कविता
कतै आँसु भन्दा आँसु को मूल्य बढी
कतै आँसु भन्दा आँसु को मूल्य कम
सन्तुलन मा तोक्न सकेन बजार ले आँसु को मूल्य
कतै हाँसो भन्दा हाँसो को मूल्य बढी
कतै हाँसो भन्दा हाँसो को मूल्य कम
सन्तुलन मा तोक्न सकेन बजार ले हाँसो को मूल्य
कतै शिक्षा भन्दा शिक्षा को मूल्य बढी
कतै शिक्षा भन्दा शिक्षा को मूल्य कम
सन्तुलन मा तोक्न सकेन बजार ले शिक्षा को मूल्य
कतै स्वास्थ्य भन्दा स्वास्थ्य को मूल्य बढी
कतै स्वास्थ्य भन्दा स्वास्थ्य को मूल्य कम
सन्तुलन मा तोक्न सकेन बजार ले स्वास्थ्य को मूल्य
कतै विकास भन्दा विकास को मूल्य बढी
कतै विकास भन्दा विकास को मूल्य कम
सन्तुलन मा तोक्न सकेन बजार ले विकास को मूल्य ।
(१)
***
कति धेरै किसानहरू लुटिएका छन् बजार मा
कति धेरै मजदूरहरू कुटिएका छन् बजार मा
कति धेरै विद्यार्थीहरू लुटिएका छन् बजार मा
कति धेरै शिक्षकहरू कुटिएका छन् बजार मा
कति धेरै बिरामीहरू लुटिएका छन् बजार मा
कति धेरै स्वास्थ्यकर्मीहरू कुटिएका छन् बजार मा
कति धेरै कलमहरू बेचिएका छन् बजारमा
कति धेरै कलमजीवीहरू मारिएका छन् बजारमा
कति धेरै बलजीवीहरू बौरिएका छन् बजारमा
कति धेरै नवजात शिशुहरू बाबा खोज्दै रोएका छन् बजारमा
कति धेरै नवजात शिशुहरू आमा खोज्दै रोएका छन् बजारमा
सुत्केरी बिदा नपाएर दूधको धारा फाल्दै छिन् उता आमा बजारमा
कति धेरै मत पत्रहरू बेचिएका छन् बजारमा
कति धेरै मत पत्रहरू साटिएका छन् बजारमा
कति धेरै मत पत्रहरू बदर भएका छन् बजारमा
कति धेरै मत पत्रहरू च्यातिएका छन् बजार मा।
(२)
***
पुर्खेउली बस्तीहरूमा मा डोजर चलाएर
मान्छे लाई चिल्ली बिल्ली पार्दै
चौडा पारिएका सडकहरूमा
धुलो उडाउँदै
धुँवा को मुस्लो फाल्दै
कर्कस आवाज निकाल्दै
मानिस लाई मार्दै
बेफिक्री चलिरहेछन्
देशका कर्णधार बोकेका
सहरका नामी विद्यालयका
थोत्रा मोटरहरू
अथवा
पत्रु खाना बोकेका
ती झिली मिलि मोटरहरू
अथवा
पहाड फोरी
नदी खोस्री
ढुंगा र बालुवा बोकेका
हेर्दै राक्षस जस्ता
ती अजंगका मोटरहरू
अथवा
सिन्की झैं यात्रुलाई खादि
जसो तसो गुड्ने
ती थोत्रा मोटरहरू
अथवा
लर्के तात लगाउँदै
साइरन बजाउँदै
चिप्लिने ती चिप्ले कीरा जस्ता मोटरहरू
फगत बजार विस्तार को लागि।
(३)
***
देखा देख्दै
बेलगाम बजारले खाइरहेछ
तोरी फुल्ने ती पाखाहरू
धानका बाला झुल्ने ती खेतहरू
मकै फल्ने ती टारीहरू
बाजे बजै ले रोपेका ती बर पिपल हरू
गौथली का ती गुणहरू
कोइलीका ती गीतहरू
भुल भुल फुटेका ती पानीका मूलहरू
छंग छंग खसेका ती झरनाहरू
कल कल बग्ने ती खोला नाला हरू
अनि चौतारीमा बसी लगाएका ती माया प्रितिहरू ।
(४)
***
बजारले
असन्तुलित रूपले
तोकिरहेछ
सीपको
रूपको
यौवनको
अनि सारा मानव अंग प्रत्यंगको मूल्य
बजार ले क्रमश: तोक्दै छ
नैतिकताको
प्रजातन्त्रको
न्यायको
जनमतको
असन्तुलित मूल्य
बेलगाम बजारले
अस्त व्यस्त पार्दै
विस्तारित हुँदै
तोकी रहेछ मूल्य
बजार ले तोकिरहेछ
कुर्सीको मूल्य
आत्मकथाको मूल्य
जीवनकै मूल्य
ती कलिला हातहरूमा
बोकाउँदैछ बजार ले बजार शास्त्रका ठेलीहरू
मिल्काउँदै
ती नैतिक मूल्य मान्यताका ग्रन्थहरू
अनि त्यो सब रमिता
लिलाम बडा बडामा
बजार ले किनेको मत टुलु टुलु हेरी बस्दछ
ती बजारका गतिविधिहरू
बजार लाई साधन बनाउनु पर्ने
त्यो मत
जानेर हो वा अन्जानमै
बजार को साधन बन्दै छ
बजारको साधक बन्दै
बजार लाई साध्य बनाउँदै
त्यसैले त
बेलगाम बजारमा
नसक्ने भै सकिन् ती सुत्केरी आमाले आफ्नो बच्चा लाई दूध खुवाउन
नसक्ने भै सके ती शिक्षकले आफ्नो सन्ततिलाई शिक्षा दिन
नसक्ने भै सके ती स्वास्थ्य कर्मीले आफ्नै स्वास्थ्य उपचार गर्न
नसक्ने भै सके ती न्यायकर्मी ले आफ्नै लागि न्याय दिन
नसक्ने भै सके ती जन प्रतिनिधिले जनताको लागि वकालत गर्न
नसक्ने भै सके वास्तव मै ती जनता आफ्नो उचित प्रतिनिधि चुन्न।
(५)
**
अन्त्यमा
सोधूँ सोधूँ लाग्छ तिमीलाई
आँसु को वास्तविक मूल्य कति हो?
हाँसो को वास्तविक मूल्य कति हो?
शिक्षा को वास्तविक मूल्य कति हो?
स्वास्थ्य को वास्तविक मूल्य कति हो?
विकास को वास्तविक मूल्य कति हो?
र
अन्त्य मा
फेरि एकपटक
सोधूँ सोधूँ लाग्छ तिमीलाई
हामी सबैले मिलेर ल्याएको प्रजातन्त्रको बिउ
त्यो जन मत को वास्तविक मूल्य कति हो?
त्यो नैतिक मूल्य मान्यता को वास्तविक मूल्य कति हो?
त्यो सनातन मानवताको वास्तविक मूल्य कति हो?
(६)