संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, ईजिप्ट, बहराइन, यमन र माल्दिभ्सले कतारसँग कुटनीति सम्बन्धविच्छेद गरेको घोषणापछि कतारमा रोजगारी गर्ने नेपाली कामदारहरू अब के हुने हो भनी चिन्तित भएका छन् भने नयाँ रोजगारीको अवसर पर्खिएकाहरू अन्योलमा छन्।
यूएईलगायत ६ राष्ट्रले कतारसँगको आफ्नो सबै कूटनीतिक सम्बन्धबिच्छेद गरेपछि क़तारसँगका सबै नाकाहरू, हवाईमार्गसमेत बन्द हुँदा यो समस्या उत्पन्न भएको हो। जल मार्गका बारेमा भने अझै निर्णय नभई सकेको जनाईएको छ।
यसको परिणामस्वरूप साउदी अरेबिया र यूएईका एयरलाइन्सले काठमाडौंबाट कतारको दोहा जाने यात्रु नलाने सूचना प्रकाशन गरेपछि टिकट काटेका यात्रुहरू तनावमा छन्। सोमबारदेखि लागू भएको यो सूचनाले विदाबाट फर्कने धेरै नेपाली कामदारहरू काठमाडौंमा नै अलपत्र परेका छन्।
साउदी र यूएईका जहाजहरूले कतारको दोहामा ट्रान्जिट गरी प्यासेन्जरलाई आफ्नो जहाजबाट गन्तव्यस्थानमा पुर्याउन नसक्ने जनाएका छन्। बढ्दो कुटनीतिक घटनाक्रमले अबदेखि कतारमा साउदी अरेबिया र यूएईका एयरलाईन्सले सेवा दिने छैनन्।
तर, कतार एयरलाईन्समार्फत दोहासम्म जाने वा कतारको दोहामा ट्रान्जिट गरी सिधा अमेरिका, यूरोप र कुटनीतिक सम्बन्ध स्थापित भएका अन्य मुलुक जानेहरूलाई भने कुनै समस्या हुने छैन।
कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेदका कारण नेपाली कामदारहरूले नेपालबाट क़तार हुँदै साउदी, युएई वा साउदी, यूएईबाट कतारहुँदै नेपाल आउन पाउने छैनन्। तर, नेपालबाट कतार सिधा जान आउन कुनै रोकावट हुने छैन।
त्यस्तै साउदी र यूएईबाट कतार ट्रान्जिट नगरी सिधा नेपाल आवत जावत गर्न पनि कुनै समस्या हुने छैन।
करिब २५ लाखको हाराहारीमा अप्रवासी भएको कतारमा ४ लाख जति नेपालीहरू रोजगारी गर्दछन् जस मध्येको ठूलो संख्या कन्स्ट्रक्सन कम्पनीसँग जोडिएको बताईन्छ।