स्थानीय तहको निर्वाचनका बेला खुला सीमानाका कारण हुन सक्ने अपराधिक गतिबिधि नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षाकर्मीहरुले सीमावर्ती क्षेत्रमा संयुक्त गस्ती सुरू गरेका छन्।
खुला सीमानाका कारण स्थानीय तहको निर्वाचनका बेला अबैध हातहतियार तथा बिस्फोट पर्दाथको ओसार, अबैध चोरी निकाशी लगायतका अबैध गतिबिधि नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा संयुक्त गस्ती सुरु गरिएको हो।
संयुक्त गस्ती टोलीमा शसस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीहरु परिचालन भईरहेका छन्।
सुरक्षाकर्मीहरुको संयुक्त गस्ती र पेट्रोलिङ पछि सीमावर्ती क्षेत्रको सुरक्षा अवस्थाको आँकलन गरि आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सहयोग पुग्ने छ ।
नेपाल र भारतका सुरक्षा अधिकारीबीच स्थानीय तहको निर्वाचनका बेला सुरक्षा ब्यबस्थालाई थप प्रभावकारी बनाउन सीमा क्षेत्रमा संयुक्त निगरानी र सुरक्षा गस्तीलाई बढाउने समहती भए अनुसार दुबै देशका सुरक्षाकर्मीहरुको संयुक्त गस्ती सुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बताए।
बाँकेको करिब ६५ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । सीमाबर्ती क्षेत्रमा नेपाल प्रहरीका ९ र सशस्त्र प्रहरीका ६ वटा युनिटहरु छन् भने भारतीय सीमा सुरक्षा बल एसएसबीका २४ वटा युनिटहरु रहेका छन्।
निर्वाचनका बेला सुरक्षा ब्यबस्थालाई प्रभाबकारी बनाउन सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्ने, सूचनाहरू संकलन गरि त्यसको बिश्लेषण गरेर सुरक्षाकर्मीहरुको परिचालन गर्ने र भारतीय सुरक्षाकर्मीहरुसँग समन्बय गरेर सीमाबर्ति क्षेत्रको सुरक्षा प्रभावकारी बनाइएको बाँकेका प्रहरी उपरीक्षक टेक प्रसाद राईले बताए।
त्यसै गरी शसस्त्र प्रहरी बल नेपालले पनि निर्वाचन केन्द्रीत सुरक्षा रणनीति अनुसार गस्ती , पेट्रोलिङ, मतदान केन्द्र, निर्वाचनमा खटिने कर्मचारी , मतदाताहरुको सुरक्षाका प्रभाबकारी बनाएको शसस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय नेपालगन्जका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक राजु अधिकारीले बताए।
बाँकेका ६ गाउँपालिका, एक नगरपालिका, एक उप महानगरपालिका गरी ८ वटा स्थानीय तहको निर्बाचनका लागि ३ सय ११ वटा मतदान केन्द्र र २ लाख ४६ हजार १ सय ४ जना मतदाता छन्।