के सत्य बुढो भएकै हो?
अशक्त भएकै हो?
निरिह भएकै हो?
के सत्य बेचिएकै हो?
के सत्य किनिएकै हो?
के सत्यमाथि सामुहिक आक्रमण भएकै हो?
सामुहिक बलात्कार भएकै हो?
के सत्य असफल भएकै हो?
सत्य देख्दा देख्दै पनि
घोषणापत्रमा लेखिएता पनि
संबिधानमा लेखिएता पनि
किन दुई-तिहाई सत्यको मामिलामा चुपचाप छ?
किन बाँकी एक तिहाई पनि छेपारा झैँ रंग फेर्दै हिड्दछ?
किनकी पक्कै पनि सत्य बहुरुपी हुन्छ
किनकी सत्य पक्कै पनि बहुआयमिक हुन्छ
अनि सत्य पनि इन्द्रधनुस झैँ सप्तरंगी हुन्छ
अनि बांगोटिङ्गो बाटोमा नागबेली झैँ
सुसाउदै हिड्ने नदी झैँ हिड्छ
धेरैलाइ जीवन दिँदै
धेरैको जीवन लिँदै।
त्यसैले त
तिम्रो सत्य, मेरो सत्य, सत्ताको सत्य
धनिको सत्य, गरिबको सत्य, जनताको सत्य
पक्कै पनि फरक फरक हुन्छन्
समय काल परिस्थिति अनुसार
यानेकी सत्य एक चर हो
त्यही भएर त एउटा बुढोको सत्य
उनीसँगै बुढो भएको ठान्दै
अरु बुढाहरु धमाधम बुढी सत्यसँग सम्बन्ध विच्छेद गर्दै
अरु बुढीहरु धमाधम बुढा सत्यसँग सम्बन्ध विच्छेद गर्दै
अरु धेरै बहुरुपी सत्य जन्माउन
अरु धेरै बहुआयमिक सत्य जन्माउन
धमाधम जवान असत्यसँग दोस्रो तेस्रो सम्बन्ध गाँस्दै छन्।
के तिमीलाई मेरो कुरा पत्यार लागेन?
नपत्याए सोध त
सत्यको खातिर
पटक पटक सत्याग्रह रोज्ने
ती अस्पतालमा सुतीरहने बुढालाई
अथवा अन्धकारको सट्टा उज्यालो रोज्ने
ती बुढौलीतिर लम्कदै गरेका काकालाई
अथवा न्यायको लागि आँखामा कालो पट्टि बाँधी
चट्टानी अडान लिने ती आमालाई!
तर किन जनता तिमी अचर सत्य खोज्दै हिड्दछौ?
तर किन जनता तिमी अचर सत्य खोज्दै हिड्दछौ?