कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आफ्नो १० महिने कार्यकाल सफलताका साथ सम्पन्न भएको बताएका छन्।
मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो १० महिने कार्यकाल राम्रो भएको चर्चा गर्दै पार्टीले जिम्मेवारी दिएमा पुनः काम गर्न इच्छुक रहेको उल्लेख गरे।
संविधान कार्यान्वयनका विषयमा शङ्का उपशङ्का गर्ने कुनै ठाउँ छैन भन्दै मन्त्री नायकले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन निर्माण भएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका ऐन छिट्टै संशोधन हुने बताए।
मन्त्रालयका सचिव कमलशालि घिमिरेले १० महिने कार्यकालमा एकपटकसम्म विदेश भ्रमण नगइकन क्रियाशील रुपमा मन्त्री नायकले काम गरेको चर्चा गरे।
संविधान कार्यान्वयनसम्बन्धी ४० वटा विधेयक व्यवस्थापिका–संसद्बाट पारित भई कार्यान्वयनमा आइसकेको र ४१ विधेयक संसद्मा विचाराधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । रासस