्। ल भन त हिरोसिमामा बम कसले खसाल्यो? इरान/इराकमा कसले गर्यो आक्रमण? यस्ता अनगिन्ति घटनाहरु छन्। त्यसकारण, त्यसको सजाय त कुनै न कुनै रुपमा दिनै पर्थ्यो तिनीहरुलाई।
मेरो खास उदेश्य धेरै मानिस मार्नेभन्दा पनि धेरैलाई त्रसित बनाउने हो। साम्राज्यवादी र तानाशाहीहरुलाई काबूमा लिने भनेको अदृश्य शक्तिको प्रयोगबाट नै हो।'
उनले थपे- 'हुन त मलाई दक्षिण कोरिया र चीनलाई पनि छोड्न त मन छैन। किनकी, तिनीहरु पनि स्रोत दोहन गर्न त कम छैनन् नि। अनि कोरियन र चिनियाँहरु अलि चलाख पनि त रहेछन् क्या। छिट्टै बुद्धि पुर्याएर गतिलो योजना बनाएर मेरो अभियानलाई अलि सुस्त बनाउन सफल पनि भएका छन् तिनीहरु।
म त चकित खाएँ, तिनीहरुको दृढता र लगनशीलता देखेर। उता चिनियाँ मोडल भन्दै अमेरिकनहरुले नकारेका कारण मलाई त क्या मज्जा भाको छ। मेरो विस्तारको गति दिन दुई गुना रात चौगुना।'
उनी त्यत्तिकैमा रोक्किए। त्यसपछि मैले भने- 'महाराज, अब मेरो अन्तिम जिज्ञासा राख्छु, गार्हो नमानी जवाफ दिइबक्स्योस् है। हजुरको यो साम्राज्यबाट मुक्ति प्राप्त गर्ने उपाय के होला त?'
उनले हाँस्दै भने- 'हेर यो क्लु दिने कुरा त होइन। तर पनि गोप्य राख्ने सर्तमा म भन्दैछु। खासगरी, अल्पकालीन रुपमा अहिले चर्चामा आएका सामाजिक दूरी, क्वारेन्टाइन, सेल्फ आइसोलेसन, र्यापिड टेस्टिंग लगायतका उपचार जस्ता विधि र पद्धति अनि पोषिलो र झोलिलो खानपान नै हो।
तर यो कुरा थाहा पाएर पनि जहाँ मानिसहरु अनुशासित छैनन् त्यहाँ भने मेरो निम्ति अनुकूल वातावरण कायम रहेको छ। तर दीर्घकालीन उपाय भने विज्ञान, वातावरण र विकासलाई अतिरंजन नगरी सन्तुलित रुपमा र वृहद कल्याणकारी हुने हिसाबले अवलम्बन गर्नु नै हुनेछ। सन्तुलित र स्वस्थ खानपानका साथ मानव शरीरमा प्रतिरोध क्षमताको विकास गर्नु अर्को एक महत्वपूर्ण कडी हो।'
'खबरदार कसैलाई नभन्नु, भनेमा राम्रो हुने छैन है' भन्दै चेतावनी दिंदै सम्राट कोरोना कोभिडले आफ्नो गतिलाई तेज बनाए। म भने आफ्नो जिज्ञासा रा गर्न पाएकोमा खुशी हुँदै फर्किएँ र प्रण गरेँ कि अरुले जेसुकै गरुन्, म लकडाउनको पालना गर्नेछु।
सामाजिक दूरीको ख्याल राख्नेछु। क्वारेन्टाइन, सेल्फ-आइसोलेसन जस्ता विधिहरुको सम्मान गर्नेछु। चिकित्सकहरुको सल्लाहलाई पालन गर्नेछु। स्वस्थ, प्रतिरोधी क्षमता बढाउने र झोलिलो खानेकुराहरु खानेछु। पढाइ, व्यापार, व्यवसाय आदिको बारेमा धेरै चिन्ता लिने छैन।
सबैभन्दा ठूलो कुरा स्वास्थ्य र जीवन नै हो। पुर्खाहरुले यसै भनेका होइनन् नि 'जीउ बाँचे घिउ पिइन्छ' भनेर। अरुलाई पनि यस्तैयस्तै सल्लाह दिनेछु र कोभिड-१९ नियन्त्रणको अभियानमा साथ दिनेछु।
(लेखक नेसनल इन्स्टिच्युट फर रिसर्च एण्ड डेभलपमेन्टका अध्यक्ष हुन्।)