'निहोन' बाट फर्केको पनि तीन वर्ष बितिसकेछ। यी तीन वर्ष मेरो निमित्त उच्च निराशाका दिनहरू थिए। म शंकरदेव क्याम्पसबाट 'एमबिएस' गरेर कलेज पढाउने उत्कट चाहनाले नेपाल फर्किएको थिएँ।
कमाइ त जापानमै ठिक थियो। सानो 'सुसी' कम्पनीले यथेष्ट ओभर टाइम दिएकै थियो। ट्याक्स र पेन्सन कटाएर पनि हातमा २० मान (नेपाली करिब दुई लाख) पर्थ्यो। दुःख त काममा हुने नै भयो। जापानबाटै आफ्नो खातामा पचास लाख जम्मा गरेकी थिएँ।
खोनाथलाई ढाँटेर सधैँको लागि नेपाल हिँडेकोमा सधैँ पछुतो लागिरह्यो।
खोनाथलाई तिमीसँग बिहे गर्न नसक्ने भनेको भए पनि उनी मुसुक्क हाँस्थे र भनिदिन्थे- 'जन्म, मृत्यु र विवाह प्रारब्धकै खेल हो, लिसा।'
तर पनि किन ढाँटेछु खै?
मैले पुनः जापान जाने सोच बनाएँ।
मामुबाबा उहाँहरूले भनेको केटासँग बिहे नगरेकोमा रुष्ट हुँदै मसँग बोल्न समेत छोडिसक्नु भएको थियो। मामुले तेरो नियत बुझेको र त्यही गोबर गाउँले केटासँग बिहे गर्न पिआर र ग्रिनकार्ड धारी केटाहरू एकपछि अर्को गर्दै 'रिजेक्ट' गरिरहेको आरोप लगाउनुभयो।
बिचरा खोनाथ 'फुसिमी'मै थियो वा सिकरकटेरी फिरिसकेको थियो, मलाई अत्तोपत्तो थिएन।
मैले सबै केटाहरू रिजेक्ट गर्नमा मुख्य दोषी खोनाथ नै थियो। पाँच वर्ष 'लिभिङ टुगेदर'मा खोनाथसँगको संगतले म आफैँ उसको फोटोकपी बनिसकेको रहेछु। ममा सम्पत्तिको कुनै लालचा बाँकी रहेन। म जापान जानु पूर्वकी 'लिसा' रहिनँ।
मलाई माग्न आउने सबै गोवादेखि बालीमा पुगेर हनिमुन मनाउन आतुर थिए। नेपाल नफर्कनेमा दृढ थिए। जीवन सामान्य मनुष्यले बुझेजस्तै 'सेक्स एन्ड ब्रेड' भन्दा बढी बुझेकै थिएनन्।
मेरो खोनाथ त्यस्तो थिएन। मलाई अहिले पनि याद छ; लिभिङ टुगेदरको 'फर्स्ट डे' मै उसले भनेको थियो- 'लिसा, तिमी पनि मेरो निमित्त पृथ्वी हौ।'
मैले नबुझेपछि उसले अर्थ्याएको थियो र भनेको थियो- 'आमा पृथ्वी हुन्, बाबु आकाश हुन्।'
उसका दार्शनिक तर्कहरू म फिटिक्कै बुझ्दैनथेँ।
खोनाथलाई ताकाबाताको 'आरुबाइतो'मा भेट्टाएको थिएँ। छ फिट अग्लो। कहिल्यै लुगा मिलाएर लाउन नजानेको, मन्द मुस्कुराउने र अत्यन्तै कम बोल्ने स्वभावको मान्छे थियो।
मलाई पहिलो भेटमै खोनाथ मन परेको थियो। तर खोनाथ 'ताबाको' र 'साके' खुब पिउँथ्यो। अविच्छिन्न किताब पढ्ने उसको सद्गुण मात्रै ममा सरेन, म ऊसँगै नारिएर चुरोट र अल्कोहल पिउन थालेँ।
खोनाथ मौनवादी 'फेमेनिस्ट' थियो। मेरो 'पिरियड' हुँदा हात खुट्टा मालिस गरिदिन्थ्यो। खाना तयार पार्थ्यो। जाँगर लगाएर पकाउँदा ऊ पाकिस्तानी 'बक्रा' र ब्राजिलियन 'चिकेन' खुब मस्त मिठो पकाउँथ्यो। उसको बोली जहिल्यै मधुर हुन्थ्यो भने 'हँसमुख' चेहराले मेरो दिनभरको थकाई दूर हुन्थ्यो। हामी एउटै रुमको फरक फरक ओछ्यानमा सुत्थ्यौ। ऊमाथि सधैँ म हाबी भइरहेँ।
ऊ किताब पढ्दापढ्दै निदाउँथ्यो। किताब, डायरी र डेटपनसँगै निदाउँथ्यो। उसको ओछ्यान आज मिलाइदियो भने भोलि उस्तै हुन्थ्यो। म आजित भएर उसलाई आफ्नो ओछ्यानमा बोलाउँथेँ र अंकसायमी हुन्थेँ।
तर अचम्म के थियो भने खोनाथले मलाई नायिका बनाएर लेखेको नोबेल 'सायोनारा' तीन वर्ष बित्दा पनि बजारमा आएन। हुन त उसले लेखेको आख्यानमा मेरो असहमति थियो। असहमतिका बाबजुद खोनाथले हस्तलिखित पाण्डुलिपि तयार पारिसकेको थियो। मनमा डर पस्यो। हातखुट्टा सल्याकसुलुक भए। शरीरका रौँहरू ठाडा भए। खोनाथलाई ठिकठाक होला कि नाईँ?
तीन वर्षपछि फेसबुक खोलेँ। फेसबुकबाट सिधै मेसेन्जरमा पुगेँ।
'लिसा, नेपाल पुग्यौ नि? अनि कहिले फर्किने नागोया? मेरा बिस वटा किताब छन् है। किताबका नामहरूको लिस्ट थियो। साँच्ची लिसा तिमीले त 'सुसी'मा त रिजाइन गरेर हिँडेको त भनेकी थिएनौ नि। सायद बिहे गर्छौ होला, है? पाँच वर्ष सँगै बस्दा मेरा हजारौँ गल्तीहरूलाई बिर्सिदिनू है लिसा।'
खोनाथले मैले जापान छोडेको तीन महिनासम्म चरणबद्ध मेसेज पठाएको थियो। उसको अन्तिम वाक्य 'सायोनारा मेरी लिसा' भन्ने वाक्यले मेरो आँसुको बाँधलाई रोक्न मैले सकिनँ। तुरुन्तै आइफोनमा मेसेन्जर डाउनलोड गरेँ र खोनाथलाई फोन लगाएँ।
नेपालमा रातको ११:२० भएको थियो। पक्कै पनि जापानमा खोनाथ सुतेको थिएन। तर अपसोच मेसेन्जरको रिङ गएन। जापानको उसको नम्बरमा डाइरेक्ट कल गरेँ। यो नम्बर उपलब्ध छैन भनेर जापनिज भाषामा कम्प्युटर बोल्यो।
जापानमा खोनाथका दोस्तहरू 'कार्की ब्रदर्स' अर्थात् बिनोद कार्की र रामु कार्की झट्ट दिमागमा आइपुगे। 'सिञ्जुकु' बस्ने बिनोद कार्कीसँग मेरो चिनजान नै थिएन। खोनाथको जापानमा संकटको साथी बिनोद थियो। नेपालबाट फर्किँदा तीस वटाभन्दा बढी किताब बिनोदले टोकियोबाटै नागोया कुरियर गरिदिन्थे। तर रामु कार्की खोनाथको फुसिमी बस्दाको अत्यन्त निकट भाइ थियो। हामी दसैँ, तिहार जस्ता 'माचुरी'मा मात्रै होइन रामुलाई 'यासुमी'मा समेत बोलाएर सँगै खाना खान्थ्यौँ।
रामु खोनाथमार्फत चिने पनि हामीबिच पनि 'देवर र भाउजू'को राम्रो सम्बन्ध स्थापित भइसकेको थियो।
रामुले खोनाथ दाइ सिकरकटेरी फर्किएको दुई वर्ष बितिसकेको बताए। साथै खोनाथ नेपाल फर्केसँगै सम्पर्क हुन नसकेको र मेसेन्जरमा फोन नलागेको बताए।
खोनाथलाई भेट्न सिकरकटेरी जानुको विकल्प थिएन। रामु कार्कीसँग एक्ज्याक्ट सिकरकटेरी पुग्ने एड्रेस लिएँ।
बिहानसम्म फिटिक्कै निद्रा परेन।
चैतको गर्मीमा धुलिखेल कटेसँगै स्कुटरको गति बिपी हाइवेमा बढाएँ। भकुन्डे पुगेर चिया खाँदै गुगलमा सिकरकटेरी सर्च गरेँ। भेटिएन। खुर्कोट आसपासको डाँडाकटेरी खोनाथको थाकथलो थिएन।
फुसिमीमै खोयानाथले सिकरकटेरी 'मेटाफोर' नभई पन्ध्र/बिस वटा घर भएको सानो बस्ती बताएको थियो। सिकरकटेरीका श्यामु दाइसँग फोनमा खोनाथ खुलेर गफिन्थ्यो।
रामु कार्कीले भने बमोजिमको ठेगानामा पुगेर सानो चिया पसलका दाइलाई सोधेँ, 'सिकरकटेरी कता हो, दाइ?'
उनले निकै माथिको ठुलो नाङ्गो पिपलको रुख देखाउँदै भने, 'सिकरकटेरी त त्यही हो तर खोनाथ छैनन्।'
मानौँ कि पसलेलाई थाहा थियो, म सिकरकटेरीको खोनाथ खोज्दै थिएँ।
चैतको महिना जति सिकरकटेरी उराठ थियो त्योभन्दा बढी मेरो मन उराठ भयो।
कहाँ गए त खोनाथ?
पसलेसँग मात्रै होइन, चैतको टन्टलापुर घाममा पिपलको चौतारीमा सुस्ताएर बसेका कुनै गाउँलेसँग त्यसको प्रस्ट जवाफ थिएन।
श्यामु दाइ रहेछन् भन्ने अड्कल लगाउन गाह्रो परेन। उनको अनुहार उदास होइन बीभत्स थियो भन्दा म गलत ठहरिन्नँ। बिँडी तानिरहेका श्यामु दाइले मलाई वास्ता गरेनन्।
मैले म 'लिसा' हुँ नि दाइ भनेपछि श्यामु दाइ चनाखो भए।
बाख्राहरूलाई पिठो पानी गराउँदै थिए। सिकरकटेरीमा मिठो हावा चलेको थियो। श्यामु दाइले सबै साना ठुला बाख्राहरूको गिन्ती लिए।
'ओइ एकराते छ वटा बाख्रा छैनन्। थाक्से भिरमा होलान्। छिट्टो लिएर मुन्टी। तलब दिन्न है एकराते, हेक्का राखेस्।' श्यामु दाइ ह्वात्तै आवेगमा आए।
सानो कदको भाइ बाख्रा बोलाउँदै सायद थाक्से भिर तिरै लाग्यो।
श्याम दाइले लामो थकाइको खुइयाँ बिसाए।
‘बहिनी साके पिउँदा खोनाथले तपाईंको बारे धेरै भन्थ्यो। खोनाथ आज आउला भोलि आउला भन्दाभन्दै नौ महिना बितिसके। आफू उसका बाख्रा र बोटबिरुवा हेरेर बसिरा’छु। आफ्नो मनको चोट कसले बुझिदिने? तपाईंहरू जस्ता टुरिस्ट आउनुहुन्छ जानुहुन्छ। सकियो नि।’
मेरो मात्रै होइन, खोनाथ सिकरकटेरीको सान थियो।
‘अरू को आ'थे र श्यामु दाइ?’
'एउटी प्राश्ना भन्ने जापानमै बस्ने केटी आएर खोनाथको 'किताप' छापिदिने भन्दै सबै डायरीहरू समेत लिएर गई। बिचमा आएर बिहे गर्ने मिति टुङ्गो लगाएर आउँछु भन्दै गायब भई।'
किताब छापियो त दाइ?
श्यामु दाइले लामो खोकी खोके। बिँडीमा सलाई झोस्दै भनेँ- 'के जानम् नानी? खोनाथ नभए'सी मैले कसरी जान्नु? मलाई कसले पो सुनाउनु र?’
म दुई दिन सिकरकटेरी खोनाथको ओछ्यानमा सुतेँ। 'एटोमिक ह्याबिट' र 'द डायरी अफ अ योङ गर्ल' उसको सिरानमा थिए। सिकरकटेरीको अर्ग्यानिक खाना श्यामु दाइकोमा खाएँ।
एटोमिक ह्याबिटको एउटा खाली पानामा खोनाथले यस्तो लेखेको थियो।-
'एक्लो जिन्दगी बडो दिक्दार लाग्ने रैछ। आमोई सधैँ बिहे गर् न ठुलो बाबु भन्थिन्। हो जीवन टिकाउन आमोईले भनेजस्तै बिहे गर्नु पर्न रैछ। प्राश्नाले धोका दिई के भन्नु? पाँच वर्ष सँगै बसेकी लिसाले पनि त मलाई ढाँटेर हिँडेकी थिई। साँच्चै म यो वैश्य युगमा फिट हुने मान्छे नै थिएनछु भने मलाई यो धर्तीमा किन जन्माए होलान्? कुनै दिन सिकरकटेरी फर्किन पनि सक्छु तर मजफ्फरपुर हुँदै अयोध्या जान्छु। यो सांसारिक मोहमा के बसिरहनु? मान्छे मेरोजस्तो परिबन्दमा फसेपछि जोगी बन्ने त होला। श्यामु दाइ र सिकरकटेरी कसरी बिर्सुँला र?’
श्यामु दाइसँग बिदा माग्दै भनेँ, 'म तपाईंको भाइ खोजेर सिकरकटेरी नै लेराउँछु। '
श्यामु दाइ केही बोलेनन्, केबल अगुल्टोले बिँडी सल्काइरहे।