प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सरकारको १० महिना उपलब्धिपूर्ण रहेको बताएका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यसचिव लगायत कर्मचारीले आयोजना गरेको विदाइ समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले पहिलो २०६५ सालमा पहिलो पटक सरकारको नेतृत्व गर्दा धेरै कुरा बुझ्न नसकेको तर यसपालि स्पष्ट एजेन्डाका साथ सरकारले काम गरेको बताए।
‘मेरा पहिलाका ९ महिना त झिलिमिलीमै बिते’, दाहालले भने, ‘तर यो पालिका १० महिना उपलब्धिपूर्ण रहे। यो सरकार बन्दा धेरैका मनमा आशंका थियो। मैले सुरुमै धेरै नबोलीकन काम गरें। एक हिसाबले भन्दा यो घुमीघुमी गोल हानेजस्तो भयो।’
दाहालले आफ्नो सरकारले स्थानीय तहको निर्वाचन गरेर इतिहासमा पहिलो पटक सिंहदरबारको शक्ति गाउँ गाउँमा पुर्याएको, देशलाई एकतावद्ध गर्न भूमिका खेलेको र भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित बनाएको लगायतका उपलब्धि हासिल गरेको बताए।
उनले राजनीतिक नेतृत्व परिवर्तन भइरहने भएकाले परिवर्तनलाई अगाडि बढाउन स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा कर्मचारीहरूलाई धन्यवाद समेत दिए।