धुलाम्मे छ काठमाडौँ
भुइँको माटो आकाशमा।
इँटाभट्टा र थोत्रे गाडीले
लगातार फालिरहेछ धुलो र धुवाँ।
छानिरहेछ लगातार धुवाँ र धुलो
मान्छेको फोक्सोले बाच्नको लागि।
त्यही कुहिरीमंडलमा
हराएको विकास खोजिरहेका छौँ
पहाड खनेर, खोला र नदी खोस्रेर
खन्दै पुर्दै, खन्दै पुर्दै त्यो सत्य युगको सडक।
वातावरणवादी झोक्राएको छ निसास्सिएर
ठेकेदारले दिएको विकासको परिभाषा
कण्ठस्थ गर्दै छ हाम्रो राजनीतिको ठेकेदार
भन्दै छ, विकास हुँदै छ यहाँ
त्यसैले त धुलो उडिरहेछ
सडकको धुलो आकाशमा
आकाशको धुवाँ र धुलो फोक्सोमा
उस्तै उस्तै छ हाम्रो राजनीति र काठमाडौँको धुलाम्मे आकाश
उस्तै उस्तै छ हाम्रो राजनीति र काठमाडौँको धुलाम्मे आकाश।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)