नगद, जिन्सी, मान्छे जे हराउँदा नि
भन्ने, सुनाउने र खोजि माग्ने धेरै ठाउँ हुँदो रहेछ
तर सिंगो गाउँ हराए खोजी दिन त परै जाऔस्,
दुखेसो सुनिदिने पनि कोही नहुँदो रै छ
यही रनाहामा डुबेको म एक मनुवा, हराएको गाउँ खोज्दै छु,
कतै मेरो गाउँ भेटिएमा, नबिर्सी खबर गर्नु होला,
अग्रिम साधुवाद चढाएँ
हजुर हुलिया ठ्याक्कै डाँडा मुनि,
बारीका पाटाहरूले थिच्दा दुखेर
निर्धक्क तन्किन खोज्दै
घाम तिरै सर्लक्क फर्केको,
पराल, खर र थोरै टिनको छाना ओढेर
ढुंगा, काँचो इँटा र माटो टेकेर
डाँडाहरू बीच लुसुक्क छिपेको
सयौं हिउँद, बर्खा र प्रकोप सहेर
लोभलालच बिनाको बुढी बज्यै जस्तै
एक्लै आफ्नै सुरमा सुसाइ रहने मेरो गाउँ
गाउँ जागेपछि भाले बास्ने
ढिलो उठ्ने घाम लाजले
अबेरसम्मै डाँडापारि अलमल गरी बस्ने
दिनभर पाखा कन्दरा, खोलासँगै दोहोरी खेल्ने
साँझ चौतारीमा ढल्की ढल्की नाँच्दै
रात ढिलोसम्मै चन्द्रमा र तारासँग संगिनी गाउने
जात्रा र मेलाहरूमा यौवन भइ फुल्ने
दुःख आपतहरूमा मनैदेखि खुल्ने
मेहनतले वर्षैभरि अन्न बाली भै झुल्ने
लोभ, लालच र इर्ष्याभन्दा धेरै पर
इमान,भगवान र प्रकृतिसँग सधैँ वर
यस्तै यस्तै थियो मेरो गाउँ
हजुर हराएको स्थान र समय?
हराइ गको त जहाँको त्यहीबाट
जब खेत, आली र गोरेटो भत्काउँदै
अजंगको दैत्य डोजर गाउँ पस्यो
तेलाकाशा र काने काने पिच्चा खेल्दै गर्दा
फुच्चाफुच्चीको हातमा जब मोबाइल झर्यो
टोले बुढाबुढी तमाखुको ट्वार ट्वारमा रमाउँदै गर्दा
जब घर घरमा थर्किने टिभी छिर्यो
डाँडाकाँडा घन्काएर दोहोरी गाउने स्वर सुकेर
जब सिरियलहरुमा खिट्खिटाउन सुक्सुकाउन थाल्यो,
हो त्यही समयदेखि मेरो गाउँ हराएको
आत्मिय र निर्दोष अनुहारहरूबाट,
टोलटोलमा गुञ्जिने भजनका आलापहरूबाट
मैलोधैलो चन्चले भुराभुरीको बुर्कुशीहरूबाट
गाईवस्तु,घाँसको भारी अनि काँधमा हलो अड्याइ
लहरै हिड्नेको हिडाइले रच्ने गोधुली साँझहरुबाट
पर पहेंलै फुल्ने तोरी बारीहरूबाट
भालेको डाँक अघि नै जुर्मुराएर उठ्ने बिहानबाट
चराको चिर्रविर्रसँगै शालिन सुस्ताउँने साँझबाट
खेतमा झुलिरहने सिर्जनाका बालाबाट
खाडीतिर लम्किने तन्नेरीतरूनीको मनबाट
अनि अरू धेरै ठाउँबाट गाउँ हराएको छ
कतै, कहीँ छिमेकको करेसामा
लुकेर काँक्रो चिहाइरहेको केटाकेटी देखिएमा
बाजेबाजैले नातिनातिनालाई
एकादेशको कथा भाकामा लोरी गाउदो सुनिएमा
गाउँको ठूलो रुखमुनि एकहुल बुढाहरू थोते गिजा देखाउँदै
राधाकृष्णलिलाको बखानमा टोल थर्किने गरी हाँस्दै,
साँझ भजनमा बजाउने तबलाको खरी घोट्दै गरेमा
जाँतोको घिर्र घिर्र, ढिकीको ढ्याङ्गढ्याङ्गको सुरमा
साँझले मातसँग मित लाएमा
न्यानो चुलोबाट पुत्पुत्ताउँदै गरेको धुवाँसँगै
रामायण र महाभारतको सिलोक उडेर गाउँ घुम्यो भने
नबिर्सी खबर गर्नुस् है,
कतै त्यो मेरो हराएको गाउँ पनि हुन सक्छ।