ज्येष्ठ नागरिक जिल्ला सङ्घ र राधाकृष्ण मन्दिर सेवा समितिले बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई स्वागत गरेको छ ।
आइतबार आयोजित एक समारोहमा प्रमुख जनक पौडेल, उपप्रमुख सुरेन्द्र खड्का र वडा नं ३ की अध्यक्ष लक्ष्मी बास्कोटालाई स्वागत गरिएको हो । सो अवसरमा बोल्दै तीनै जना निर्वाचित जनप्रतिनिधिले बागलुङलाई समृद्ध सहर बनाउने सङ्कल्प गरे।
चुनावका बेला गरेका प्रतिबद्धतालाई पूरा गर्दै अघि बढ्ने प्रमुख पौडेलले बताए। उनले ज्येष्ठ नागरिकका पक्षमा बनेका ऐन, नियमको प्रभावकारी कार्यान्वयनमा जोड दिने उल्लेख गरे। उपप्रमुख खड्काले ‘हाम्रो बागलुङ, राम्रो बागलुङ’ बनाउने प्रतिबद्धता व्यक्त गरे। सबै खाले विकासका दृष्टिबाट बागलुङलाई समृद्ध बनाउने योजना आफूहरुसँग रहेको उनको भनाइ छ ।
वडा अध्यक्ष बास्कोटाले ज्येष्ठ नागरिकको लागि विशेष व्यवस्थाका साथै सामाजिक सुरक्षालाई प्राथमिकता दिइने उल्लेख गरिन्। कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागी ९६ वर्षीय लालबहादुर थापालगायतका ज्येष्ठ नागरिकले आफ्ना जनप्रतिनिधिलाई पुष्पगुच्छाले स्वागत गरेका थिए । रासस