जिल्लाका विभिन्न गाउँ पर्यटकले भरिभराउ भएका छन् । नयाँ वर्ष मनाउन आएका पर्यटकले ती गाउँ पर्यटकले भरिभराउ भएका हुन ।
घलेगाउँ, काउलेपानीलगायत गाउँमा घरबास, प्राकृतिक दृष्यावलोकका लागि पर्यटक आउन थालेका छन् । घलेगाउँमा बिहीबार मात्रै दुई सय ५० भन्दा बढी पर्यटक आएको घलेगाउँ पर्यटन विकास समितिका सचिव आशवीर गुरुङले बताए। उनले आएका पर्यटकलाई ठाउँ नपुगेर नजिकका छिमेकी गाउँमा पठाएको बताए।
‘गाउँमा आएका सबै पर्यटकलाई राख्न सकिएन, केहीलाई भुजुङ, घनपोखरातिर पठाउन बाध्य भयौँ,’ उनले भने।
यसैगरी काउलेपानी सोत पर्यटकले भरिभराउ भएको छ । काउलेपानी पर्यटन सूचना केन्द्रका सचिव कवीन्द्र गुरुङका अनुसार गाउँका सबै होमस्टे पर्यटकले भरिएका छन् ।
‘कुनै घर खाली छैन, हामीलाई भ्याइनभ्याई भएको छ,’ गुरुङले भने। दुई सयभन्दा बढी पर्यटक काउलेपानीमा वनभोज गर्न आएका उनले बताए।
सदरमुकाम बेँसीसहर नजिकैको खासुरका होमस्टे पर्यटकले भरिएका छन् । यसैगरी खुदीको सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेन रहेको खानीगाउँमा समेत पर्यटकको ओइरो लागेको स्थानीयवासीले बताएका छन् । नयाँ वर्षको अवसरमा यहाँ थप पर्यटक आएका छन् । नयाँ वर्षको दिन सार्वजनिक बिदा र भोलिपल्ट शनिबार परेकोले पर्यटकको चाप बढेको हो ।
गाउँमा पर्यटकको चाप बढेपछि स्थानीयवासी खुसी भएका छन् । यहाँको बासिन्दाको मुख्य पेसा कृषि र पर्यटन हुन् ।रासस