पाँचथरमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिकाले आफ्नै ४१ वर्षीय बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा ‘हाडनाता करणी’सम्बन्धी उजुरी दर्ता गरेकी छिन्। पीडित बालिकाले पाँचथर प्रहरीमा वैशाख ४ गते दिएको उजुरी ५ गते दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए।
पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्ने गरेको र पछिल्लो पटक वैशाख २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएकी थिइन्। पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३ गते जिल्ला अस्पताल पाँचथरमा गरिएको प्रहरीले जनाएको छ।
पीडितका आफन्तले दिएको सूचनाका आधारमा आरोपितलाई वैशाख ४ गते गिरफ्तार गरिएको पनि डिएसपी पोख्रेलले बताए ।
स्थानीय विद्यालयको कक्षा ८ मा अध्ययनरत बालिकाकी आमा विगतबाट वैदेशिक रोजगारीको शिलशिलामा छन्।