नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा निर्वाचित गर्नका लागि सभामुख ओनसरी घर्तिमगरले संसदको नियमावली बमोजिम निर्वाचन प्रक्रिया शुरु गरेकी छन्। देउवाको मात्रै प्रस्ताव सदनमा पेश भएपछि उक्त प्रस्तावका प्रस्तावक र समर्थकले बोलिसकेपछि उक्त प्रस्तावमाथि निर्णयका लागि मतदान प्रक्रिया शुरु भएको हो।
प्रधानमन्त्रीका एक्ला उम्मेदवार देउवाको पक्षमा झण्डै दुई तिहाई मत देखिएको छ ।
तर, संसद नियमावली अनुसार एक मात्र उम्मेदवार भए पनि निर्विरोध घोषणा गर्न नमिल्ने भएकाले मतदान प्रक्रिया सुरू भएको हो।
प्रधानमन्त्रीमा निर्वाचित हुने कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २९७ मत प्राप्त हुनुपर्छ।
कांग्रेस सभापति देउवाको पक्षमा झण्डै दुई तिहाई समर्थन देखिएको छ। देउवा सभापति रहेको कांग्रेसका २०६ सांसद छन् भने माओवादी केन्द्रका ८१, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १६ र फोरम नेपालका १५ सांसद छन्। यस्तै २४ सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि देउवालाई समर्थन गरेको छ।
तीन सांसद भएको नेकपा संयुक्त, एक-एक सांसद भएका अखण्ड नेपाल र समाजवादी जनता दल देउवाको उम्मेदवारीमा समर्थक नै बसेका छन्। एमालेसहित केही साना दल भने देउवाको विपक्षमा देखिएका छन्।