समयको रथमा अविराम घस्रिरहेछ समय
अन्त्यहीन यात्रामा निरन्तर चलिरहेछ जीवन
भालेको डाकसँगै उठेर
आँखा मिच्दै आगो जोरेर
धरतीमा उज्यालो नखस्दै
गोबर माटोले
चुल्हो, अगेनो, ढोका र मझेरीको लिपपोत सकेर
हतार हतार पिठ्युँमा गाग्री बोकी
प्रत्येक बिहान
धारो पँधेरोसँगको सम्बन्ध नवीकरण गर्दै
दाँइमा नारिएको गोरु झैं
ढिकी जाँतो, दाउरा घाँस
खेतबारी, मेलापात
सधैं एकनास घुमेर
घर ब्यवहारमा निमग्न
काम सधैं हाताहातीमा चल्छ
आराम सधैं उधारोमा फल्छ
थाहा छैन
ऐश आरामको अर्थ
मिठो मसिनोको परिभाषा
घरको चार दिवारलाई चारधाम ठानेर
अधरमा उम्रेका प्रत्येक मुस्कान
सन्तानलाई समर्पण गर्छिन् आमा।
हिउँदको ठिही होस् वा बसन्तको बहार
बर्षातको झरी होस् वा शरदको उभार
तप्प तप्प खसिरहन्छ निधारबाट पसिना
सधैं निहुरेर बाँच्नुको नियति हो यो
पाइला पाइलामा अभाव टेकेर चलिरहन्छ दैनिकी
उकुस मुकुस जिन्दगी भोग्नुको विवशता हो यो
पलपल संवेदना चुहिरहन्छ मनबाट
रहरको कैदी बनेर जिउनुको यथार्थ हो यो
गरेन कसैले
जिन्दगीको बहिखातामा लेखिएको पसिनाको हिसाब
हेरेन कसैले
जीन्दगीको मूल्य अंकित युगको बकपत्र
देखेन कसैले
मनको बगैंचामा फूलेको आँशुको फूल
सुनेन कसैले
दिलको भित्तामा टाँसिएको ठिटलाग्दो हाँसो
तै पनि साँझ बिहान
आस्थाको घण्ट बजाउँछिन् आमा
विश्वासको दीप जलाउँछिन् आमा
सधैं सधैं
जिजीविषा छचल्किएका आँखाले
कुच्चिएको कसौडी नियालेर
चुल्होको आडमा हार्दिकता पस्किँदै
पकाउँछिन्, खुवाउँछिन् आमा
जुठो पार्छिन्, चोख्याउँछिन्
आफ्नो जिन्दगी चपाएर आफ्नै अस्तित्व खोज्दै
नजरका प्रत्येक दृष्टि सन्तानका लागि छर्छिन् आमा।
अग्लिरह्यो अबरोधको पहाड
कहिल्यै विचलित भएन मातृवात्सल्य
पग्लिरह्यो खुसीको हिमाल
पटक्कै रोकिएन आशीर्वादको बाढी
सन्तान हुँदाको झण्झट पनि सहेकै छिन्
सन्तान नहुँदाको पीडा पनि भोगेकै छिन्
तै पनि
आमा हुनुको सार्थकता सिद्ध गर्न
आफ्ना सपनाहरू बन्धकी राखेर
सन्तान खुसी किनिरह्यौ
आफू दिनरात घोटिएर
सन्तान सुख दिइरह्यौ
चेतनालाई तिखारेर
प्रतिभालाई उघारेर
क्षमतालाई चिनाएर
नयाँ संसार देखाएर
आफ्नो स्निग्ध मनको मझेरीमा
सृष्टिको सुन्दर बिहानी हेरिरह्यौ,
सुख र दुखको कहानी सुनीरह्यौ
त्यति बेला
मुहारमा गुलाब फर्फराउँथ्यो
आवाजमा चमेली मग्मगाउँथ्यो
आँखामा विश्वास जग्मगाउँथ्यो
आफ्नै भाषा बुझ्न नसक्ने मैले
कहाँ बुझेछु र ! आमाको परिभाषा
आफ्नै दुःख छाम्न नसक्ने मेरो मनले
कहा बुझ्न सक्थ्यो र ! आमाको दुख
सिर्जनाका फूलहरू फूलाउँथिन् आमा
संभावनाका उत्साहहरू जगाउँथिन् आमा
आफ्नै दिलको पिलोलाई चटक्कै बिर्सेर
ममतामयी बाहुपासले
सन्तानलाई स्नेहको पछ्यौरी ओडाउँथिन् आमा।
अहिले
निर्लज्जसँग साथ हाँसिरहेको समयलाई साक्षी राखेर
हुन्न भन्न नचाहने
हुन्छ भन्न नसक्ने
लाचार नियतिका साथ आमा खोजिरहेछु म
झलझली सम्झिँदैछु
फकाएर कोक्रामा हल्लाउँदै सुताएको
पिठ्युँमा बोकेर यत्रतत्र डुलाएको
तालुमा तेल ठोकी काखमा बसाएको
मुखमा अमृत पोखी भोक प्यास मेटाएको
कोची कोची खुवाएको, मैले खाँदा अघाएको
तोते बोलीलाई मधुर ध्वनी सम्झेर हँसाएको
धुलौटोमा हात समाई बाह्रखरी लेखाएको
बिरामी हुँदा मल्हमपट्टी ओखती पिलाएको,
ज्ञानी हुनु, असल हुनु भन्दै मलाई सुम्सुम्याएको
त्यसैबेला थाहा भएको हो मलाई
बात्सल्यको इन्द्रेणी हुन्छ आमाको छायामा
विश्वासको सागर बग्छ आमाको मायामा
त्यसैले
भौंतारिएको मनलाई सम्हालेर
आफैंभित्र आमाको अस्तित्व खोज्दै छु म
आँखामा सपनाको बाह्रमासे फूलाएर
मातृत्वको पहाड चुल्याउँदै छु म।
रोकेर एकैछिन्,
आमाका हृदयको पटाङ्गिनीमा
लडिबुडी खेल्दै सोचेको ओजस्वी भविष्य,
आमाको आशीर्वादले स्पन्दित भएर
हिँडेको अनवरत यात्रा
पोख्दैछु म
हृदयभरी गुम्सिएका भावनाहरू
मलाई
पानी पर्दा होस् वा घाम लाग्दा
आमाको छहारी चाहिन्छ
जाडोले काम्दा होस् वा बिरामी पर्दा
आमाको पछ्यौरी चाहिन्छ
थकाई लाग्दा होस् वा भोक निद्राले सताउँदा
आमाको काख चाहिन्छ
दुःखमा रूँदा होस् वा सुखमा रमाउँदा
आमाको साथ चाहिन्छ
सुनाउँदै छु म मनभरीको आकांक्षा
साच्ची नै मैले
आमाको काखमा एकपल निदाएर
एकयुग सपना देख्नु छ
आमाको अँगालोमा एकछिन सुस्ताएर
जुनीभरीको सुख निम्त्याउनु छ
ढिलै भए पनि आमा
तिम्रो हृदयको गहिराईमा शान्तिको आभास दिनु छ
तिम्रो मनको आकाशमा उन्मुक्तिको निस्वास छोड्नु छ,
भन त आमा
तिम्रो रित्तो पोल्टामा खुसीको भारी कहिले खन्याऊँ?
तिम्रो दुःखको संसारमा सुखको प्रवेश कहिले गराऊँ?