प्रधानमन्त्री निर्वाचनका लागि संसदको दोस्रो बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका छन्। प्रस्ताव पेश गर्दै प्रधानमन्त्री पदका एक मात्र प्रत्यासी कांग्रेस सभापति शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचन सम्पन्न गरी माघ ७ भित्रै प्रदेश र संसदको निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएका देउवाले आफ्नो प्रस्ताव सदनमा राख्दै निर्वाचन प्रभावित नहोस् भनि सरकारले नयाँ कार्यक्रम नल्याई पुरानै कार्यक्रम ल्याएको बताए।
उनले मधेसको विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आफु पनि मधेसको पक्षमा भएको भनाइले खुशी लागेको भन्दै ओलीले बोलीमा मात्र नभई व्यवहारमा पनि सम्बोधन गर्न तयार हुने बताए।
आगामी दोस्रो चरणको निर्वाचनमा सबैलाई सहमतिका साथ भाग लिने वातावरण बनाउन सबै लागि पर्ने र मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव चाँडै संसदबाट पास गराएर छाड्ने बताए।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाले नेपालको परराष्ट्र नीति देशको अनुकुल हुनुपर्ने बताएका छन्।
दुई ठूला छिमेकी राष्ट्रको बीचमा रहेको नेपालले आफ्नो परराष्ट्र नीति नेपालको राष्ट्रिय स्वार्थमा केन्द्रीत भएर तयार गर्नु अहिलेको महत्वपूर्ण विषय भएको बताए।
भारत र चीनसँग समदुरीमा सुमधुर सम्बन्ध नै नेपालको राष्ट्रिय हितमा भएको उनले दाबी गरे।
‘यी दुई देशलाई नेपालको राष्ट्रिय हितमा सहयोग लिने वातावरण छ, बन्नु पर्छ। यसका लागि हामीले यसमा आश्वस्त पार्नुपर्छ। भारत र चीनलाई एकअर्काको खिलापमा प्रयोग गर्न वा प्रयोग हुन हुँदैन,’ उनले भने।
उनीहरू आश्वस्त भए भने दुबै देश ढुक्क भएर नेपालको विकासमा सहयोग गर्न अग्रसर हुने दाबी देउवाले भने, ‘नेपालको भूमि दुबै देशको विरुद्धमा प्रयोग हुन नदिने कुरामा पनि हामी प्रतिबद्ध हुनुपर्छ।’