क्याथोलिक धर्मालम्बीका धर्म गुरू पोपको निवास नजिकै इटालीको रोममा नवलपरासीको चर्चित मौलाकालिका मन्दिर राखिएपछि सबैतिर यसको चासो र चर्चा बढेको छ।
पत्रकार ददि सापकोटा र यूरोपमा नेपाली हस्तकलाको प्रवर्धनमा क्रियाशील शिव रिजालको सक्रियतामा मन्दिर स्थापना भएको हो। गैर आवासीय नेपाली महासंघका पूर्वअध्यक्ष तथा उद्यमी जीवा लामिछानेले पूजा आराधना गरेर मन्दिरको उद्घाटन गरेका हुन्। इटालीका लागि अवैतनिक महाबाणिज्यदूत पाउलो निगुरे, शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठको उपस्थितिमा उद्घाटन गरिएको मन्दिर दुई दिनमै डेढ लाखले दर्शन गरेको आयोजकले बताएको छ।
मन्दिर उद्घाटन अघि वर्तमान विश्व संरचनामा नेपाली हस्तकला र यसको बजारिकरण विषयक अन्तरक्रियामा बोल्दै प्रमुख अतिथि उद्यमी लामिछानेले सबै जात जातिका पहिचान झल्कने उत्पादनहरु विश्व बजारमा पुर्याउन सके देशको लागि निकै फाइदा हुने र त्यसको व्यापक सम्भावना रहेको बताए।
शिक्षा सचिव श्रेष्ठले बजारमा गुणस्तरीय सामग्रीको माग रहेकोले त्यसमा ध्यान दिनुपर्ने बताए।
नेपाली हस्तकलाका सामानको बजारिकरण र गुणस्तरीय उत्पादनको लागि एभरेस्ट क्राफ्ट प्रा.लि.का प्रबन्धक शिव रिजालको अध्यक्षतामा अन्तर्राष्ट्रिय हस्तकला महासंघ गठन गरियो।
मौलाकालिकाको मन्दिर परिसरमा नेपालको पहिचान झल्कने भेषभूषा, प्रकाशन, प्रसारणका सामग्रीहरु राखिएको छ। रोमको मेला सकिएपछि युरोपका अन्य शहरहरुमा पनि यो मन्दिर लाने योजना छ। ‘हामी यूरोपमा नेपाली कला, संस्कृतिको प्रचार साथै हस्तकलाको बजार पुग्ने प्रयासमा छौं,’ हेर्नेहरुको भीडबाट उत्साहित उद्यमी शिव रिजालले सेतोपाटीसँग भने।