नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले देशको समग्र हितका लागि राष्ट्रिय सरकारमा जान आफ्नो पार्टी आतुर रहेको बताएका छन्।
एमाले पहिलेदेखि नै राष्ट्रिय सरकारको पक्षमा रहेको छ । तर अहिले चयन हुन लागेको बहुमतीय सरकारमा भने नजाने उनले बताए।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा केन्द्रीय सदस्य पाण्डेले भरतपुरमा मतगणना सुरु नभएसम्म देशले नयाँ सरकार र नयाँ प्रधानमन्त्री पाउन नसक्ने चेतावनी दिँदै भरतपुर घटनामा आयोग विभिन्न शक्ति केन्द्रको प्रभावमा परेको आरोप लगाए।
निर्वाचन आयोगको निर्णय प्रभावमा परेर गरिएको भए पनि एमाले अदालतको निर्णयको पखाइमा रहेको उनले बताए। एमालेले गरेको संसद् अवरुद्ध र नयाँ प्रधानमन्त्रीको चयन प्रक्रियामा कुनै समस्या नभएको बताउँदै उनले एमालेले प्रधानमन्त्री चयन प्रक्रिया सुरु हुनुअघि नै भरतपुरको कुरा उठाएको कारण प्रधानमन्त्री चयनमा एमालेको कुनै अवरोध नभएको बताए।
उनले वर्तमान सरकारले विगतका सरकारले बनाएका औद्योगिक योजना कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाए। केन्द्रीय सदस्य पाण्डेले विगतको सरकारले बनाएका औद्योगिक विकासका योजनालाई देशको आर्थिक समृद्धिका लागि तत्काल उद्योग स्थापनालगायतका काम अघि बढाउनुपर्नेमा जोड दिए। रासस