यस पटक पनि चुप छु,
ऊ पनि चुप छ
म अर्थात् जनता,
ऊ अर्थात् सत्ता
ऊ मौन छ सायद
यस पटक आश्वासनको पुनिल्दा सकियो
या म उसलाई पत्याउँछु भन्ने पत्यार उसलाई छैन
म मौन छु यस कारण कि
मेरो बोलीले उसको दरबारको ढोको नाघ्न पाउँदैन
या मेरो भावले उसको मुटुलाई छुँदैन
या मेरो पीडाले उसलाई पोल्दैन
तर के प्रजातन्त्रमा मौनता बर्जित हुन्छ?
कठै प्रजातन्त्रमा मौनता स्वाभाविक हो?
प्रजातन्त्र उसले र मैले मित लगाएर ल्याएको,
जुन बेला ऊ 'ऊ' बनिसकेकै थिएन
मैले भनेको थिएँ 'मैले बोल्न पाउनु पर्छ',
उसले भनेको थियो 'प्रजातन्त्रमा बोल्न पाउँछ'
तर उही कहर
उही लहर
उही सहर
यस पटक ऊ पनि मौन छ,
म पनि मौन छु
ऊ सोच्दै म मौन किनकि
यहाँ रामराज्य छ
म सोच्दै छु ऊ मौन किनकि
ऊ लाजमा छ
सायद त्यसैले
चुच्चे नक्सा छेउमा राखी
चुच्चे टोपीले टाउको छोपी
आश्वासन र सपनाको पोको खोल्न
यसपालि ऊ आइपुगेको छैन,
म केही माग र थोरै आश बोकी
उसलाई पर्खि बसिनँ
कारण मैले बिर्सेको छैन पोहोर
खाली खुट्टा लामो बाटो हिँडेर घर पुगेको
सडकमा हात थाप्दै भोक मेटेको,
त्यसैले एकजोर कपडा थोत्रो झोलामा कोचेर
एकतर्फी भाडा र एक बोटल पानी बोकेर
म मौन मौन सहर छोडेर निस्केको छु
उसले मौनताले स्वीकृती दिएको छ
तर के प्रजातन्त्रमा मौनता पनि
स्वाभाविक आयाम हो?
वा मौनता अनि सामान्य घटना हो?
खै उसको जवाफ के होला?
तर म नेपथ्यमा बज्दै गरेको नगरा सोच्दैछु।