धेरै कम मान्छे हुन्छन्, जसले देशको कार्यकारी प्रमुखलाई भेट्दा तँ भन्न पाउँछन्। अझ रिस उठ्यो भने त नामै बिगारेर गाली पनि गर्न सक्छन्।
सांसद शिवबहादुर खड्का तिनै कममध्ये एक हुन्, जसले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई परिस्थितिअनुसार तँ, तिमी र तपाईं भनिदिन सक्छन्। आखिर साथीको साइनोमा तपाईंभन्दा तिमी अनि तिमीभन्दा तँ झन् नजिक मानिन्छ क्यारे!
कांग्रेस सभापति देउवा मंगलबार नेपालको ४० औं प्रधानमन्त्री निर्वाचित हुनु अघिल्लो साँझ खड्काले देउवासँगको साढे पाँच दशक लामो दोस्ती सम्झिए। आफूहरूले गरेका फुर्तिफार्ति, बदमासी, आन्दोलन र राजनीतिका पत्र पनि उप्काए।
‘त्यतिबेला तपाईं र तिमी भन्ने त चलनै थिएन। हामी सुरुदेखि नै तँ तँ भन्थ्यौं,’ खड्काले भने, ‘अझ रिस उठ्यो भने उसले मलाई शिवे भन्थ्यो, मैले उसलाई शेरे भन्थेँ।’
यो २०२० सालतिरको कुरा हो, जतिबेला देउवा सुदूरपश्चिमको डडेल्धुराबाट साइन्स पढ्न काठमाडौं पुगेका थिए अनि खड्का रामेछापबाट कमर्स पढ्न त्रिचन्द्र कलेज भर्ना भएका थिए। त्यतिबेला त्रिचन्द्रमा साइन्स, कमर्स र आर्टस् पढाइ हुन्थ्यो।
तर, यी दुवै जे पढ्न भनी काठमाडौं हान्निएका थिए, त्यो पढ्न गाह्रो माने र तुलनात्मक रूपमा सजिलो आर्टस् छाने।
त्यही आर्टसले उनीहरूलाई साथी बनायो।
‘२०१८ सालमा दुर्गानन्द झालाई मारेको विरोध गर्दा म जेल परेँ। मैले जेलबाट कमर्स छाडेर आर्टसमा चेन्ज गरेँ,’ खड्काले भने, ‘शेरबहादुरलाई पनि साइन्स पढ्न गाह्रो लागेर होला, आर्टसमा आयो अनि हामी एउटै कक्षामा पढ्न थाल्यौं।’
सुरुमा भेट्दा खड्कालाई देउवा एकदमै ‘रफ’ लागेका थिए रे। बोलीचाली, हिँडाइडुलाइ, लवाइखवाइमा उनी बेपरवाह देखिन्थे। स्वर अलि धोद्रो थियो, तैपनि कहिलेकाहीँ गीत गाएर साथीहरूलाई सुनाउँथे। ‘उतैतिरको गीत गाउँथ्यो, उनीहरूको भाकामा राम्रै सुनिन्थ्यो,’ खड्काले हाँस्दै भने।
त्यतिबेला देउवाको डेरा धोबीधारा थियो, खड्काको बानेश्वर। देउवा कयौं छाक बानेश्वर आएर भात खान्थे अनि कहिलेकाहीँ खाना खान खड्का पनि धोबीधारा पुग्थे।
‘उनीहरू तीन/चार जना बस्थे। कहिलेकाहीँ शेरबहादुरले दम दिने स्टोपमा घ्यारघ्यार गर्दै खाना पकाउँथ्यो,’ खड्काले सम्झे, ‘दाल, तरकारी सँगै त बिरलै पाक्थ्यो। दाल पकाएको दिन तरकारी हुन्नथ्यो, तरकारी पकाएको दिन दाल पाक्दैनथ्यो। उसको डेरामा घरबाट पठाइदिएको घ्यू भने जहिले पनि हुन्थ्यो।’
देउवा काका सुरतबहादुरसहित अरू साथीहरूसँग बस्थे, खड्काको भने बिहे भइसकेको थियो। उनकी बहिनी पनि डेरामा हुन्थिन्। त्यसैले, धोबीधाराभन्दा बानेश्वरमा अलि मिठो खाना पाक्थ्यो। दोस्ती यति गहिरो भइसकेको थियो, एउटाको घरबाट पैसा आउँदा अर्कोलाई थाहा भइहाल्थ्यो।
‘पैसा आएको केही समय हाम्रो फूर्ति बढ्थ्यो। दुई–चार दिन भान्छा पनि परिवर्तन हुन्थ्यो,’ खड्काले भने।
पैसा नहुँदा पनि उनीहरू फूर्ति लाउन भने छाड्दैनथे।
२०२८ सालतिरकै कुरा हो। एउटै संगठनमा काम गर्ने भएपछि उनीहरू एउटै घरमा बस्न थाले। त्यतिबेला न्यूरोडको मासङ गल्लीको लोकल रक्सी खुबै चर्चित थियो। उनीहरू पनि त्यहीँ जान्थे। लोकल रक्सी र कुखुराको मासु खाएर ‘दादागिरी’ देखाउँदै फर्किन्थे।
‘म पनि त्यस्तै खालको, देउवा पनि उस्तै, हामीलाई बढी नै खानुपर्ने अनि कुरा पनि ठूला गर्नुपर्ने। कहिलेकाहीँ त हामी वर्दीवाला पुलिसको पनि कठालो समातिदिन्थ्यौं,’ खड्काले भने, ‘यो मामलामा रामचन्द्र साह्रै सोझा थियो। संस्कृत पढेर आएको, जाँडरक्सी नखाने, पढाइलेखाइमा धेरै लागिरन्थ्यो। कहिलेकाहीँ न्यूरोडमा गाउँबाट ल्याएको अमिलाको चुक बेचिरहेको हुन्थ्यो। हामी उसैको पैसा लिएर खाजा खाइदिन्थ्यौं।’
एकातिर दोस्ती थियो, अर्कातिर राजनीति।
२०२२ सालको कुरा हो। त्यसअघि त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा प्रजातान्त्रिक पक्षधर विद्यार्थी संगठनले चुनाव हारिरहेको थियो। त्यो वर्ष खड्का स्ववियुको तल्लो सदनको अध्यक्षका लागि चुनाव लडे। देउवा माथिल्लो सदनको सदस्यका उम्मेदवार बने।
स्ववियुमा संसदमा जस्तै तल्लो र माथिल्लो सदन हुन्थ्यो। त्यो वर्ष प्रजातान्त्रिक पक्षधरले चुनाव जित्यो। चुनाव जितेपछि उनीहरूको फुर्तिफार्ति झन् बढ्यो। दोस्ती पनि गहिरियो।
पञ्चायतकालमा कम्युनिस्ट विद्यार्थी संगठनसँग उनीहरूको गलफत्ती पनि चलिरहन्थ्यो। कहिले त व्यवस्थाको विरोध गरेबापत प्रतिस्पर्धी विद्यार्थी संगठनसँग झगडा गरेर उनीहरू जेलै पर्थे।
त्यो समय जेलमा राजनीतिक आस्थाका बन्दी हजारौं हुन्थे। तीमध्ये धेरै कांग्रेसी हुन्थे। तिनका परिवार उनीहरूलाई भेट्न आइरहन्थे। माहौल यस्तो हुन्थ्यो, जेलबाट निस्कँदा उनीहरू पञ्चायतविरुद्ध झन् धेरै जोश बोकेर फर्कन्थे।
आमाबुवाले पढेलेखेर जागिर खानुपर्छ नभनेका होइनन्, तर उनीहरूलाई जागिरसँग त्यति मोह थिएन। ‘जनताको काम गर्दै जाने हो, राम्रो काम गर्ने हो भन्ने थियो,’ खड्काले भने, ‘पढेर यो बन्ने, त्यो बन्ने भन्ने थिएन। हामी पक्राउ परेको दिन र छुटेको दिन पत्रिकामा नाम आउँथ्यो, हामी त्यही पढेर मख्ख पथ्र्यौं।’
आन्दोलन र राजनीति गरेर जेल परे पनि दुवै जना फटाफट पास हुन्थे। २०२३ सालमा यी दुवैले त्रिचन्द्रबाट बिए सके। एमए पढ्न सँगै कीर्तिपुर गए। त्यहाँ पनि पढाइभन्दा बढी राजनीति थियो। त्रिविमा देउवा स्ववियु सभापति उठे तर जित्न सकेनन्। कम्युनिस्ट पक्षधरले उनलाई हराए।
यता कम्युनिस्टहरूको विद्यार्थी संगठन बनिसकेको थियो। कांग्रेसनिकट विद्यार्थी संगठन भने थिएन। त्यही मेसोमा डिग्रीको पढाइ सकिएपछि उनीहरूले नेपाल विद्यार्थी संघ खोल्ने निर्णय गरे। २०२६ सालमा खड्का, देउवा, मार्सलजुलुम शाक्य, जवारी जोशी, रामचन्द्र पौडेल, दमननाथ ढुंगाना, बिपिन कोइराला लगायत १० जना मिलेर नेविसंघ बनाए। कृष्णप्रसाद भट्टराईले त्यसको उद्घाटन गरे। बिपिन कोइराला प्रथम अध्यक्ष भए। अरू ९ जनालाई ‘टेन कमान्ड’ भन्न थालियो।
नेविसंघ गठन गरेको आरोपमा फेरि उनीहरूलाई पञ्चायतले थुन्यो। वर्गीय संगठन ऐनअनुसार पञ्चायतलाई सहयोग गर्ने संगठन मात्र खोल्न पाइन्थ्यो। छुट्टै संघ खोल्न पाइन्नथ्यो। उनीहरूले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट हाले। सर्वोच्चले नेविसंघलाई वैधानिकता दियो। सर्वोच्चको आदेशसँगै उनीहरू रिहा भए।
‘त्यसपछि त नेविसंघ भन्नु नै कांग्रेस थियो, कांग्रेस भन्नु नै नेविसंघ,’ खड्काले भने, ‘पढाइ पनि सकिएकाले हामी पार्टीको काममा लाग्यौं।’
२०२८ साल असोजमा चितवनमा नेविसंघको महाधिवेशन भयो। भारतबाट बिपीको सन्देश बोकेर शैलजा आचार्य आइन्। बिपीले शेरबहादुरलाई नेविसंघको सभापति बनाउनू भन्ने सन्देश पठाएका थिए। ‘त्रिविमा पनि सभापति उठेर हारेको भएर हामीले पनि देउवालाई निर्विरोध सभापति चुन्यौं,’ खड्काले भने। त्यसपछि देउवा लगातार २०३६ फागुनसम्म नेविसंघको सभापति रहे।
पार्टीभित्र देउवा तीनै नेताहरू बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईका प्यारा थिए। तर, अरूभन्दा बढी भट्टराईसँग नजिक थिए।
२०३७ सालको जनमत संग्रहपछिका केही वर्ष कांग्रेसका लागि निराशाका वर्ष रहे। २०३९ सालमा बिपीको निधन भयो। पञ्चहरूले पञ्चायती व्यवस्थालाई निर्विकल्प भनी घोषणा गर्न थाले।
त्यही बेला बिपी कोइरालाले निकै विश्वास गरेका कांग्रेसका महामन्त्री परशुनारायण चौधरी, बखानसिंह गुरुङसहित दर्जनौं नेता पञ्चायत पसे। गाउँ तहदेखि केन्द्रसम्मका कतिपय कांग्रेसका नेता–कार्यकर्ता पञ्चायत छिर्ने लहर चल्यो। ०२६ सालमा नेपाल विद्यार्थी संघ गठन हुँदाका अध्यक्ष बिपिन कोइराला र शिवबहादुर खड्काले पनि पञ्चायती चुनावमा भाग लिने वक्तव्य दिए। त्यो बेला शेरबहादुरलाई जोगाउन पार्टी नेतृत्वले पहल गरेर बेलायत पठाएको मान्यता राख्ने धेरै छन्। सोसलिस्ट इन्टरनेसनलसँग कांग्रेसको राम्रो सम्बन्ध थियो। त्यही सम्बन्ध प्रयोग गरेर कांग्रेसले देउवालाई बेलायतको प्रतिष्ठित विश्वविद्यालय लन्डन स्कुल अफ इकोनोमिक्समा ‘रिसर्च फेलोसिप’ मा पठायो।
पहिलो जनआन्दोलन सुरु हुँदा देउवा लन्डनमै थिए।
०४६ सालमा बहुदल आयो। देउवा नेपाल फर्किए ।
०४८ सालमा संसदीय चुनाव हुने भयो। उक्त चुनावमा कृष्णप्रसाद भट्टराईले देउवालाई सुदूरपश्चिमको निर्वाचन कमान्डर बनाएर पठाए। २०४८ सालको निर्वाचनमा काठमाडौं र पूर्वमा नराम्रो पराजय बेहोरेको कांग्रेसले सुदूरपश्चिमका १९ मध्ये १८ सिट जित्यो।
नेविसंघको सबैभन्दा लामो समय नेतृत्व गरेका देउवाले सुदूरपश्चिममा पनि कांग्रेसलाई जिताउन महत्वपूर्ण भूमिका खेलेपछि उनी कांग्रेसको केन्द्रीय राजनीतिमा स्थापित भए। त्यही वर्ष केन्द्रीय सदस्य भएका देउवा चुनावपछि बनेको गिरिजाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा गृहमन्त्री भए।
३० वर्ष लामो पञ्चायती शासनमा झन्डै २७ वर्ष नेविसंघ र कांग्रेसको निरन्तर राजनीति गरेका देउवा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि कांग्रेसका युवा नेताका रूपमा अग्रपंक्तिमा स्थापित भए।
बिपीले गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादको काँधमा छाडेर गएको कांग्रेसको अभिभारा थाम्न २०४८ सालमा नयाँ पुस्ताको नेतृत्व तयार भइसकेको थियो। संयोगवश त्यो पुस्तामा पनि तीन जना हस्तीहरू अग्रपंक्तिमा थिए– शेरबहादुर, शैलजा आचार्य र रामचन्द्र पौडेल।
पहिलो जनआन्दोलनपछि कांग्रेसमा ‘आरएसएस’ भनेर यी तीनको संयुक्त सम्बोधन हुन सुरु भइसकेको थियो।
२०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको पहिलो सरकार बनेदेखि नै कांग्रेसका तीन शीर्षनेताबीच मनमुटाव सुरु भयो। गणेशमान सिंहले केही वर्षभित्र निष्क्रिय हुँदै आफू पार्टीमा नरहेको घोषणा गरे। बहुदल स्थापनापछिको पहिलो निर्वाचनमा काठमाडौंबाट पराजित कृष्णप्रसाद भट्टराईलाई मध्यावधि निर्वाचनमा अन्तरघात गरेर गिरिजाप्रसादले हराएको आरोप लाग्यो। त्यसपछि कांग्रेस ‘चौहत्तरे र छत्तीसे’ मा विभाजित भयो। ०४८ सालमा निर्वाचित ११० सांसदमध्ये ७४ जना कोइरालाका पक्षमा उभिए भने ३६ जना विपक्षमा उभिए।
देउवा प्रस्टसँग चौहत्तरे वा छत्तीसेको पक्षमा सक्रिय रहेनन्। उनले गिरिजाप्रसादको साथ र किसुनजीको माया एकैपटक पाइरहे।
यही विभाजनले कांग्रेसको बहुमतको सरकार ढल्यो।
०५१ सालको मध्यावधि निर्वाचनपछि एमालेको अल्पमतको सरकार बन्यो। नौ महिनापछि यो सरकार ढालेर कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्ने भयो।
गिरिजाप्रसादले गठबन्धन सरकारको नेतृत्व गर्ने इच्छा देखाएनन्। ‘आरएसएस’ मध्ये को प्रधानमन्त्री बन्ने भन्ने चासो कांग्रेसभित्र भयो।
२०१७ सालमा कांग्रेसको सरकार अपदस्त गरेका राजा महेन्द्रविरुद्ध टुँडिखेलमा कालो झण्डा देखाएर चर्चित बनेकी ‘फायर ब्रान्ड’ शैलजा आचार्य प्रधानमन्त्रीकी दाबेदार थिइन्। बिपी र गिरिजाप्रसादकी भान्जी भएकाले पनि उनको दाबी धेरैले स्वाभाविक ठाने। तर, गिरिजाप्रसादले शैलजालाई छाडेर देउवालाई प्रधानमन्त्री बनाउने निर्णय गरे। गिरिजाले किन शैलजालाई छाडेर शेरबहादुरलाई प्रधानमन्त्री बनाउने निर्णय गरे भन्नेमा कांग्रेसभित्र आजसम्म धेरै अड्कलबाजी छ। कतिले शैलजालाई प्रधानमन्त्री बनाए फर्किएर आफूकहाँ आउन कठिन हुन्छ भन्ने सोचका साथ गिरिजाले शेरबहादुरलाई अगाडि बढाएको अनुमान गर्छन्।
२०५३ मा काठमाडौंमा कांग्रेसको नवौं महाधिवेशन भयो। छत्तीसेका तर्फबाट सभापतिमा चिरिञ्जीवी वाग्लेले गिरिजाप्रसादविरुद्ध उम्मेदवारी दिए। आफ्नो जीवनकालमै कार्यवाहक सभापति बनाएर बिपीले छाडेको कांग्रेस सभापतिको ‘नासो’ उनका भाइ गिरिजाप्रसादलाई हस्तान्तरण गर्न उक्त महाधिवेशनमा भट्टराई कोइरालाका प्रस्तावक बने।
२०५३ सालको त्यही महाधिवेशनबाट गिरिजाप्रसाद पहिलोपटक कांग्रेस सभापति बने। वाग्लेले ३०० भन्दा कम मत ल्याए।
कांग्रेसको किचलो भने जारी रह्यो। २०५६ सालको आमनिर्वाचनमा कांग्रेसलाई एक ढिक्का बनाएर चुनावमा लैजाने भन्दै भट्टराईलाई सभापति कोइरालाले भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरे।
चुनावमा कांग्रेसले फेरि बहुमत ल्यायो। भट्टराई प्रधानमन्त्री चुनिए। तर, सात महिना नपुग्दै कोइरालाले भट्टराईलाई राजीनामा दिन बाध्य पारे र आफू तेस्रोपटक प्रधानमन्त्री बने।
त्यतिबेला गणेशमान सिंह कांग्रेसबाट अलग भइसकेका थिए। भट्टराई स्वास्थ्य, स्वभाव र उमेरका कारण कोइरालाविरुद्ध उभिने अवस्थामा थिएनन्। त्यो बेला कोइरालालाई चुनौती दिँदै शेरबहादुर देउवा उभिए।
पोखरामा भएको दसौं महाधिवेशनमा देउवाले कोइरालाविरुद्ध सभापतिमा उम्मेदवारी दिए। उक्त महाधिवेशनमा देउवाले कोइरालाविरुद्ध सम्मानजनक मत ल्याए। यसले देउवालाई कांग्रेसभित्र कोइरालाका प्रतिस्पर्धी र सम्भावित उत्तराधिकारीका रूपमा स्थापित ग¥यो।
भट्टराईलाई हटाएर ०५७ सालमा तेस्रोपटक प्रधानमन्त्री बनेका कोइरालाले सत्ता सञ्चालनमा सुरुदेखि नै चुनौती ब्यहोरे। माओवादी ‘जनयुद्ध’ तीव्र गतिमा विस्तार भइरहेको थियो। दरबार मौकाको पखाईमा थियो। त्यहीबेला प्रतिपक्षी एमालेले ५७ दिनसम्म संसद अवरोध गरेर कोइरालालाई थल्यायो। केही सीप नलागेपछि कोइरालाले राजीनामा दिए। संसदमा कांग्रेसको बहुमत कायमै थियो। प्रधानमन्त्री हुन कांग्रेसभित्र संसदीय दलको नेताका लागि चुनाव भयो। उक्त चुनावमा देउवाले सुशील कोइरालालाई पराजित गरे। अनि उनी दोस्रोपटक प्रधानमन्त्री बने।
देउवा प्रधानमन्त्री भएको केही महिनामै उनलाई हटाउन कोइराला परिवार सक्रिय भयो। त्योबेलासम्म माओवादीले नेपाली सेनाका ब्यारेकमा आक्रमण गर्न सुरु गरिसकेको थियो। मुलुकमा संकटकाल घोषणा भएको थियो। संकटकाल लम्ब्याउने/नलम्ब्याउने विषयमा कांग्रेसभित्र तीव्र मतभेद देखियो। त्यो मतभेद बढ्दै गएर पार्टी नै विभाजित भयो।
देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर सभापति बने। संसद विघटन गरे, तर घोषित समयमा चुनाव गराउन सकेनन्। चुनाव गराउन नसकेपछि राजा ज्ञानेन्द्रले उनलाई अक्षमको आरोप लगाउँदै पदबाट बर्खास्त गरिदिए। उनीमाथि एकैपटक दुईटा गम्भीर आरोप लागे, पार्टी फुटाएको र प्रजातन्त्र दरबारमा बुझाएको।
कोइरालाले नेतृत्व गरेको कांग्रेस नै मूल पार्टीका रूपमा स्थापित थियो। देउवाका दिन सकिएजस्तो देखिन्थ्यो। तर, भाग्यले उनको साथ छोडेको थिएन। राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापापछि फेरि देउवालाई नै प्रधानमन्त्री नियुक्त गरे। २०६१ जेठमा तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएपछि देउवाले भनेका थिए, ‘गोरखाका राजाबाट न्याय पाएँ।’
त्यो न्याय धेरै लामो समय कायम रहेन। प्रधानमन्त्री भएको आठ महिनामै देउवालाई बर्खास्त गरेर ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिए।
०६२/६३ मा भएको दोस्रो जनआन्दोलनमा देउवासँग गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अरू पार्टीसँगै राजाको शासनविरुद्ध उभिनुको विकल्प थिएन। ‘आधा मन’ ले भए पनि कांग्रेस (प्रजातान्त्रिक) पनि आन्दोलनमा सहभागी भयो। जनआन्दोलनपछि २०६४ सालमा पहिलो संविधानसभाको चुनावमा होमिनु अगाडि नै दुई कांग्रेसबीच एकीकरण भइसकेको थियो।
दोस्रो जनआन्दोलनपछिका १० वर्ष नेपाली कांग्रेसको बागडोर कोइराला परिवारभित्रै रह्यो। सुशील कोइरालाको निधनपछि २०७२ सालमा भएको महाधिवेशनमा देउवा रामचन्द्र पौडेललाई हराएर नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भए।
अहिले नेपाली कांग्रेसमा देउवाको लगभग एकछत्र पकड स्थापित छ। कांग्रेसका सबै प्रमुख भ्रातृ संगठनहरूमा देउवा पक्षले जितेको छ।
देउवाका ग्रह एकाएक बलिया देखिएका छन्। एमालेसँग गठबन्धन सरकार बनाएका पुष्पकमल दाहाललाई त्यो गठबन्धनबाट देउवाले फुत्काएर प्रधानमन्त्री मात्र बनाएनन्, आफू प्रधानमन्त्री हुने बाटो पनि सुनिश्चित गरे। त्यही मार्गमा हिँडेर उनी आज चौथोपटक मुलुकको प्रधानमन्त्री बनेका छन्।
देउवासँग के त्यस्तो क्षमता वा चमत्कार छ, जसले उनी राजनीतिमा यति लामो समय टिकेका मात्र छैनन्, पटक–पटक मुलुकको बागडोर सम्हालेका छन्?
यसै हेर्दा देउवामा त्यस्तो कुनै ‘करिश्मा’ देखिन्न। उनी सिद्धान्तकार होइनन्, उनी सिद्धान्तनिष्ठ पनि होइनन्। न त उनी कुशल वक्ता नै हुन्, जसका कारण पार्टी कार्यकर्ता र आमनागरिकलाई आफ्नो पक्षमा तान्ने क्षमता राख्छन्।
कतिले उनलाई अरू केही नभएका, तर भाग्य बलियो भएका नेता भन्छन्। तर पार्टीभित्र लामो समय उनीसँग काम गरेकाहरूको भिन्न धारणा छ। उनीहरू भन्छन्, देउवा मिल्न र मिलाउन सक्ने नेता हुन्। कांग्रेसभित्र कोइराला परिवारविरुद्ध एक समय रामचन्द्र पौडेलदेखि खुमबहादुर खड्का र विजयकुमार गच्छदारसम्मका हस्तीलाई उनैले एक ठाउँमा उभ्याएका थिए।
‘उहाँमा यस्तै हुनुपर्छ भन्ने हठ छैन, सबैसँग कुरा गर्ने र व्यवहारिक बाटो समात्नेमा उहाँको दख्खल छ,’ दाहालको मन्त्रिपरिषद्मा बसेका देउवानिकट एक मन्त्री भन्छन्।
तर, मिलनसार हुँदैमा पार्टीको नेतृत्व कसैले पाउँछ भन्ने होइन। नेतृत्व लिन चाहिने ठाउँमा जोखिम मोल्ने क्षमता पनि देउवाले देखाएका छन्। ‘नेतृत्व भनेकै चाहिने ठाउँमा उभिने तर अरूलाई सँगसँगै लिएर जाने क्षमताको संयोजन हो,’ ती मन्त्री भन्छन्।
लगभग तीस वर्षदेखि देउवासँग काम गरेका ती मन्त्रीले भने, ‘कुशल वक्ता नभएकाले उहाँको क्षमताको कम आकलन हुने गरेको छ।’
राजनीतिज्ञमा हुनुपर्ने एउटा मुख्य कुरा देउवामा भएको उनको तर्क छ। ‘अब राजनीति कहाँ जान्छ, कसरी जान्छ भन्ने ‘सेन्स’ गर्ने उहाँमा अद्भूत क्षमता छ,’ उनले भने।
सूचना राख्ने, विश्लेषण गर्ने र राजनीतिको आगामी कोर्स आकलन गर्नेमा गिरिजाप्रसादपछि देउवामै त्यो क्षमता भएको उनी दाबी गर्छन्।
गिरिजाप्रसादले कांग्रेसभित्र धेरैलाई प्रयोग गरेर पन्छाएको आरोप छ। चाहे ती शेरबहादुर हुन्, रामचन्द्र हुन्, खुमबहादुर हुन्, विजय गच्छदार हुन्, महेश आचार्य हुन् वा जयप्रकाशप्रसाद गुप्ता हुन्। शेरबहादुर भने साथीहरूको गुनको मान राख्नेमा कहलिन्छन्। आफूलाई साथ दिएकाहरूको चित्त उनी हत्तपत्त दुखाउँदैनन्। दाहाल सरकारको पालामा पनि त्यो देखियो। उनी शेखर कोइरालालाई परराष्ट्र मन्त्री बनाउन इच्छुक थिए। तर, उनलाई लामो समय साथ दिएका प्रकाशशरण महतले आफू परराष्ट्र मन्त्री बन्ने माग राखेपछि देउवाले हार्न सकेनन्। नेपाल प्रहरीको आइजिपी नियुक्ति प्रकरणमा मनमुटाव भएका लगभग ४० वर्षदेखिका सहयात्री विमलेन्द्र निधिसँग उनले मन माझामाझ गरे। आफू प्रधानमन्त्री भएपछि निधिलाई उपसभापति नियुक्त गरेर पार्टीको जिम्मेवारी उनकै काँधमा छाड्ने तयारीमा छन्, देउवा।
पार्टी भित्र मात्र होइन पार्टीबाहिरका मित्रको मान राख्न पनि देउवा कन्जुस्याँइ गर्दैनन्। एमालेसँग गठबन्धन तोडेर अाएका माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पछिल्लो समय उनको मित्रता बढेको छ। त्यही मित्रतालाई जोगाइराख्न उनले भरतपुर महानगरको मेयरमा दाहाल पुत्री रेणुलाई सघाउन माअोवादी केन्द्रसँग तालमेल गरे। धेरैलाई अाश्चार्यमा पारेको यो तालमेलमा एकातिर मित्रता छ भने अर्कातिर अाउँदो संसदीय चुनावमा पनि कांग्रेस-माअोवादी केन्द्रबीच तालमेल हुन सक्ने रणनीित।
साथी राख्नेमा देउवा युवावस्थादेखि नै नामी रहेको उनका विद्यार्थीकालका साथी खड्का बताउँछन्।
‘राजनीतिमा ऊ धेरै माथि पुग्यो तर सुखदुःखमा भेटिएका साथीलाई बिर्सेको छैन, उसले कहिल्यै साथी बिर्संदैन,’ खड्काले भने, ‘अस्ति फागुनमा पहिलोपटक ऊ मेरो गाउँ (रामेछापको बेथान) गयो। ल है शिव, मैले तेरो गाउँ देखेँ, घर पनि देखेँ। अब तँ पनि मेरो गाउँ जानुपर्छ भनेको छ।’
[caption id="attachment_46248" align="alignnone" width="1200"]
रामेछापको बेथानमा खड्का परिवारसँग देउवा। तस्बिरः सेतोपाटी[/caption]
शेरबहादुरको साथी भएकैले संसदमा पनि अरू सांसदले आफूलाई आदर गर्ने गरेको बताउँछन्, खड्का।
पछिल्लो समय देउवाले गरेका काम भने उनलाई चित्त बुझेको छैन।
‘सुशीला कार्कीलाई महाअभियोग लगाउनु हुन्थेन,’ खड्काले भने, ‘सुदूरपश्चिमको भनेर जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउनु हुन्थेन। यी दुई कुराले शेरबहादुरको प्रतिष्ठामा चोट लागेको छ।’
उसो त उनले शेरबहादुरलाई भेट्दा पनि यो के गरेको भनेर नसोधेका होइनन्। देउवाले जवाफ फर्काएछन्, ‘नगरेर के गर्ने, त्यसले (सुशीला कार्की) मलाई पनि नछोड्ने भई।’
‘तिमीलाई के गरेकी छे र? लठ्ठी ल्याएर कुट्न आएकी छे र?’ खड्काले उल्टै सोधछन्।
देउवाले भनेछन्, ‘के गर्छ, के गर्छ के थाहा नि।’
देउवा फेरि प्रधानमन्त्री भएका छन्। खड्कालाई लाग्छ– यही बेला उनले यसअघि आफूलाई लागेका दाग हटाऊन्।
‘मन परेको साथी, मन परेको नेता, मन परेको पार्टीको सभापतिले राम्रो काम गरेर पछिल्लो पुस्तालाई पनि उदाहरणीय राम्रो काम गरोस् भन्ने लाग्छ,’ खड्काले भने, ‘आफ्नो प्रिय मान्छेलाई होटलमा, चिया पसलमा, सार्वजनिक ठाउँमा, पत्रिकामा गाली गरेको देख्दा बडो पीडा हुँदो रहेछ। मेरो ऊ जस्तो अर्को कुनै साथी छैन। अब मेरो साथीलाई चिया पसलमा मान्छेहरूले गाली गरेको सुन्न नपरोस्।’
देउवालाई गाली गर्नेको कमी छैन। चौथोपटक प्रधानमन्त्री बनेका देउवालाई आफ्ना आलोचकहरूको संख्या घटाउन फेरि अर्को अवसर भने मिलेको छ।