सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई राजनीतिमुक्त बनाइनुपर्ने खाँचो औँल्याएका छन्।
आफ्नो १० महिने कार्यकालपछि आज मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा मन्त्री कार्कीले पत्रकारितालाई दलगत राजनीतिबाट मुक्त गरी स्वच्छ र व्यावसायिक बनाइनुपर्ने बताए।
सञ्चारमन्त्री कार्कीले अहिले मुलुकको राजनीतिलाई ठीक ठाउँमा लैजान जरुरी भएको र राजनीति सही ठाउँमा आए सबै कुरा ठीक हुने जिकिर गरे। उनले राजनीतिलाई सङ्लो पार्न कर्मचारीतन्त्रको महत्वपूर्ण भूमिका हुने भन्दै कर्मचारीतन्त्रलाई स्वच्छ, सबल र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
मन्त्री कार्कीले आफ्नो कार्यकालमा दूरसञ्चार सेवालाई गाउँका दूरदराजसम्म पुर्याउने, सरकारी सञ्चारमाध्यमलाई सवलीकरण गर्नेजस्ता महत्वपूर्ण काम भएको र यसका लागि सबै निकायको समन्वय र प्रभावकारी भूमिका स्मरणीय रहेको बताए।
मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मन्त्रीसँगको आफ्नो पाँच महिने कार्यकालमा धेरै कुरा सिक्ने अवसर पाएको र नीतिगत रुपमा दीर्घकालीन महत्वका प्रभावकारी काम भएको उल्लेख गरे।
मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले सञ्चारमन्त्री कार्कीको सरलता र दार्शनिकता सबैका लागि सान्दर्भिक हुने धारणा राखे।
सो अवसरमा मन्त्रालयका सचिव, सहसचिव तथा मातहत निकायका प्रमुख प्रतिनिधिले मायाको चिनो र पुष्पगुच्छाका साथ मन्त्री कार्कीलाई बिदाइ गरेका थिए । रासस